Thursday, February 16, 2017

प्रचण्ड कुनै भगवान होइनन्


अहिले नेपाली राजनीतिको केन्द्रमा रहेको माओवादी केन्द्र र त्यसको प्रमुख नेतृत्व खासगरी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड विरुद्ध पश्चिमा साम्राज्यवादी शक्तिहरु, त्यो शक्तिवाट भरणपोषण गरिएका एनजिओ र आइएनजिओकर्मी एवम् प्रमुख प्रतिपक्षी एमालेसहितका विरोधी शक्तिहरु अर्नगल प्रचारवाजीमा उत्रेका छन् । उनीहरुको प्रचार प्रचण्डको प्रचण्डको कद घटाएर आफू ठूलो हुन सकिन्छ भन्ने मनोदशामा आधारित देखिन्छ ।

प्रचण्डको पाइला पाइलामा विरोध गर्ने जागिर धानेकाहरुले उहाँका हरेक कुरामा विरोध गर्छन । दशैंमा टिका लगाएन भनेर विरोध गरें, टिका लगाएको भए त झन विरोध गर्ने थिए । प्रचण्डले दुई दशकभन्दा लामो समयदेखि दशै वा तिहारमा टिका नलगाएको कुरा दुनियालाई थाहा छ । तर विरोधीहरुले यसलाई आफ्नो विरोधको मसला बनाइरहन्छन् ।


भारतका प्रधानमन्त्री र चिनका राष्ट्रपतिसँग भारतको गोवामा भएको भेटको प्रसंगमा पनि विरोधै गरेका छन् । त्यो भेटघाट कतिधेरै महत्वपूर्ण थियो, त्यहाँ कति धेरै रणनीतिक महत्वको विषयमा छलफल भयो भन्ने कुरालाई ओझेलमा पार्न विरोधीले प्रचण्डको विरोध गरे पनि त्यो धेरै समय टिकेन ।

अहिले राष्ट्रपति विधा भण्डारीको निम्तोमा भारतीय राष्ट्रपति नेपाल आउँदा पनि एमालेसहितका विरोधीले प्रचण्डकै विरोध गरे । राष्ट्रपतिको आग्रह बमोजिम सरकारले विदा दिने निर्णय गर्दा विरोध गरियो प्रचण्डकै ।

जे मा पनि प्रचण्ड विरुद्धको अर्नगल प्रचार र एमालेको एउटा खेमासहितको तप्काको निरन्तर विरोधको शैलीलाई हेर्दा लाग्छ, आजकाल उनीहरुको खेतिपाति नै प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रको विरोध गर्नु हो ।  उनीहरुलार्इ प्रधानमन्त्री प्रचण्डका कुनै न कुनै कुराको विरोध नगरीकन खाएको पनि नपच्ने र रातमा निन्दा नलाग्ने भएको छ ।

यसरी माओवादी पार्टी र प्रमुख नेतृत्व विरुद्ध विरोधीहरु सुनियोजित प्रचारवाजीमा उत्रिएकै बेला पार्टी भित्रका केही नेता तथा स्वार्थ समूह भने विरोधीको स्वरमा स्वर मिलाएरै मैदानमा उत्रेको छ । लाग्छ, यो समूह पनि विरोधीकै योजनामा परिचालित छ ।

कमरेड प्रचण्ड र उनको पार्टी नेतृत्वले विगतदेखि नै देशको राजनीतिलाई संकटको भुमरीमा पर्नवाट जोगाउँदै आएको हो । प्रचण्डको कुशल नेतृत्वविना आजको परिवर्तन संभव नै थिएन । अहिले जे जति उपलब्धीमा हामी गर्व गर्छौ, ती सबै प्रचण्डकै देन हुन् ।

कतिपय विरोधीहरुले सामाजिक सञ्जालमार्फत  प्रधानमन्त्री प्रचण्डको विरोध गरेर खोइरो खनिरहेका छन् । यस्तो कार्यले उनीहरुका विरोध केवल विरोधकै लागि गरिएका हुन् भन्ने स्पष्ट हुन्छ

अहिले पनि प्रचण्डले देशलाई दुर्घटनामा पर्नवाट जोगाएका छन् । संविधान कार्यान्वयनको ट्याकतिर राजनीतिलाई सोझ्याएका छन् । विगतमा केपी ओली नेतृत्वको सरकारले भारतमा नेपाली राजदूत फिर्ता बोलाउने तथा नेपालका राष्ट्रपतिको भ्रमण रद्ध गराएर जुन द्धन्द सिर्जना गर्यो, त्यसले दुई देशको सम्वन्ध विग्रदै गएको थियो । शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन पहल गर्नुको साटो माओवादी नेतामाथि धमाधम मुद्धा लगाउन पुगेको कुरा दिनको घामजत्तिकै छर्लङ्ग भएको कुरा हो । यस्तो बेला प्रचण्डले फेरि सरकारको बागडोर सम्हालेका छन र मुलुकलाई सही दिशामा लाग्न प्रयत्नशील छन् ।


पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी वलीले ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमति उल्लघन गरेपछि नयाँ कोर्षमा जानु माओवादी पार्टी र कमरेड प्रचण्डको बाध्यता थियो । यस अवस्थामा नयाँ सरकार बनेपछि प्रधानमन्त्री प्रचण्डले भारत र चीनबीचको सम्वन्धलाई सन्तुलित बनाइ सकेका छन् । भारतको गोवामा चिनिया राष्ट्रपतिसँगको भेटपछि चीनसँगको सम्वन्ध नयाँ उचाइमा उठेको छ, दुवै देशको बुझाइमा एकरुपता आएको छ । चीनका राष्टपतिको नेपाल भ्रमण केही समय पछि सरे पनि उनले नेपाल भ्रमण गर्ने कुरा सुनिश्चित नै छ । यसरी त्रिदेशीय साझेदारी र समझदारीले नेपाल र नेपाली जनताको लागि फाइदा नै हुनेछ ।

कतिपय विरोधीहरुले सामाजिक सञ्जालमार्फत यो कुरामा पनि प्रधानमन्त्री प्रचण्डको विरोध गरेर खोइरो खनिरहेका छन् । यस्तो कार्यले उनीहरुका विरोध केवल विरोधकै लागि गरिएका हुन् भन्ने स्पष्ट हुन्छ ।



संविधान कार्यान्वयन सुरु भइसकेको छ । संविधान संशोधन गरेर देशभित्र आन्तरिक राष्ट्रियता कायम राख्ने र नेपाल र नेपाली जनताको विकास र प्रगतिको लागि प्रधानमन्त्री प्रचण्ड दिनरात नभनेर कहिले कुन पार्टीसँग त कहिले कुन नेतासँग छलफलमा लागिरहेको देखिएकै छ  । विहान ६ वजेदेखि साझ १० वजेसम्म देश र जनताको हितका पक्षमा प्रधानमन्त्री दिन रात खटेर काम गरिरहेका छन् । प्रधानमन्त्रीको संसदमा सम्वोधन, सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन, क्याविनेट निर्णय, अनुगमन तथा भ्रमण सबैमा देश र जनताको सरोकारका विषय नै केन्द्रमा राखिएका छन् । यता  हाम्रो सामाजिक सञ्जाललाई भने विरोधीहरुले प्रधानमन्त्रीको उछित्तो काढ्न मै प्रयोग गरिरहेको दखिन्छ । पार्टीका कतिपय नेता प्रचण्डको तेजोबध हुँदा रमाइरहेका छन्, ताली पिटीरहेका छन् ।

केही गरौं भन्ने नयाँ जोश र जाँगरले भरिएको कोही नेता हामीकहाँ छन् भने ती कमरेड प्रचण्ड नै हुन् । उनीसँग जनयुद्ध देखि अहिलेसम्म आँउदा अनुभवका अथाह भण्डार छन् । नेपाललार्इ सिंगापुर जस्तै सुन्दर वनाउने सुन्दर सपना देख्ने कमरेड प्रचण्डलार्इ हामी साथ दिन सक्दैनौं भने नेपाल कहिल्यै राम्रो बन्दैन र जनतालाई दुख पाइरहने छन्। देशलार्इ समृद्ध वनाउने उनका सपना र कामलार्इ एउटा इट्टा थपेर सहयोग गर्न सक्दैनौ तर बाँदरले आफ्नो घर पनि वनाउँदैन र अरुलार्इ पनि वनाउन दिँदैन भनेजस्तै गरेर उनको आलोचना मात्र गरिरहन्छौं भने हाम्रो पनि कुनै भविष्य छैन । यो पार्टी, यो नेतृत्व र आन्दोलनमै हाम्रो भविष्य गासिएको कुरा हामीले भुल्नु हुँदैन ।

अहिले देश निकै संगीनमय अवस्थावाट गुज्रिरहेको छ । संघीयता कार्यान्वयन भर्खर तोते वोल्ने शिशुले वामे सर्न लागेको जस्तै अवस्थामा छ । यस्तो वेलामा विखण्डनवादी र  अवसरवादीहरु कोही देश टु्क्राउने अभिव्यक्ति दिन पनि पछि परेका छैनन् । देशलार्इ एउटै मालामा गाँसिरहनको लागि, आन्तरिक एकतालार्इ कायम राखिरहनको लागि हामीलार्इ एउटा त्यस्तो नेताको खाँचो छ जो चुनौतिको पहाड नाघेर काम गर्नसक्ने हिम्मत राखोस । यस्तो खालको क्षमता भएका नेता अहिले प्रचण्डवाहेक हामीसँग छैनन् । हामीले प्रचण्डलार्इ साथ र सहयोग गर्नु हामी सवैको जिम्मेवारी र दायित्व हो ।



भुकम्प पीडितलाई राहत दिने काममा प्रचण्ड सरकारको गति र सक्रियता सबैले मान्नैपर्ने र सराहना गर्नुपर्ने विषय हो । त्यसैगरी  विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने कुरामा सरकारको चासो र कर्णालीका जनताको लागि सरकारले अगाडि सारेका कार्यक्रमहरु गरिवका लागि सरकार अन्तर्गतका कार्यक्रमहरु हुन् ।

वेरोजगार युवाहरुका लागि पनि विशेष कार्यक्रम घोषणा हुँदैछ भन्ने सुन्नमा आएको छ । अहिले राजनीतिक पहलकदमी, विकास निर्माण, कुटनीतिक सम्वन्ध, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न भइरहेका पहल लगायतका सबै काम पार्टी, आन्दोलन र आफ्नो वर्गकै पक्षमा छन् । यहाँ यहाँ प्रचण्डले गलत गरे भनेर खोट लगाउने कुनै काम भएको छैन ।

केही कमजोरीहरु कमरेड प्रचण्डले पनि गरेका होलान । उनी कुनै भगवान त होइनन् गल्ती नै नगर्ने। उनीसँग सारा समस्याहरु एकै बचनमा हल गर्नसक्ने कुनै जादुको छडी पनि त छैन

यो पार्टी र आन्दोलनको योद्धा हुनुका नाताले संकटको वेला नेतृत्वलाई साथ दिनु सबै क्रान्तिकारीहरुको दायित्व हो । हिजो आफ्नो क्याप्टेनले जहाजलार्इ कैयौं अप्ठ्यारा भंगालोहरुबाट कुशलतापूर्वक निकालेर पार लगाएको विर्सनु हुँदैन । युद्धका कठिन बिभिशिकाहरुवाट आफू पनि बच्दै र पार्टीलार्इ पनि बचाउँदै आज हाम्रो सुप्रिम कमाण्डर सिंगो देशको नेतृत्व गर्ने गरिमामय ओहोदामा पुगेको कुरामा हामी सबैले गर्व गर्न सक्नुपर्दछ ।

हो, केही कमजोरीहरु कमरेड प्रचण्डले पनि गरेका होलान । उनी कुनै भगवान त होइनन् गल्ती नै नगर्ने। उनीसँग सारा समस्याहरु एकै बचनमा हल गर्नसक्ने कुनै जादुको छडी पनि त छैन । अनेकखाले गुणदोषले भरिएका उनी पनि हामी जस्तै सामान्य मानिस हुन् । उनका केही कमजोरीहरुलार्इ सकारात्मक तरिकाले आलोचना गरौं । ती आलोचनाले उनका कमजोरीहरु सच्चिउन । उनलार्इ जनताको पक्षमा निर्णय लिन सजिलो होस् । तर हामी त उनलार्इ सिध्याउने हेतुले उनको आलोचनामा उत्रिएका छौं भन्ने कुरा हाम्रा टिकाटिप्पणीहरुमा देखा परेको छ ।

अरु प्राविधिक तथा खुद्रा मसिना कुरामा पछि बहस गर्दै गरौला तर अहिले विरोधीको प्रहार विरुद्ध एकतावद्ध प्रतिरोधमा उत्रनु अहिलेको आवश्यकता र समयको माग हो । विरोधीहरुले  प्रधानमन्त्री प्रचण्डको विरोध गर्नु उनीहरुको धर्म हो । उनीहरुले जे गर्न जानेका छन् त्यहीँ गर्छन् । हामीले पनि कागले कान लग्यो भन्दैमा कान छाम्न छोडेर कागको पछाडि दौडिनु राम्रो कुरा पक्कै होइन । आफ्नो कान छाम्नुको सट्टा कागको पछि दौंडिदा अनावश्यक दुःख मात्र पाइन्छ ।

त्यसैले कुनै पनि कुरालार्इ बैज्ञानिक र बस्तुवादी ढंगले समिक्षा गरौं र आत्मसाथ गरौं । प्रधानमन्त्री प्रचण्डले गरेका सबै काम देश र जनताको हितमा छन् यो कुरालार्इ व्यापक रुपमा जनताको माझमा लैजानुपर्छ । पार्टीभित्रका नेता कार्यकर्ताले त चित्त नवुझेका कुराहरु आफ्नो सम्वन्धित कमिटीमा छलफल गर्नुपर्छ तर विरोधीको पछि लागेर आफ्नो समय व्यतित गर्नु भनेको अरुको योजनामा परिचालित हुनु हो । यसमा सजग र सतर्क बन्नै पर्छ ।
http://www.onlinekhabar.com/2016/11/499476/
२०७३ कार्तिक २५ गते १५:०१ मा प्रकाशित (२०७३ कार्तिक २६ गते १४:२१मा अद्यावधिक गरिएको)

Wednesday, February 15, 2017

मलाई मानिस बन्नु छ

कतै ओरालो, कतै उकालो, कतै समथर मैदान त कतै देउराली भञ्ज्याङ पार गर्दै एकदिन मञ्जिल चुम्ने आकाँक्षा पालेर म दौडिरहेकी छु, मलाई थाहा छ यो दौडाईले मलाई मान्छे बनाउँनेछ ।

आस्था केसी



‘युवाहरुको गीत’ उपन्यासकी लेखिका याङ्मोले भनेकी छन् —‘यदि तिमी पढ्न चाहन्छौ भने प्रत्येक मानिसको जीवन खुला पुस्तक जस्तै हो ।’मैले कैयौं पटक यो वाक्य सम्झिन्छु । जीवन रहेसम्म मान्छेले भोगेका अनेक थरी कथाहरु पढ्न र कैंयौं जीवन कथाहरु लेख्न चाहान्छु ।

कत्ति धेरै मान्छेका जीवनकथाहरु पुस्तक बनेर आएका छन् । ति मध्ये धेरै किताव त मैले पढ्नै पाएकी छैन । त्यो भन्दा पनि धेरै मानिसहरुको जीवनकथा त लेखिनै बाँकी छ । हो यो संसारका मान्छेहरु मध्येकै एक मान्छे म । मेरा पनि आफ्नै छन् जीवनका कथाब्याथाहरु । तिनलाई लेख्ने हुटहुटीमा म आज यो सपना नगरी काठमाडौंसम्म आईपुगेकी छु ।

म आफ्नै सपनाको त्यान्द्रोमा यहाँ आईपुगेकी थिँए । मलाई थाहा थियो अप्ठेराहरु धेरै छन् । म ति अप्ठेरा चुनौतिका पहाड चढ्ने जमर्को गरिरहेकी छु । एउटा सुनौलो क्षितिज देखिरहेकी छु जहाँसम्म पुग्नु छ मैले । त्यो  सपनाको क्षितिज फराकिलो देखिंदैछ यहाँबाट तर त्यहाँसम्म पुग्ने बाटो सहज छैन । धेरै भिमकाय पहाडहरु छन बाटोमा, धेरै तगाराहरु तेर्सिएका छन् । कैयौं ठाँउमा सिस्नुका झाङहरु छन् । कतै ओरालो, कतै उकालो, कतै समथर मैदान त कतै देउराली भञ्ज्याङहरु पार गर्दै एकदिन मेरो मञ्जिल चुम्ने आकाँक्षा पालेर बस म दौडिरहेछु यात्रामा । दौडिंदैछु यस मानेमा कि मलाई लाग्दैछ म यो दौडमा धेरै पछाडि पारिएकी छु । मैले सामान्य तरिकाले हिंडेर त्यो मञ्जिल चुम्न सक्ने छैन । बिच बाटोमै थाकेर फर्किने अधिकार त मलाई छँदैछैन । जसरी भएपनि मलाई मेरो आकाँक्षाको क्षितिज चुम्नुछ । हो, मलाई यहीं अभिलाषाले मेरो मञ्जिलतर्फ निरन्तर तानिरहेछ त्यसरी नै जसरी कुनै चुम्बकले फलामलाई तानिरहेको हुन्छ । यो दुनियाका मान्छे मलाई बेलाबेलामा टिप्पणी गर्छन् तिमी अति नै ‘रिभ्योलसनरी’ देखिन खोज्दैछौ । टिका लगाउ, सिन्दुर र पोते लगाउ, कानमा स साना टप र आँखामा गाजल लगाउ । आफ्नो लोग्नेले कमाउँछन् तिमी थपक्क केटाकेटी हुर्काएर बस ।’ अक्सर मान्छेहरु मलाई सुझाँउछन् ।

तर मलाई थाहा छ । केही मान्छेहरु मलाई मान्छे भएको हेर्न सक्दैनन् । उनीहरु मलाई ‘डल’ बनाउन खोजिरहेछन् । ‘डल’ मतलब झुम्राको पुतली÷गुडिया । म कहिल्यै गुडिया बन्नेछैन । मलाई पुतली बन्नुछैन । मलाई दुनियाँको सर्बश्रेष्ठ सचेत प्राणी मानिस बन्नु छ ।

म बाँचिरहेको समाजले कत्ति झुठका पुलिन्दा खडा गरिरहेको छ । यो समाजका नाईकेहरुले आफूलाई महान देखाएर कसरी भित्रभित्रै भ्रमको खेती गरिरहेका छन् । त्यो पनि मलाई थाहा छ । आफ्ना प्रेमी र श्रीमानहरुबाट चोखो मिठो माया पाउने आशा र प्रलोभनमा कत्ति महिलाहरु हरेक क्षण आफ्नै मर्जीले बलात्कृत भईरहेका छन् । त्यो पनि मलाई थाहा छ ।

हरेक दिन मूलधारका मिडियाहरुले समाचार भनिरहेका छन् । सात बर्षका अवोध बालिकाहरु ६५ बर्षका हजुर वुवाको वासनाको शिकार भईरहेका छन् ।  वावु आफ्नै छोरीमाथि घोप्टीएर तृप्त भईरहेका छन्  र पनि आमाहरु मुक दर्शक भएर बलात्कृत छोरीलाई थामथुम पारिरहेछन् । किन ति आमाहरुको मनमा आक्रोशको ज्वाला बलिरहेको छैन रु किन ति छोरीहरु बलात्कारी बावुलाई मृत्युदण्डको माग गर्दै सडकहरुमा आगो ओकल्न सकिरहेका छैनन् रु किनकी मलाई लाग्छ, तिनिहरु ‘डल’ बनिसकेका छन् ।

कहाँ छन् मानवअधिकारवादीहरु, अनि महिला अधिकारका चर्को चर्को नारा उराल्नेहरु किन मौन छन्, के बिरोधीहरुले डलरको खेती गर्नेहरु भनेर मानवअधिकारवादी र महिलाअधिकारवादीलाई लगाउने गरेको आरोप सत्य हो, कहाँ छौं हामी मिडियाकर्मीहरु रु कतै हामी पनि डल बनिरहेका त छैनौ, डल मतलब गुडिया, झुम्राको पुतली । एउटा गुडियाले मात्र हेरिरहन सक्छ हरेक थोक । मान्छे त सचेत प्राणी हो । उसमा प्रतिकृया हुन्छ । तर खोई, समाजका कथित नाईकेहरुको बिरुद्धमा हामीले बिद्रोहको आवाज उठाउन किन चुकिरहेका छौं

काठमाडौं बसाईका यी चार महिनाहरुमा मैले आफ्नो पेशागत क्षेत्रमा विकाश त गरेकी छु नै । यो शहरका यावत कुरुप रुपसँग पनि साक्षात्कार गरिरहेकी छु । मलाई मेरो सपनाको क्षितिजमा पुग्नु छ  र त्यहाँ पुग्ने लालसा ममा कत्ति छ भने म हिंडिरहेकी छैन कुदिरहेकी छु । मलाई थाहा छ , त्यहाँ कुनै ‘डल’हरु छैनन् । केवल सचेत आत्मा भएका मान्छेमात्र छन् । लिंगको आधारमा भाषाको आधारमा र जातको आधारमा त्यहाँ कुनै बिभेद छैन ।
http://mahilakhabar.com/?p=12588

सस्मरणः ममताले हारेको त्यो दिन.....


६ महिना अघि कात्तिक महिनाको एउटा साँझ ।  त्यस्तै आठ बजेको हुँदो हो । आठ महिनाकी छोरी आयशालाई सुताएर कोठा बाहिर फ्रि वाईफाई भएको ठाँउमा के निस्किएकी थिएँ । नयाँ इमेलको जानकारी लिएर मेरो मोवाईलमा एउटा सकेंत देखियो ।

मोवाईलमा रहेको जिमेल एप्स खोलें । सञ्चारिका समूहको ईमेल थियो । जहाँ चार महिने ‘अन द जव ईन्टर्नशीप ट्रेनिङ’ को अफरसहित निवेदन दिन भनिएको थियो । एकखाले ‘सरप्राईज्ड’ जस्तो भयो मलाई । खुशीले पुलकित भएँ । एक मनले भन्यो निवेदन दिउँ रु यही बहानामा छिरुँ सपनाको शहर काठमाडौं रु आफूलाई परिक्षण गरुँ रु एउटा नयाँ शिरासहित पत्रकारितामा आफ्नो ‘करिअर’ स्थापित गरुँ‘‘।
तुरुन्तै अर्को मनले प्रतिवाद ग¥यो । कसरी गर्ने रु दुधे बच्ची लिएर चारचार महिनाको तालिम गर्ने हिम्मत छ रु कहाँ बस्ने रु छोरी कस्ले हेरिदिन्छ रु आफ्नो करिअरको लागि सानी नानीको बिचल्ली भयो भने के गर्ने रु चिसो मौसम छ, यस्तो बेलामा भर्खरै बामे सर्न खोजेकी छोरीलाई काठमाडौंको चिसोले भेट्यो भने.......उ बिरामी परि भने......। मन भित्र एउटी स्वप्नशील जुझारु पत्रकार केटी र एउटी आमाको बिचमा घमासान युद्ध चल्यो । त्यो रातभर र अर्को केही दिनसम्म यो लडाई चलि नै रह्यो ।

आमाको ममतालाई पनि जितिदिने सार्मथ्य रहेछ, त्यो स्वप्नशील पत्रकार चेतनाले भरिएको मनभित्र । मेरो सपनाको जिजिविषाले मेरो अन्तरमनलाई हल्लाईदियो । सबै खाले चूनौतिसँग डटेर सामना गर्ने र आईपर्ने अवसरको भरपूर सदुपयोग गर्ने आदेश मलाई मेरो अचेतन मनले दियो र म कुनैपनि हालतमा यो ‘अन द जव तालिममा सहभागी हुने निर्णयमा पुगेँ ।

म आफैँ आफ्नो यस्तो सहास देखेर अचम्म परेँ । यसरी एउटा सपनाले एउटी आमालाई पराजित गरिदियो । एउटी आमाको ममता भन्दा पनि ठूलो थियो मेरो राम्रो पत्रकार बन्ने सपना । यहीं सपनाको त्यान्द्रोमा आशाका अनेकथरी फूलहरू फूलाउँदै म तालिममा सहभागी हुने भएँ । अनेक थरी चूनौतिको सामना गरेर १० महिनाकी सानी छोरी काखमा च्यापेर २०७२ सालको मंसिर १५ गते म दाङबाट काठमाडौ हान्निएँ ।

हाम्रो तालिम शुरु भयो । तालिमको नियम अनुसार मैले एउटा पत्रिकामा काम गर्नु पर्दथ्यो प्रशिक्षार्थी पत्रकार भएर । मैले जिल्लामा पत्रकारिता शुरु गरेको करिव आठ वर्ष भईसकेको थियो । रेडियोमा स्टेशन म्यानेजरको जिम्मेवारी कुशल बहन गरेकी थिएँ । अव आएर प्रशिक्षार्थी बन्ने कुराले फेरी मेरो ‘अभिमान’मा प्रश्नचिन्ह खडा भयो ।

म सिक्न आएकी थिएँ । सिकेर आफूलाई प्रस्तुत गर्नु थियो । म भित्रको सपनाले फेरी मेरो अहमतालाई गिज्यायो । सिक्ने र सिकाउने कुरा त जीवनभर चलिरहने प्रक्रिया हो । कोही पनि सिकेर पूर्ण भएको हुँदैन, यस्तै यस्तै केही अन्टसन्ट सुनाएर सपनाले अहमताको मन जित्यो । अन्ततः म कान्तिपुर दैनिकमा प्रशिक्षार्थी पत्रकार भएर जाने भएँ ।

त्यो डिसेम्बर ६ तारिख, २०१५ को दिन थियो । प्रशिक्षार्थी पत्रकारको एउटा पत्र बोकेर म कान्तिपूर दैनिकको तिनकुनेस्थित कार्यालय पुगँे । त्यहाँको सुरक्षा गार्डले मलाई केही सोधपुछ गरेर रिसेप्सनमा पठाए । अनि रिसेप्सनबाट सम्पादक सुधिर शर्माको कार्यकक्षमा गएँ । मैले त्यहाँका वरिष्ठ पत्रकार बलराम बानियासँग समन्वय गरेर काम गर्नुपर्ने भयो ।

कान्तिपुरका सम्पादक सुधिर सरले सोध्नुभएको थियो—कान्तिपुर नै किन आउनुभयो रु मलाई धेरै कुरा सिक्नु थियो । ठूला भनिएका पत्रिकाका पत्रकारले समाचार कक्षमा कसरी काम गर्छन् भनेर जान्नु थियो । अनि एउटा सिकारु पत्रकार र अझै महिला पत्रकारलाई ठूला सञ्चार माध्यममा कस्तो व्यवहार हुँदो रहेछ भनेर पनि अनुभव हासिल गर्नुथियो । मैले सुधिर सरलाई यहि कुरा सुनाएकी थिँए  ।

म फरक पृष्ठभुमिबाट आएकी मान्छे । १० वर्षे सशस्त्र युद्धमा शसक्त सहभागी एक पात्र थिँए म ।  मैले युद्ध पत्रकारिताबाट आफ्नो पत्रकारिता जीवनको शुरुवात गरेकी थिएँ । कुनैबेला म सत्तासिनहरूको आँखामा एउटी आतंककारी महिला छापामार थिएँ । संकटकालका नारकीय दिनहरूमा सत्ताका सिपाहीहरूले कलम बोक्नेहरूलाई पनि बन्दुकै बोकेसरह देख्थे । जीवन र मृत्युको बिचमा एउटा पातलो पारदर्शी रेखामात्र थियो । कैयांै भयानक मृत्युलाई नजिकबाट नियालेर सहयोद्धाहरूका शवमाथिबाट गुज्रँदै आएकी मान्छे म । कलमको मुक्तिका लागि कुनै दिन बन्दुक बोकेर हिंडेकी थिएँ । एउटा स्वर्णिम सपनाले मात्र एउटी छापामार केटी, पत्रकार भएकी थिई ।

कति सपनाहरू तिरोहित भएका थिए र अझैपनि भईरहेका छन् । कति विचारहरू स्खलित भएका थिए र अझै पनि भई नै रहेका छन्  । कति आदर्शहरू आफ्नै आँखा अगाडि नाँगेझार भएको मैले देखेकी छु । मुक्तिको सपना देख्दादेख्दै जीवनबाट पलाएन भएकाहरूको मुटु मैले नजिकबाट छामेकी छु । परिवर्तनको आशा गर्दागर्दै आफैँलाई बिर्सिएर केवल रित्तो प्रतिक्षा गरिरहेका पनि मेरा वरिपरी छन् ।

अँ।। म त एकछिन बहकिएछु आफ्नै विगतमा । मेरो कलमले मलाई यसरी बेला न कुबेला बहकिनबाट रोक्नुपर्छ र रोक्नेछ । यो मेरो आफैँप्रतिको विश्वास हो । कान्तिपुर दैनिकमा जोडिएर काम गर्न पाउनु मेरो लागि निकै ठूलो अवसर थियो । जति पनि त्यहाँका पत्रकारहरूसँग मैले काम गरेँ । उहाँहरूले पनि एकाध बाहेक सबैजनाले राम्रो सिकाउनुभयो । चार महिना अगाडि र अहिले आफ्नो मूल्यांकन गर्दा धेरै कुरा फरक पाँउछु । रेडियोमा काम गर्दा सबै क्षेत्र हेर्नुपर्दथ्यो । जहिल्यै हतार हतार हुन्थ्यो । त्यसो गर्दा लेखन क्षमता फस्टाउन पाएको थिएन । अहिले लेख्ने कुराको विकास भएको छ ।

आफैँलाई के लाग्छ भने यो तालिममा सहभागी भएर मैले मेरो लेखन क्षेत्रमा त विकास गरेकी छु नै । आफैँ प्रतिको आत्मविश्वास अझै माथि उठेको छ । आफ्नो नजरमा आफैँ माथि उठ्न सक्नु के चानचुने कुरो हो र रु कुनै एउटा विकास क्रमले नयाँखालका जटिलता पैदा गरिदिन्छ । यो विज्ञानको सामान्य नियम नै हो । सामान्यखालका केही अप्ठेरा पर्नु स्वभाविकै हो । यो बिचमा केही समस्या जरुर भएका हुन् । एउटा आठ वर्षको छोरालाई दाङमा आफन्तको जिम्मामा छाडेर, आठ महिनाकी छोरी काखमा लिएर एउटा सपनाले मलाई यहाँसम्म डोर्‍याएर ल्यायो । मैले यो बिचमा जत्ति लेख्छु भनेर आएकी थिँए । त्यत्ति त मैले लेख्न सकिनँ । तर, जति लेखेँ गर्व गर्न लायक स्टोरीहरू लेख्न सिकें ।

आगामी दिनमा मैले पत्रकारिता मार्फत के कस्ता सवालहरूमा आवाज उठाउने भनेर मार्ग प्रशस्त भएको छ । चार महिने ईन्टर्नशीप सकिए लगत्तै मैले रातोपाटी अनलाईनमा काम शुरु गरेकी छु । यो तालिमले मलाई धेरै कुरा सिकाएको छ । सबैभन्दा मुख्य कुरा अवसर मिलेको खण्डमा हामी जे काम पनि गर्न सक्छौं भन्ने कुराको आत्मविश्वास हो ।
http://mahilakhabar.com/?p=12958

दाजुलाई पत्रको जवाफ: उद्वेलित आँसु थामिएन

आदरणीय कुमार दाइ, 
क्रान्तिकारी अभिवादन 


आज २१ औं जनयुद्ध दिवस । जनयुद्धको शंखघोष भएको दिन । सत्ताको मूलधारबाट पाखा पारिएका गरीब, उत्पीडित, महिला, किसान, आदिवासी जनजाति, मधेसी, दलित र अरू धेरै जाति, वर्ग, क्षेत्रले आफ्नो मुक्तिको लागि जीवनमरणको लडाईंको श्रीगणेश गरेको दिन । तपार्इं लगायत मुक्तियुद्धका अथकित यात्रीहरूलाई जनयुद्ध दिवसको धेरै धेरै शुभकामना दिन चाहन्छु । तपार्इंले लेख्नुभएको पत्र पाएँ । एउटा उद्वेलनले भावुक बन्दै पत्र पढिसिध्याउँदासम्म आँखाबाट आँसु बगिरह्यो ।

पत्र पढेर सकेको केही बेरसम्म म चुपचाप रोइरहें । अनि केही बेरपछि उठें र तपाईंको पत्रको प्रतिउत्तर कसरी दिनेहोला भनेर सोच्न थालें । मेरो प्रिय दाजु, रुनु भनेको कुनै नराम्रो काम पक्कै होइन । म बरू नहाँसेर बाँच्न सकुँला । तर नरोएर बाँच्न सक्दिनँ । 

हामी बाँचिरहेको सामन्ती चिन्तनले ग्रस्त समाजले रुनुलाई नराम्रो अर्थमा चित्रित गरेको छ । तर दाइ, रुनु भनेको कमजोर हुनु होइन । मेरो हकमा त झन हुँदै होइन । जब रुन्छु, मभित्रको पीडा आँसु बनेर बाहिर निस्किन्छ । आफ्नो मन लागुन्जेल रुन्छु र आँसु पुछेर म आफूलाई एकदमै ताजा र हलुका महसूस गर्छु । तर रुन सकिन भने त म जिन्दगीको नियमित लयमा फर्किनै सक्दिनँ भने पनि हुन्छ । त्यसैले हाँस्ने कुरा जस्तै मेरा लागि रुने कुरा पनि सामान्य भइसकेको छ । र यो हुनुपनि पर्छ भन्ने मेरो मान्यता हो । 

अहिले म काठमाडौंमा बसेर आफ्नो करीयर निर्माण गर्दैछु । हिजो जतिबेला भविष्यका लागि करीयरको लागि पढ्नुपर्ने थियो, त्यतिबेला तपार्इं दाइहरूको पदचापलाई ब्रह्मवाक्य जस्तो मानेर, जनताको मुक्ति र परिवर्तनका लागि लाग्नु महत्त्वपूर्ण थियो । लागिएकै पनि हो । आफ्नो पढाइलाई बीचैमा थाती राखेर, भविष्यका सपनाहरूलाई कतै कुनामा मिल्काएर, जनयुद्धको झण्डा बोकेर “मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ” भन्दै हिँड्दा आज यस्तो दिन पनि आउला भन्ने त कुनै कल्पना पनि गरिएको थिएन । आज आफ्ना आदर्शहरू आँखाअगाडि नाङ्गेझार हुँदै गएको देख्नुपर्दा मन यसै यसै विरक्तिएर आउँछ । 

आज जनयुद्धको २१औं वर्षगाँठ मनाइरहँदा तपाईंलाई सोध्न मन छ । जनयुद्धले देखाएका सपनाहरू अलपत्र पारेर अन्त कतै बरालिने अधिकार नेताहरूलाई छ रु के जनयुद्ध केही अमुक नेताहरुलाई मन्त्री वा प्रधानमन्त्री बनाउनका लागि मात्र गरिएको थियो रु विश्व सर्वहारावर्गको मुक्तिको लागि प्रयत्न नगरेर अनि जनयुद्धले देखाएका सपनाहरू अलपत्र पारेर अन्त कतै बरालिने अधिकार नेताहरूलाई छ । 

सर्वहारावर्गको मुक्तिको लागि आफूलाई हाँसी हाँसी बलिवेदीमा चढाउने वीर शहीदहरुको बलिदानको अर्थ के रु आज शहीद र बेपत्ताका परिवार कसरी बाँचिरहेका छन् भनेर कसैले सोधेको छ रु घाइते, अपांगहरूको अवस्था दयनीय र टीठलाग्दो भएको छ । 

हिजो नेता र कमान्डरहरूको एक वचनमा स्कूलमा झोला फालेर हिँडेका कार्यकर्ताहरूको हविगत कस्तो छ कसैलाई मतलब छैन । सुकुम्बासी, हलिया, कमैयाहरू झन् झन् गरीब र सर्वहारा हुँदै गइरहेका छन् । हाम्रो पार्टीका सर्वोच्च कमान्डर प्रधानमन्त्री भइरहेको समयमा पनि गरीबलाई झन् गरीब र धनीलाई झन् धनी बनाउने व्यवस्था किन दिनानुदिन मौलाउँदै गइरहेको छ । 

हाम्रो आन्दोलन कतै निम्नबुर्जुवाहरूको दलदलमा जाकिइरहेको त छैन भनेर सोच्ने कहिले रु र कसले सोच्ने यस्तो कुरा । 

तपार्इंले भनेजस्तै हाम्रा केही नेताहरूलाई त अहिल्यै साम्यवाद आइसकेको जस्तो अनुभूति भएकै छ । त्यस्ताहरूलाई पार्टीबाट गलहत्याउने कहिले रु कम्तीमा तपार्इं हाम्रो स्तरबाट पार्टीभित्र यस्तो विषयमा बहस चलाउन ढिलो भएन र रु जुन लोकतन्त्र ल्याउनको लागि हाम्रा सहयोद्धाहरू शहीद भए, हामीले हाम्रो जीवनका सबैभन्दा रहरलाग्दा दिनहरू क्रान्तिमा लगानी ग–यौं त्यही लोकतान्त्रिक संस्कारको विकास हाम्रो महान् तथा गौरवशाली पार्टीमा कहिलेदेखि शुरुवात गर्ने, अब ढिलो भएन र रु मलाई त लाग्छ, परिस्थिति हाम्रो हातबाट बाहिर गइसकेको छ । 

हो, प्रतिक्रियावादीहरू मन नपरेरै भएपनि हाम्रा नारा सुन्न बाध्य छन् । तर हामीले उनीहरूमाथि हाम्रा एजेन्डा हावी गराउन सकेका छैनौं । बहुसंख्यक नेपाली जनता हाम्रा एजेन्डाहरूको बारेमा स्पष्ट हुन सकिरहेका छैनन् । तिनीहरूलाई स्पष्ट बनाउनका लागि कार्यकर्तालाई उत्साहित बनाउँदै, उनीहरूका भैपरी आउने अल्पकालीन र दीर्घकालीन समस्याहरूको समाधान गर्दै मार्गनिर्देशन गर्नुपर्नेमा हाम्रा कतिपय नेताहरू या त कानमा तेल हालेर सुतिरहेका छन्, या त कतै रिसोर्टहरूमा टाइमपास गरिरहेका छन् ।

प्रिय दाजु, मलाई गर्व छ कि म जनयुद्ध लडेर आएकी एक पात्र हुँ । हाम्रो जनयुद्ध कुनै भ्रमको खेती थिएन । शहीदहरूको बलिदान कुनै नाटकको रिहर्सल थिएन, तर जनयुद्धका नायकहरू नै खलनायकमा परिणत भएपछि जनयुद्धको महिमा र गरिमा चटकेहरूको भजनमण्डलीमा सीमित हुन पुगेको छ । आज सबैतिर कि त अवसरवादी हावी भएका छन्, कि त नेताका भाइ, छोरा र नाता कुटुम्बले स्थान पाएका छन् । कतै अरूले पनि पाएका छन् भने त्यो अपवाद मात्रै हो । मुख्यतया भएको यस्तै छ । 

प्रिय कुमार दाइ, आजकल म एउटा संस्मरण लेखिरहेकी छु । हिजोका हाम्रा सहकार्यहरू सम्झिरहेकी छु । भार्सेको जंगलमा निष्पट्ट कालो रातमा बाटो बिराएर अलपत्र परेको वेला स्याउला ओछ्याएर एक झप्को निदाएको, संकटकालका शुरुवाती दिनमा दिब्रुङको जंगलमा बन्दुकलाई सिरानी बनाएर सुतेको, हँसरा र जुहाङका सेल्टरहरूमा दाइसँग घन्टौं छलफल गरेको, इन्द्रेगौंडाको नाका क्रस गर्नेबेला पारिबाट सेना आएको देखेर भागेको, पहिलोपटक जिल्ला जनसरकार घोषणा गर्दाका पलहरू आज पनि मसँग जीवन्त छन् । 

एकपटक तपाईंले भन्नुभएको थियो ‘लडार्इं सबैतिर छ, भागेर कहाँ जाने’ भनेर । म भागिरहेकी छैन । चुनौतीहरूको सामना गर्ने त्यो उँचो साहस छातीभरि बोकेर आज पनि म सही विचारको लागि संघर्ष गरिरहेकी छु । यो उँचो साहस मलाई जनयुद्धले दिएको हो । जनयुद्धले देखाएको बाटोलाई आत्मसात गर्दै तमाम गलत प्रवृत्तिका विरुद्ध सदैव डटेर लाग्नेछु । आजलाई यत्ति नै । बाँकी अर्को पत्रमा लेखौंला । 

तपार्इंकी स्नेही बहिनी 
आस्था केसी 
हाल, शंखमूल, काठमाडौं
http://lokaantar.com/aalekh/4640, आइतवार, फाल्गुण १, २०७३ मा प्रकाशित

जनयुद्धमा लागेकी बहिनीलाई दाजुको चिट्ठी

प्यारी बहिनी आस्था,
हृदयदेखिको मायासहित क्रान्तिकारी अभिवादन 

आराम छु अनि सोही कामना गर्दछु ।
पार्टी शान्ति प्रक्रियामा आएपछिको लामो अन्तरालपछि केही समयअघि मात्र तिमीसँग लामो भलाकुसारी गर्ने मौका मिल्यो । धेरै कुरा त मैले तिमीलाई भेटमै भनिसकेको छु, तर केही विषय चाहिँ यो पत्रमार्फत सम्झाउने आवश्यकता ठानेर लेख्दैछु ।

तिमीलाई लाग्न सक्छ, फोन इमेलको यस जमानामा यो चिट्ठी किन लेखेको होला रु मलाई लाग्छ, यसको आवश्यकता अहिले निकै बढेर गएको छ । नेपाली समाज रूपान्तरणको यस महान अभियानमा हजारौं लाखौं दाजुभाइ तथा दिदीबहिनीहरूको सामूहिक योगदान छ । आज ती सबै कताकता अलमलिएका, आफैंभित्र हराएका र जनयुद्धमा आफूले गरेको योगदानमा गर्व गर्नुको साटो त्यसप्रति पीडाबोध गरिरहेका जस्ता देखिन्छन् । हो, यो कुरा कतिपय हकमा सही छ कि लंका विजय गर्ने हनुमान् हो कि होइन भन्ने भ्रम पर्ने गरी ढेडु बाँदरले फेटा गुथेर हिँड्ने गरेको छ । 

नयाँ नयाँ जोगीहरूले आवश्यकताभन्दा बढी खरानी घसिरहेका छन् र उनीहरूले नै चर्कोसँग अलख निरञ्जन भट्याइरहेका छन् । त्यसमा हामीले पीडाबोध गर्ने वा आत्मग्लानि गर्ने होइन नि, लाटी १ बरू यसमा त हामीले गर्व गर्नुपर्दछ किनकि हिजो हामीलाई आतंकवादी, हत्यारा, डाँकु तथा विचारविहीन लुटेरा जत्था भनेर नथाक्नेहरू, हाम्रो बलिदान र योगदानलाई अति तुच्छ रूपमा घृणा गर्नेहरू नै आज फेरि हाम्रो विचार र दर्शनलाई घोक्रो सुक्ने गरी सकारात्मक व्याख्या गरिरहेका छन् । तिनै मान्छेहरू आज हाम्रा नेताको घरमा, पार्टी अफिसहरूमा दुई हात मल्दै, ङिच्च दाँत देखाउँदै गिडगिडाइरहेका छन् । यो हाम्रो सपना, आदर्श र योगदानको नैतिक विजय हो । 
\
कुनै पनि क्रान्ति वा आन्दोलनको विजय वा पराजयको ब्यारोमिटर यो हो कि त्यसका पछाडि अवसरवादीको एउटा तप्का उपस्थित भयो कि भएन रु अवसरवादी, फटाहा, लोभी तथा चरम महत्वाकांक्षीको एउटा हिस्साले समर्थन नगरी रुस, चीन वा संसारकै कुनै पनि क्रान्ति सफल हुनै नसक्ने समाजविज्ञानको अकाट्य तथ्य हो, नानी १ ठण्डा दिमागले बुझ्ने कोशिश गर ल ।

हो, हामीले बहस गर्ने र चिन्तन गर्ने ठाउँ यसमा छ कि कतै हाम्रै नेतृत्व बुर्जुवा रसरङ्गमा त भुलेको छैन रु कथित आवश्यकताको नाममा सर्वहारा नेतृत्व कतै वर्ग रूपान्तरण भएर उतै आत्मसमर्पण गरिरहेको त छैन रु कतै हाम्रो आस्थाको धरोहर भित्रभित्रै कुहिएर ढल्न लागेको त छैन रु आजका तमाम क्रान्तिकारीहरूले उठाउनैपर्ने र ध्यान दिनुपर्ने विषय यो हो । 

मलाई यसमा यो भन्नु छ कि आज हामीले भित्रैबाट श्रद्धा र विश्वास गरेका कतिपय नेताहरूले साम्यवादको अनुभूति गरिसकेका छन् । उनीहरूले सर्वहारा वर्गका लागि अझ अर्को लडाईं लड्न बाँकी छ भन्ने कुरा बिर्सिसके । उनीहरूलाई लागेको छ कि विश्व मानव समाजमा सबभन्दा पछाडि परेको मनुवा म र मेरो परिवार तथा आफन्त हुन् । 

अब आफ्नो व्यक्तिगत स्वार्थका लागि ज्यान फालेर लाग भन्ने नारा उनीहरूले दिएका छन् । उनीहरूलाई पार्टी, क्रान्ति, शहीद परिवार, घाइते अपांग र बेपत्ता परिवार तथा कार्यकर्ता जनता आदि भनेका “अनावश्यक टेन्सनका विषय” हुन् ।

यी र यस्ता कुरा आउँदा उनीहरूलाई कबाबमा हड्डी आएको अनुभव हुन्छ । यी कमरेडहरू हरेक चीजलाई पैसामा बदल, “आफ्नो शरीरमा एक थोपा रगत रहुन्जेल पद र प्रतिष्ठाको लागि लडिरहनेछु” भन्ने प्रस्थापनालाई आफ्नो आदर्श बनाएका छन् । यिनीहरू सानातिना मान्छे कहाँ छन् र रु हामीलाई मार्क्सवादको विशद व्याख्या दिने नेताहरू छन् । 

प्यारी बहिनी १ अब म तिमीलाई याद गराउँछु , जनयुद्धकै समयमा एकदिन बाटोमा हिँड्दै गर्दा तिमीले स्कूल कलेज पढ्न नपाएको गुनासो गरेकी थियौ । हो, त्यतिबेला मैले तिमीलाई द्वन्द्ववादका तीन आधारभूत नियम र भौतिकवादका सामान्य सिद्धान्तहरू सोधेको थिएँ । त्यतिबेला तिमी अक्मकाएकी थियौ र मैले सम्भव भएसम्म त्यसको व्याख्या गर्दै भनेको थिएँ, यो मार्क्सवादको प्राथमिक कक्षा हो । यसमा तिमीले उत्तीर्ण हुने कोशिश गर, बुर्जुवा कलेज त्यति महत्त्वपूर्ण छैन ।

म अहिले पुनः त्यसलाई स्मरण गराउन चाहन्छु । अबको क्रान्तिका लागि अहिलेको हाम्रो पुस्ताको एउटा हिस्सा अनिवार्य रूपमा बुर्जुवा वर्गसँगै रमाएर बस्नेछ । यो द्वन्द्ववादको निषेधको निषेध नियमअन्तर्गत पर्दछ र हाम्रो पार्टीको एउटा हिस्सा बुर्जुवा वर्गमा पतन भएन भने द्वन्द्ववाद असफल हुनेछ । द्वन्द्ववादको सफलता र वैज्ञानिकता प्रमाणित गर्न हाम्रा केही कमरेडहरू ज्यान फालेर लाग्नुभएको छ । बाबुरामजी खुल्ला र घोषित रूपमा लाग्नुभयो । अरू थुप्रै कमरेडहरू जुनसुकै गुट वा समूहको भएपनि, वहाँको विचारलाई अघोषित रूपमा लागू गरिरहनुभएको छ ।

अब म विषयको यो नकारात्मक पाटोपछि यसको सकारात्मक पाटोतर्फ तिम्रो ध्यानाकर्षण गराउन चाहन्छु । माथिका तमाम कमीकमजोरीका बाबजुद हामी र हाम्रो आन्दोलन तथा नेतृत्व नै आधारभूत रूपमा सही र क्रान्तिकारी छ । 

अहिले विश्वमा संयुक्त राष्ट्र संघमा दर्ता भएका र नभएका गरी झण्डै दुईसय राष्ट्रहरू छन् र त्यसमा नेपाल मात्र त्यस्तो देश हो जहाँ माओवाद र माओवादी एजेन्डा देशको केन्द्रीय एजेन्डा बनेको छ । मानिसहरूलाई जतिसुकै रिस उठेपनि वा मन नपरेपनि हाम्रो एजेन्डाको बारेमा पक्षमा वा विपक्षमा बोल्न र दिमाग खियाउन बाध्य छन् । प्रतिक्रियावादीहरू दाह्रा किट्दै, मुर्छा पर्दै भए पनि माओवादी झण्डा र एजेण्डा हेर्न र सुन्न बाध्य भएका छन् भने तमाम उत्पीडित वर्ग, क्षेत्र, लिङ्गका जनताले धुमिल नै सही, हाम्रो झण्डालाई आशा र आस्थाको केन्द्र मानेका छन् । 

सारा दुनियाँले देख्नेगरी हामी आफैंले निर्माण गरेका यी परिवर्तन र विकासका बिम्बहरूमा हाम्रो योगदान छ भनेर किन गर्व नगर्ने रु यो देशको एउटा युग जसलाई कतिपयले असम्भव भनेका थिए त्यसलाई पल्टाएर अर्को युगनिर्माण गर्नमा बलिदान गरेका हामीले किन अँध्यारो मुख लगाउने रु हामीले छाती फुलाएर यो भन्न सक्नुपर्दछ  । 

सँसारैभरि कहाँ झुके खै ......
क्रान्तिका ...राता सिपाही ।

र अन्तमा,
आत्मीय दाजु, एउटा क्रान्तिकारी अभिभावकसँग लामो समयको अन्तरालमा भएको भलाकुसारीमा भावनाको छाल उर्लन सक्छ र संवेदनाका तरङ्गहरूले कतिपय मान्यताका पर्खालहरू भत्काउन सक्छ, यो म मान्दछु । तिम्रो साहित्यिक चेत र सृजना नै तिम्रो ताकत हो र यसलाई तिमीले जोगाउनु मात्र होइन कि बढाउँदै लानु पनि पर्दछ । साहित्यिक मान्छेहरूको भावना र संवेदना म अनुभूत गर्न सक्दछु तर जेसुकै भएपनि तिम्रो आँखामा टिलपिल टिलपिल आँसु रु अहँ, मसँग कदापि यो देख्ने र पचाउने ताकत छैन, नानी १ हामी हजारौं अस्त्र शस्त्रलाई पचाएका छौं । 

हजारौं कमरेडहरूको शव गाडेर हिँडेका छौं तर आँसु पचाउन सकेनौं किनकि त्यसले हामीलाई कमजोर बनाउँछ । हाम्रो आँखाको आँसु दुश्मनको मुस्कानको मुख्य स्रोत हो । जे होस्, अब म पत्रको बिट मार्न गइरहेको छु । 
मेरा केही शब्दहरूले तिमीलाई यत्तिका वर्षपछि पनि मलाई दाजुले बच्चा जस्तै ठानेछ भन्ने पनि लाग्ला, एक अभिभावकको अधिकार प्रयोग गर्दै लेखिएकोमा कतै अनावश्यक पण्डित्याइँ जस्तो पनि हुन जाला । तर म तिमीले हाँसिरहेको, कविता लेखिरहेको र तमाम महिला तथा सर्वहारा वर्गका लागि उत्साहका साथ डटिरहेको देख्न चाहन्छु । त्यसैले यति लेख्ने घृष्टता गरें त्यसको लागि अग्रिम आत्मालोचना सहित ...

उही तिम्रो दाजु
कुमार लाङ्घाली 
झारखर्क, गुल्मी
 http://lokaantar.com/sahitya/4563,शनिवार, माघ २९, २०७३ मा प्रकाशित

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...