Wednesday, April 24, 2013

हामीले हात मिलायौं

                             -[आस्था केसी]
       हावा जोड–जोडले चलिरहेछ । यो मौसम नै हावाहुरीको मौसम हो ।
स–साना रुखहरु हावाको झोक्कासँगै कहिले पूर्व कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिणतिर ढल्किदिन्छन् । लाग्छ ती स–साना रुखहरुले झुकेर कसैलाई अभिवादन गरिरहेछन् ।
ठूल्ठुला रुखका भने पातहरु मात्र फर्फराइरहन्छन् । जति ठूलो हावाको वेगले पनि तिनका विशाल हाँगाका स–साना झुप्पाहरुलाई मात्र हल्लाइदिन सक्छ । सिंगो रुख त ठिङ्ग उभिमात्र रहेछ ।
दिन बिस्तारै ढल्किरहेछ । पश्चिमी क्षितिज अनौठो आभाले चम्किरहेछ, अब केहीबेरमा नै त्यो अग्लो कालो पहाडले सूर्यको निलिमालाई बिस्तारै निलिदिनेछ र धर्तीमा अँध्यारोको साम्राज्य खडा हुनेछ ।
बिहान गुल्मी जिल्लालाई छाडेर प्यूठानको ठूलाबेशीबाट बसमा चढेका हामी दिन छिप्पिदा नछिप्पिदै प्यूठानको तिराममा आइपुगेका छौं । यो बाटोको लागि हामी अपरिचित छौं । दुवैजना आज पहिलो पटक यात्रा गर्दैछौं  । रोल्पाकी साथी रेनुका र म । यो यात्राजस्तै नयाँ छ यो भूगोल, नयाँ छन् सहयात्रीहरु र विल्कुल नयाँ छ मेरो आफ्नै जीवनको निजी अनुभूति पनि ।
एउटा नयाँ अध्याय शुरु हुँदैछ जिन्दगीको… । यस्तो कुरा मनमा आउँदा नआउँदै एउटा रोमाञ्चकताले मन उद्वेलित हुँदैछ… ।
लौ देवीस्थान आइपुग्यो… यहाँ झर्ने जति झर्नुस् छिटो गर्नुहोला । खलासी चिच्याउँदै थियो । हामी और्लियौं । हामीसँगै अरु पनि केही यात्रीहरु ओर्लिए । केही बेरमै नयाँ यात्रीहरु भरेर गाडी अगाडि बेगिएको थियो ।
अब कसलाई सोध्ने हाम्रो गन्तव्य कहाँनिर पर्छ भनेर । साथमा दुइटा चिट्ठी बोकेकी छु एउटा प्यूठान जिल्ला इन्चार्ज कमरेड अजित को र अर्को दाङ जिल्ला इन्चार्ज कमरेड डायमण्डको । अचम्मको कुरा त के हो भने म ती दुवै नेताहरुसँग अपरिचित छु– बिल्कुल यो भूगोलसँग जस्तै ।
दिदी तपाईंहरु कहाँ जाने ? कसलाई भेट्ने ? १७ वर्ष जतिको किशोरले सोध्यो  । उ स्कुल ड्रेसमा थियो । उसले काँधमा सेतो बोरामा केही बोकेको थियो ।
सर्तक हुनुपर्नेछ किनकि युद्धविराम भइसकेको छैन । दुश्मनको निगरानी आफूमाथि रहेको हुनसक्ने कुराले मन खङ्ग्रङ्ग प¥यो ।
यतै नजिकैसम्म… अन्कनाउँदै र अलमल पर्दै मैले कपाल कन्याउँदै जवाफ फर्काएँ ।
मलाई तपाईं आफ्नै मान्छे सम्झिए हुन्छ । म सहयोग गर्छु तपाईंलाई… । ऊ त साखुल्ले पो पल्टियो ।
बिरानो ठाउँमा यत्ति धेरै आत्मीयता दर्शाउने यो मान्छे को हुन सक्छ भनेर बुझ्नको लागि म एउटा होटलमा छिरें सुटुक्क पानी पिउने बहानामा । अखिल क्रान्तिकारीको स्थानीय नेता रहेछ ऊ । जानेर खुशी लाग्यो ।
भाई सहयोगी स्वभावको रहेछ । उसले हामीलाई प्यूठानका इन्चार्ज कमरेड अजितसँग भेटाइदियो ।
गुल्मी छाड्ने बेलामा त्यहाँका इन्चार्ज वामदेव क्षेत्रीले दुइटा चिट्ठी मेरो हातमा थमाइदिएका थिए । मलाई ती चिट्ठी पु¥याउन भनिएको थियो । दुइमध्ये कमरेड अजितको नाम लेखेको चिट्ठी उनको हातमा थमाइदिए । चिट्ठी पढिसकेर अजित मलाई हेरेर रहस्यमय तरिकाले मुस्काए । एउटा आँखा चिम्सो परेको उनको अनुहारमा अपनत्व भरिएको थियो । अग्लो जिउडाल र गोरो वर्णका उनी उति धेरै नबोल्ने गम्भीर स्वभावका रहेछन ।
केहीबेरपछि एउटा जीपले उकालो बाटो धुलो उडाउँदै हामीलाई तिराम ल्याइपु¥यायो । आजको अन्तिम सेल्टरसम्म ।
भिरालो–भिरालो पाखामा रहेको यो तिराम गाउँको एउटा घरको आँगनबाट तल बगिरहेको राप्ती नदी हेर्दैछु । नदी शान्तसँग बगिरहेछ आफ्नै लयमा । नदीदेखि केही माथि लमतन्न सुतिरहेको सडकमा धूलो उडाउँदै बेला–बेलामा गाडीहरु बेतोडले हुँइकिएको दृश्य मधुरो देखिदैछ । गोधुली साँझ क्रमशः रातको आकार लिन तल्लीन छ ।
हावा उस्तै जोड–जोडले चलिरहेछ ।
*** ***
पर्खी बस तिम्रो आफ्नै छाँया बनि आउनेछु
सत्य–सत्य आउँछु म माया बनि आउनेछु ।

केही दिनअघि मात्र उसलाई लेखी पठाएकी थिएँ यी हरफहरु एउटा पत्रमा । उ पनि त म आउने बाटोतिरै हेरेर बसेको होला… । उसँगको त्यही प्रतिबद्धता पूरा गर्नको लागि प्यूठानको तिरामदेखि दाङसम्मको यात्रामा अगाडि बढेकी छु । अब छिट्टै उसँग भेट हुने कुराले जति रोमाञ्चित छु जीवनको नयाँ पाटो शुरु हुने कुराले उत्तिकै गम्भीर बनेकी छु । उसको याद आउँदा मन कस्तो–कस्तो हुन्छ । मनको कुनामा कतै लाज–लाज जस्तो, कतै डर–डर जस्तो, कतै अप्ठ्यारोपन, कतै सजिलो पन… । खोई ? …यो भावलाई कुन शब्दमा व्यक्त गरुँ… ! कतै शंका पनि छ तर त्यो भन्दा बढी विश्वास छ, भरोसा छ ।
सिङ्गो जिन्दगीको एउटा निर्णायक मोडमा छु । बितेका ४ सय ५० दिनहरुमा उसलाई अनगिन्ती पटक सम्झिएकी छु । उसैको यादमा एक्लै बर्बराएकी छु, एकान्तमा बसेर रोएकी छु र हाँसेकी पनि छु । उसैलाई सम्झिएर मीठा–मीठा कल्पनाहरु सजाएकी छु र सपनाहरु देखेकी छु ।
मेरो जीवनको अभिन्न अंग बनिसकेको, १५ महिनाअगाडिदेखि मैले प्रेम गर्दै आएको एउटा प्रिय मान्छेलाई भेट्न जाँदैछु । उसकै जन्मथलोमा, उसकै कर्मथलोमा । करोडौं जनताहरुको मुक्तिको खातिर पार्टीको निर्देशनमा क्रान्तिले सुम्पिएको जिम्मेवारी पूरा गर्दै गरेको एउटा क्रान्तिकारी योद्धासँग जीवनभरको लागि प्रिय नाता गाँस्न लागेको कुरा सम्झिदा पनि गर्वले मेरो छाती चौडा भएको छ ।
‘… लौ हामी मुर्कुटी आइपुग्यौं …अब यहीबाट दाङको भूगोल शुरु भो ।’ रुट गाइडर भाइको आवाजले मेरो सोचाइको श्रृंखलामा ब्रेक लाग्यो ।
…अब यहीँबाट दाङको भूगोल शुरु भो.., यो वाक्य धेरैबेरसम्म कानमा गुञ्जिरह्यो ।
उसँगको पहिलो भेटमा सोधेकी थिएँ– …दाङ कस्तो छ हँ ? लगत्तै उसले प्रतिप्रश्न गरेथ्यो ‘जाने हो र दाङतिर ?’ म एकखाले सरमले झुकेकी थिएँ ।
पहाडी जिल्ला गुल्मीको एउटा टापुमा जन्मिएकी म कहिल्यै यता (दाङ)तिर आउने मौका मिलेको थिएन । संगठनको कामको शिलशिलामा रोल्पा, रुकुम, प्यूठानका केही भूभाग भने घुमेकी थिएँ । आज पहिलोपल्ट दाङको भूमिमा टेक्दा पनि पटक्कै पहिलो जस्तो लागेन । बरु यस्तो लागिरह््यो म यो भूगोलसँग निकै पहिलेदेखि नै परिचित छु । मनमा आफ्नोपनको न्यानो घाम लागिरह्यो । मेरो जीवनका अब आउने दिनहरु यही भूगोलमा बित्नेछन् भन्ने कुरा सम्झिँदा मनमा यो ठाउँप्रतिको आदर अरु धेरै बढेको महसुस भयो ।
मुर्कुटी बजारनजिकै रहेको सञ्चार पोष्टमा हामीलाई छाडेर प्यूठानी भाइ प्यूठानतिरै फर्कियो । यतिञ्जेलको साथको लागि धन्यवाद दिएर उसलाई बिदा गरें ।
अब म उसको नजिकै छु र उ पनि मेरो नजिकै छ । यो कुराले उसँग छिट्टै भेट्न पाए हुन्थ्यो भन्ने लालसाले मनमा डेरा जमाइरह्यो । तर उ कहाँ, कुन गाबिसको कुन गाउँमा छ भन्ने कुरा थाहा थिएन । यत्ति थाहा थियो उ यतैकतै गाँउका जनताको घरआँगनमै होला । आजैदेखि अर्थात् चैत्र २४ गतेदेखि हुन लागेको जनआन्दोलन सफल पार्नको लागि जनतालाई संगठित गर्दै होला । जनयुद्ध र जनआन्दोलनको बारेमा जनतालाई सम्झाउँदै–बुझाउँदै होला ।
पोष्टका दुइटी बहिनीहरुलाई कमरेड डायमण्डलगायत उनीहरु कहाँ छन् भन्ने केही पत्तै थिएन । फोनको त जमाना नै थिएन भनौं । यत्रो ठूलो भूगोलमा अब म उसलाई कहाँ मात्र खोजूँ ?
त्यो दिन त्यत्तिकै बित्यो । रामपुरतिर जाने कि स्यूजातिर जाने निक्र्योल गर्न नसकेर हामी पोष्टमै बस्ने निर्णय ग¥यौं ।
आजै अर्थात् २०६२ चैत्र २४ बाट देशव्यापीरुपमा जनआन्दोलनको घोषणा गरिएको छ । संसदीय सात दल र नेकपा माओवादीबीच भएको १२ बूँदे समझदारीअनुसार आजकै मितिदेखि देशमा आमहड्ताल घोषणा भएको छ । बदलिएको राजनीतिक परिस्थिति सँगसँगै म भने टाढा रहेको आफ्नो मायालुलाई भेट्न निस्केकी छु ।
यतिखेर म दुवै कुरामा आशावादी छु– पहिलो, छिट्टै दोस्रो जनआन्दोलन सफल भएर देशले काँचुली फेर्नेछ । दोस्रो, मेरो आफ्नै जीवनको नयाँ अध्याय शुरु हुनेछ ।
कस्तो गज्जबको संयोग । त्यसपछि फेरि सबै कुरा नयाँ ढंगले अगाडि बढ्नेछ । देशमा शान्ति छाउनेछ र आम जनताले महसुस गर्ने गरी नै परिर्वतन हुनेछन् मानिसका दैनिकीहरु । म पनि ती मानिसहरुमध्येकै एक हुनेछु ।
*** ***
मुर्कुटीको पोष्टबाट निस्केर कता जाने भन्ने सल्लाह गर्दैगर्दा अर्घाखाँचीका दलित नेता कमरेड सरल टुप्लुक्क भेटिए । उनले हाम्रो गन्तव्य स्थान तय गरिदिए । स्यूजाको प्यारधारा नै हाम्रो गन्तव्य बन्यो ।
चैत्र महिनाको उखरमाउलो गर्मीमा लामा–लामा पाइला चाल्दै बेलुकी ५ बज्दानबज्दै हामी गन्तव्यमा पुगिसकेका थियौं । त्यतिखेर पाइला अलि छिटो–छिटो चलेजस्तो भान भइरहेथ्यो मलाई ।
सिरसिर हावा चलिरहेको थियो । वातावरण शान्त र आनन्दमय थियो । आजको गोधूली साँझ मेरो लागि अझै सुनौलो बनेर आएको थियो । मैले महिनौं अघिदेखि प्रतिक्षा गरेको साँझ थियो यो ।
त्यो चश्मा लगाएको पातलो मान्छे मेरो अगाडि उभिएर मुस्कुराइरहेको थियो । उसको अनुहारको आभा उज्यालिएर धप्प बलेको थियो ।
अहिलेसम्म उसलाई भेट्न उत्ताउलिएकी म अब केही संवेदनशील भएकी थिएँ । किनकि बिशेष क्षेत्रका इन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’ले नयाँ बर्ष ०६३ को पूर्वसन्ध्यामा हाम्रो जनवादी विवाहको तयारी गरेका थिए ।
त्यो ०६२ चैत्र ३१ गतेको दिन थियो ।
दोस्रो जनआन्दोलन उत्कर्षतिर बढिरहेथ्यो । ज्ञानेन्द्र नेतृत्वको निरंकुश सरकार झन्–झन् फासिष्ट बन्दै गइरहेको थियो । शान्तिपूर्ण जुलुसमाथि गोली बर्षाइरहेथ्यो तैपनि जनता जागेका थिए– एउटा स्पष्ट अभिष्टसहित सडकमा ओइरिएका थिए ।
सूर्यको निलिमा भर्खरै धर्तीमा फैलिएको थियो । हरिया पाखाहरु कतै–कतै राता गुराँसहरुले झनै सुन्दर देखिएका थिए । बकमबेली र गुलाबका फूलमा भर्खरै जवानी चढ्दै थियो ।
दाङवाङ भन्ने गाउँको एउटा घरमा विवाहको कार्यक्रम राखिएको रहेछ । गाउँले मानिसहरु पनि जम्मा हुँदै थिए ।
…र हामीले हात मिलायौं, शहीदलाई सम्झिएर, हँसिया हथौडा अंकित रातो झण्डालाई साँक्षी राखेर, पार्टीका नेताहरुको अगाडि जीवन रहेसम्म क्रान्तिमा समर्पित भइरहने प्रण ग¥यौं र जाहेर ग¥यौं एउटा शहीद भए बाँचेकाले अधूरा सपना पूरा गर्ने प्रतिबद्धता पनि ।
…र सामना सांस्कृतिक परिवारका कलाकारहरुले गीत गाए–
शुभकामना शुभकामना

नयाँ जीवन प्रारम्भको शुभकामना

नयाँ बर्ष प्रारम्भको शुभकामना ।

Thursday, April 11, 2013

कठघरामा उभिएर

                                      आस्था केसी

जीन्दगीका दोभानहरु देखिएकै हो
समयका दोसाँधहरु टेकिएकै हो
एउटा साँघुरो गल्लीबाट
छामछाम् छुमछुम् गर्दै अघि बढ्दा
रुमानी रहरहरु मिल्काईएकै हो
र फेरी
नौलो बिहानीका रहरहरु हुर्काइएकै हो ।

अँध्यारा बस्तीहरु सजाउने
सपनाहरु देखिएकै हो
जनतालाई ठग्नेहरु बिरुद्ध
बिद्रोहको जेहाद छेडिएकै हो

अप्ठ्यारा ति भिर र कान्लाहरुमा
जति सकियो गोरेटो सम्याइएकै हो ।
क्रान्तिका भिषण मोर्चाहरुमा
कतै न कतै त आयाम थपिएकै हो ।।
छिचोलेकै हो ति संघर्षहरु पनि
दोहोर्याइएकै हुन प्रतिबद्धताहरु पनि ।
परिबर्तनका ति अभिष्टहरु पुरा गर्न
मुक्ति या मृत्युको कफन बाँधेर
निकै गौरबमय परिबेशमा
गाईएकै हो
सर्बहारा बर्गको अन्तराष्ट्रिय गीतपनि ।।

इतिहासको यस घडीमा
गर्नुपर्ने अझै धेरै छन कामहरु
निभाउनु पर्ने अभैm कैंयौ छन भुमिकाहरु
म कसरी आस्वस्त हुनसक्छु
आलै छन् शहीदका रगतहरु ।।

फेरी आज
इतिहासको कठघरामा उभिएर
प्रश्न गरिरहेछु आफैले आफैसंग
के ? पुरा गर्न सकिन्छ
शहीदका सपनाहरु
इमान्दार र्कतब्यनिष्ठ बनेर
के ? पछ्याउन सकिन्छ
शहीदका पदचापहरु ।।।।

Wednesday, April 10, 2013

सहकारी

          आस्था केसी
 

आउ गरीव अनि शोषित जनहरुसधैं सधैं पसिना बगाउनेहरु
दशनँग्रा खियाएर पनि
एकछाक राम्रो संग खान नपाउनेहरु
हामी सबै सबैको लागी आवश्यक छ सहकारी । ।

रोग,भोक र शोकले
र्जजर छ हाम्रो बिगत ।
केही हुन्छ कि भनेर
माथिकै मुख ताक्ने
अभिषप्त छ हाम्रो बर्तमान ।
खोई के नै पो भन्न सकिन्छ र ?
यस्तै नै हो भने एक्लै एक्लै
लड्दै भिड्दै गर्ने हो भने ,
अन्यौलपूर्ण छ हाम्रो भबिष्य,
बिदेशीका पञ्जाहरु भित्र
छट्पटाईरहेछ हाम्रो स्वाभिमान् ।  ।

कुनै सुनौलो परिकथामा जस्तै
एकाएक रातारात
मोड लिनेछैन जिन्दगीले,

प्रिर्बतन भईहाल्ने छैन हाम्रो यथार्थ ।
त्यतिबेला सम्म
फेरिने छैन हाम्रो अवस्था
जतिबेला सम्म जाग्ने छैनौ,लाग्ने छैनौ

संगठित हुने छैनौ हामी आफै ......।।


एकतामा मात्र फूल्न सक्छन्
हामी सबैका सपनाहरु
र फस्टाउन सक्छन्
हामीले साँचेका रहरहरु
जागेका हुन्छन तनहरु
र दृढ संकल्पित हुन्छन मानिसका मनहरु ।

साथी ,
एकताको सन्देश हो सहकारी
समाज परिर्बतनको शुभारम्भ हो सहकारी ।
श्रमिक अनि गरिव मनहरुको
आशाको अदिप्त शिखा हो सहकारी ।
आपm्नै स्वाभिमानमा बाँच्नेहरुका लागी
एउटा बिश्वासिलो पहिचान हो सहकारी ।

दर्बिला पाईलाहरु उचालेर
आकाँक्षाको हिमाल चढ्नको लागि
असमानताको समूलनष्ट गरेर
सहृदयी,समानताको बिजारोपणको लागी
सभ्य,समुन्नत र आत्मर्निभर
समाज निर्माणको लागि
गाँउ गाँउमा आवश्यक छ सहकारी ।


नयाँ नेपाल निर्माणको लागी
क्रियाशिल बनाउनु छ सहकारी
ईमान्दार र स्वाभिमानी भएर बाँच्न
अठोट गर्नु छ ,माँया गर्नु छ
र,जिम्मेवारी बोध गर्नु छ सबैले
बिकास गर्न गराउन हाम्रो सहकारी ।।
                 २०६६,१२,२० घोराही,दांग

फर्केर हेर्दा आफैलाई

                   आस्था के.सी.
 

एकैछिन त म अलमल्ल परें
कस्तो कस्तो भएँ,कुहिरोमा हराएको काग झैं भएँ ।
फूल बिनाको बाग झैं भएँ
सुरताल नै नभएको राग झैं भएँ ।

बिगत सम्झिन खोजें,
आफु को थिंए चिन्न खोजें
आहिले म आफू उभिएको धरातल
कहाँनेर पर्छ ठम्याउन खोजें ।
छिया छिया भएका मनका पत्र पत्रहरु
पल्टाउंदै पानाहरु पढ्न खोजीरहें ।

सम्झें,
आर्दशका बिम्बहरु सजाउदैं
बेगिरहेको नदीमा
म कसरी हाम फालेथेँ कुनै दिन ।
आँटिला सगरमाथाहरु अग्ल्याउंदै अग्ल्याउंदै
साहसका फाँटहरु सम्याउदै सम्याउदै
समयको घोडेदौडमा
म कसरी कुदेथें कुनैदिन् ।

ओहो !
यी आँखाभित्रका परेलीहरुमा
कत्ति रगिंन सपनाहरु अटाएथे ।
यो छातीभित्र ऋदयका गहिराईहरुमा
कत्ति सुनौला तश्विरहरु कोरिएथे ।
हातमा हात राखेर एक अर्काको
कत्ति अप्ठ्यारा जघांरहरु तरीएथ्यो,
साथ लागेर यात्रामा संगसगैं
कैंयौं भिमकाय पहाडहरु छिचोलिएथ्यो ।

देख्दैछु,
समय टक्क रोकिए जस्तो
आँट र साहसको सगरमाथा
ढल्न लागे लागे जस्तो
आर्दशकाा बिम्बहरु र्घुमैला र्घुमैला भए झैं
सपनाका रंगहरु फुगं उडेझैं
विश्वासका डोरीहरु नफुक्ने गरी
यत्रतत्र गुजुल्टिए झैं ।

लागेको थियो गन्तब्य भेटे भेटे झैं
लक्ष्यको शिखर चुम्न चुम्न आँटे झैं

यो मुल प्रवाह बहिरहेको समय
यो निरन्तर चलिरहेको हावा
र टक्क कतै अडिएको यो मेरो जीन्दगी
सबै सबैलाई फर्केर हेर्दैछु आज
र सोच्दैछु,,
गन्तब्य चुम्ने यो लामो यात्रा
शिखर चुम्ने अभिलाषाहरु
सबै सबै त बाँकी नै रहेछन्........................।
       २०६८।५।५घोराही

जीवनको सार्थकता


                          आस्था केसी
आजभोली लाग्छ जीवन
मिर्मिरे उषाको आकाश जस्तै
भरिएको मनोहर उज्यालो
लालीमाको आगमनको
पहिलो पहिलो आभास जस्तै ।
सपनाहरु साकार हुन लागेझैं
रहरहरु पुरा हुन लागेझैं ।
आशाका टुसाउन लागेका मुनाहरु
पल्लवित भईरहेको नव पालुवा जस्तो ।
ओजपूर्ण पाईलाहरु
कठिन तर फराकिलो वाटो
जुटेको साथ  र भरिपूर्ण विश्वासले
होस्टेमा हैसे गर्दै मिलेका हातहरु ।
जताततै, जहि तहीं
मुक्ति या मृत्युका जोशिला वातहरु ।
साटेर पिडा र मर्मका व्याथाहरु
सामुहिकतामा पोखिएका खुशीहरु वटुल्ने
सायद अव त नियति नै वनिसक्यो ।
केहि सिकाउनु र धेरै अभाववाट सिक्ने
सायद अहिले त स्वाभाविक  झैं भईसक्यो ।
केही पाउनको लागी,केही चिज गुमाउनु पर्ने
सायद प्रकृतिको नियम नै भईसक्यो ।
त्यसैले,
तिमी पनि अधुरा सपना र अपुरा रहरहरु
साकार र सार्थक वनाउन चाहन्छौ यदि भने
कल्पनालाई यथार्थमा वदल्न चाहान्छौ भने
काँपेका रुन्चे अधरहरुमा
सन्तुष्टिको मुस्कान छरेर वाँच्न चाहन्छौ भने
आऊ, एकपटक
सामुहिकतामा रमाउने यो अभियानमा
रमाऊ सिक्ने र सिकाउने  यो महासमरमा ।
स्वीकार, जीवन संघर्ष हो ।
संघर्ष नै जीवनको सार्थकता हो ।
२०६९।७।५
चिसापानी जामुने,स्यांजा

आमा,सपना र नानीहरु


                                                            आस्था के.सी.
सखारै एकाबिहानै
एकहुल चराहरु चिरबिर चिरबिर गर्दै आए
हाम्रै आँगनको डिलसम्म
र ब्युँझाए तिनले
मस्त निदाईरहेका स साना नानीहरुलाई ।

नानीहरु सुतिरहेथे
र सुति सुति सपना देख्दैथिए ।
सपनामा उभिएको थियो
एउटा अजंगको पहाड
र पहाडको टाकुरामा फुलिरहेथे
रंगी बिरंगी असंख्य सुन्दर फुलहरु ।
जब आए चराहरु
खैलाबैला मच्चाउदै आंगनमा
एक्कासी ब्युंझिए सपनाबाट
टाकुरामा फूल टिप्दै गरेका नानीहरु ।

अचम्मै भयो त्यसपछि
उधुमै भयो,
चराहरुले कांध थापे
र नानीहरु बसे चराका कांधहरुमा
र हेर्दाहेर्दै आंखै अघिबाट
तिनका स साना नानीहरु टिपेर
र्भूर........... र्भूर..................
निकै टाढा टाढा उडेर गए चराहरु ।

आफ्नै मुटुका टुक्रा जस्ता नानीहरु
ममताको आंचलमा गुटुमुटु लुकाएर
रोक्न त खोजेकै थिइन आमाले
तर रोकिएनन्,
सपनाको पहाड चढ्न
र टाकुराको फुल टिप्न हिडेका
मुसाफिर जस्ता नानीहरु ।

धेरै धेरै पटक
प्रकृतिले बदलिरह्यो मौसम
पातहरु पलाए
र फेरी झरेर गए
पानीका मुलहरु रसाए
र फेरी सुकेर गए,
बसन्त आयो
र कोइलीले मिठो गीत सुनायो ।

एकदिन अचानक
चराहरु बिना नै एक्ला एक्लै
फर्किए नानीहरु ,
आमाले सोधिन
के टाकुराका फूल टिप्न सक्यौ ?
तर चुपचाप चुपचाप
उभिरहे नानीहरु ।।

अचेल आमा खोजिरहन्छिन्
खोज्दा खोज्दै गुमनाम भै हराएका
नानीहरुका सपनाहरु..............।

सुदुर यात्राहरु


         
                आस्था के.सी.
 

र्चिविर र्चिविर कराईरहेछन चराहरु
टाढा कतै नेपथ्यवाट
आईरहेछ आवाज
कुखुरी काँ  कुखुरी काँ   को भाकामा
भाले गाईरहेछ सु प्रभाती गीत
उठ मेरो प्यारो छोरा उठ,
उघारेर हेर मनका पर्दाहरु
रतिmम र सुनौलो भईरहेछ,पूर्वी क्षितिज

हेर । चारैतिर हेर।
पूरै छ्याङगै खुलेको छैन आकाश
मिठो निद्रामा निमग्न निदाईरहेका
स–साना नानीवावुहरु तर्साउदै
गर्जना गरिरहेछ निदर्यी वादल ।
र अट्टहास गरिरहेछ
त्यो पश्चिमी र दक्षिणी क्षितिज ।।

देख्यौ उ......... त्यतापट्टी हेर...।
हेर.. एउटा सप्तरङगी इन्दे्रणी
कसरी स्वणर््िाम वनाईररहेछ
एउटा सिंगो उत्तरी क्षितिज
हेर.....कसरी मुस्कुराईरहेछन्
सेता दाँत देखाउदै
क्षितिजमा हिमालहरु।

हेर । मेरो प्यारो वावु हेर ।।
दर्विला पाईलाहरु उचालेर
आकांक्षाको हिमाल चढ्नको लागी
कावा खाँदै निलो आकाशमा
माल वाँधेर अग्लिदै अग्लिदै
उडिरहेछन हुलका हुल मालचरीका वथानहरु
तिनको स्वतन्त्र र उन्मुक्त यात्रामा
पहाड जस्तै वनेर उभिएका छन् ।
खुनी, हिंस्रक फोहोरी वाजहरु।।

मेरो प्यारो सानु
कतै वाजहरुको हिस्रंक हेराई
कतै चट्टानी आँधी तुफान
कतै काला गर्जिएका वादलहरु
कतै मुस्काईरहेको इन्दे्रणी
कतै चरीहरुका चिर्विराहटहरु
कतै भालेका सुप्रभाति गीतहरु
सवै सवैलाई छाड्दै सवैसवैलाई  चिर्दै
उदाईरहेछ एउटा सुमधुर विहानी।।

उठ मेरो प्रिय छोरा उठ।
डाँडामा घाम झुल्किनु अघि नै
सुरु गर्नुपर्नेछ हामीले
एउटा नौलो आयाम वोकेको अभियान।
पाखाहरmमा दिन छिप्पिनुअघि नै
पार गर्नुपर्नेछ हामीले
थुपै्र सुदुर सुदुरका यात्राहरु
र पश्चिमेली भ¥याङवाट घाम तल झर्दा नझर्दै
पुरा गर्नुपर्नेछ हामीले
शहीदले देखेका सपनाहरु.......।

नायक र अभिनय



   आस्था केसी

 नायक
पर्दा उघ्रिन उघ्रिन लागेको अघिल्तिर
, तिम्रो जीवन्त अभिनय हेर्न
दर्शकदीर्घामा सास थामेर
बसिरहेकी छु

रंगमञ्चमा उक्लिनुअघि
देखाएथ्यौ तिमीले
थरीथरीका इन्द्रेणी सपनाहरु
तिनै इन्दे्रणी सपनाहरु आज
सल्बलाइरहेछन् मेरा आँखाहरुमा

नेपथ्यबाट ती परपरका
सुनौला क्षितिजहरु देखाउँदै
सुनाएथ्यौ तिमीले
मीठामीठा स्वप्निल कथाहरु
एकान्तमा बसेर
तिमीले देखाएको स्वप्निल बगैंचामा
हराएथें कुनै दिन
आफुले आफैलाई.........

नायक
पर्दा उघ्रिनउघ्रिन लागेको अघिल्तिर
, तिम्रो जीवन्त अभिनय हेर्न
दर्शकदीर्घामा मुटु थामेर
पर्खिरहेछन् हज्जारौं प्रिय दर्शकहरु

क्लान्त परिवेश
दुर्दान्त छन् कहानीहरु
एउटा सिंगो जून खोज्नेहरु यहाँ छन्
तर कतै
चोइटाचोइटा पार्न खोज्नेहरु पनि छन्
फेरि कतै
चोइटिएका टुक्राहरु
जोड्न खोज्नेहरु पनि छन्
कतै ओइलाएका साँझहरुमा
श्रावण जन्माएका आँखाहरु छन्
कतै घाइते पंक्षीजस्तै
टाढाटाढाबाट उडेर आउने
आदिम सपनाहरु गुमाएका
दुःखी मनहरु पनि छन्

नायक
रंगमञ्चमा मञ्चन हुँदैछ
एउटा अध्याय इतिहासको
पर्दा उघ्रिनउघ्रिन लागेको अघिल्तिर
, तिमीले यही कही छोडेर गएका
विस्मृत वाँचाहरुलाई
कल्पीकल्पी याद गर्दै
आफ्नो मुटुको धड्कनलाई
एकछिन रोकेर
दर्शकदीर्घामा बसेकी छु

तिम्रो अभिनय
दर्शकहरुले चाहेजस्तै हुनुपर्नेछ
तिमीले हिजो कोरेर आएको
गोरेटोजस्तै हुनुपर्नेछ
ग्रहणबिनाको जूनजस्तै
बादलबिनाको आकाशजस्तै
सबैलाई छुन सक्ने÷हृदयमा सजाउन सक्ने
सुमधुरसुमधुर संगीतजस्तै हुनुपर्नेछ

नायक
पर्दा उघ्रिनउघ्रिन लागेको अघिल्तिर
, तिम्रो जीवन्त अभिनय हेर्न
दर्शकदीर्घामा सास थामेर
बसिरहेकी छु

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...