Wednesday, April 5, 2017

हाम्रो बर्ग नै फरक परिसकेको रहेछ

आदरणीय दाजु ‘समीर’
सादर नमस्कार ।


दाजु समयको एउटा अन्तरालपछि आज आफ्नो दिल खोलेर तपाईको नाँउमा यो पत्र कोर्ने हिम्मत जुटाएकी छु। पत्रमा अनर्थ लाग्ने केही लेखिएछ भने क्षमा गरिदिनुहोला।

अञ्जुलीको पानी जस्तै थोपा थोपा बगेर जाने समयलाई रोक्न सक्दी हुँ त म घडीमा टिकटिक गर्ने सुईलाई १५ बर्ष अगाडि पुर्याईदिने थिँए । जहाँ मेरो चञ्चले यौवनकाल थियो । मेरा निर्दोष कुमारी रहरहरु थिए । जामाभरी भरी स साना ढुंगा बटुलेर चारी खेल्दै म लेकका चौरहरुमा बाख्रा चराईरहेकी हुँदी हुँ ।


बारीका कान्लाहरुमा घाँस काटिरहेकी हुँदी हुँ । स्कुलबाट फर्किएपछि आमाले भुटिदिएको मकै र भट्ट फ्रकको गोजीमा राखेर पर धारामा पानी लिन जाँदी हुँ र एकछिन साथीहरुसँग चुन्नी या राज्य केही खेल्न पनि पाउँदी हुँ । दैलामुनिको तरकारीबारीबाट सिप्चना टिपेर तरकारी बनाउन आमालाई सघाउँदी पनि हुँ ।


तर बितेर जाने समयलाई कसले पो रोक्न सक्छ र । केवल आफ्ना गल्तीको महशुष गरेर ऐठन परेको मुटुलाई जर्बजस्ती सम्हाल्दै अगाडि बढ्नुको बिकल्प कसैसँग पनि त हुँदैन । यात्राका यि अनबरत पहाडहरु चढिरहँदा समयको घोडेदौडमा पराजित भएकाहरु उठेर हिंड्ने साहस गर्न सकेनन् भने जीन्दगी नामको यो अमुल्य जिनिसको मुल्यबोध कहिल्यै हुनसक्ने छैन । तर आज मलाई अमूल्य जीन्दगीको महत्वबोध भएको छ र त तपाईको नाममा यि दुईचार अक्षर कोर्दैछु ।


करिव १० बर्ष पछाडि तपाईसँग काठमाडौंमा भेट हुने मौका मिल्यो । तपाईसँग भेट हुने बित्तिकै बिगत सरसर्ती आँखामा आएर उभियो । तपाईले  सम्हालेका मोर्चाहरु सम्झना भएर आए । संगठन भित्रका गलत तत्वहरुलाई भण्डाफोर गर्नुपर्छ भनेर तपाईले भनेको सम्झिएँ ।


परिबर्तनका सपनाहरु देखाएर हामीलाई युद्धको अघिल्लो मोर्चामा लड्न हानथाप गराउने तपाईका जोशिला भाषणहरु सम्झिएँ । जनताको हातमा सत्ता आएपछि मात्र यो लडाँई थामिने भनेको पनि याद आयो । अनि त्यो सत्तामा सबैको समान अधिकार हुनेछ भनेको पनि मैले भुल्न सकेकी रहिनछु ।


१० बर्षपछि तपाईसँग भेट हुँदा धेरै कुरा सोध्न मन थियो । तपाई त करोडौंका कुरा गर्दै हिंड्नुहुँदो रहेछ तर मुक्ति र परिबर्तनको सपना देखेर युद्धमा सहभागी कैयौं साथीहरु आज घर न घाटका भएको मैले देखेकी छु ।ति साथीहरु बिहान साँझ के खाने, कसरी कोठाभाडा तिर्ने र छोराछोरीको फिस कसरी तिर्ने भनेर रन्थनिएको तपाईले देख्नुभयो कि भएन।


परिबर्तनकारी युद्ध शुरु भएको २० बर्ष र शान्ति प्रक्रिया शुरु भएको ९ बर्ष भईसक्दा पनि किन सबैको सत्तामा समान सहभागिता हुन सकेको छैन या किन सबैले आफ्नो क्षमता अनुसार काम पाउन सकेका छैनन भनेर तपाईलाई सोध्ने मन थियो । तर तपाई आफ्ना कुरा गरेर हिंडिहाल्नुभयो । मैले त मेरो कुरा भन्नै पाईन । या यसो भनौ तपाईमा त्यो सुन्ने चेष्टा नै थिएन ।


आज म आफ्नो लक्ष्य प्रति अझै दृढ भएकी छु । आफ्ना सपनाहरु टुक्रिएको हेर्न म कसरी सक्छु < आफ्नो सपनाको भ्रुणमै हत्या भएको म कसरी सहन सक्छु < अँह सक्दिन । त्यसैले आज म सगर्ब तपाईलाई सुनाउन चाहन्छु म अझै बलियोसँग उभिएकी छु आफ्नो धरातलमा । गलत कुराको भण्डाफोर गर्ने र सही कुराको पक्षपोषण गर्ने लाईनमा बलियोसँग लाग्ने आत्मबिश्वास जुटाएकी छु ।


ओहो समय कसरी परिवर्तन भएछ । तपाई जसलाई सभ्यताको पूजारी ठान्नुहुन्छ म त्यहाँ मानवताको नाममा कलंक मात्र देख्छु । तपाईको लवाई, खवाई, उठबस सबैसबैलाई तपाँई परिबर्तन भएको देख्नुहुन्छ तर म त त्यहाँ बिचलन बाहेक केही देख्दिन । भन्न मन लाग्छ, तपाई जस्ताहरुमा आएको बिचलन र स्खलनले नै त हो आज नेपाली माओवादी आन्दोलनमा बिखण्डन आएको । पार्टी टुक्रा टुक्रा भएर बिभाजन हुँदा सम्मपनि तपाईहरु आफ्नो ब्यक्तिगत फाईदा कहाँबाट लिन सकिन्छ, कसरी आफ्नो दूनो सोझ्याउन सकिन्छ भनेर दिनरात एक गरेर लागेको कसैको आँखाबाट लुक्न सकेको छ र ।


के थिए माओवादी जनयुद्धका लक्ष्य, उदेश्य र सपनाहरु < यि बिषयहरुमा घन्टौंसम्म तपाईले हामीलाई दिएका क्लासहरु के तपाईले बिर्सिनुभयो र मैले त रत्तिभर पनि बिर्सनसकेकी छैन । हुन त तपाई शान्तिप्रक्रियामा आईसकेपछाडि धेरै बदलिसक्नुभएको रहेछ । काठमाडौंका सुकिला मुकिलासँग तपाईको बाक्लो उठबस उकालिँदै गएको रहेछ । तपाई ति झुत्रा दिनहरु सम्झिन पनि चाहनुहुन्न होला । तर के बिर्सिउँ भन्दैमा हामीले हाम्रो बिगतलाई बिर्सिन सक्छौं र ? हामीले हिजो तरेर आएका दोभानहरु चटक्कै बिर्सनु भनेको हामी आफैलाई बिर्सनु होईन र ।


हुन त यस्ता कुराहरुमा दाई म भन्दा धेरै जान्ने हुनुहुन्छ भन्ने कुरा मलाई थाहा छ । तैपनि किन किन म चुप लाग्न सकिरहेकी छैन । समाज परिवर्तनका लागि भनेर अर्जेवाकी १५ बर्षकी बहिनी ‘अञ्जली’ ले आफ्नो जीवन के यत्तिकै खेर फालेकी हुन् ।

  
फोक्सिंगको ‘पहाड’ भाई जसकी आमा अझै पनि छोरो आउने आशामा बाटोभरी आँखा ओच्छ्याएर बस्ने गर्छिन् । के उनले आफ्नो जीवन तपाई हामीलाई यसरी शानको जीवन वाँच्नको लागि सुम्पिएका हुन र < पुर्कोट दहकी निर्मला दिदी जस्लाई यो सत्ताका तत्कालिन सिपाहिहरुले आफ्नै सहयोद्धाको अगाडि तड्पाई तड्पाई सामुहिक बलात्कार गरे र प्राण उडेर नजाँदै उनलाई नांगै पारेर बजारभरी लतार्दै घुमाएर परको बाँसघारीको झ्याङमा लगेर फालेका थिए । तिनकी आमाको अवस्था के छ भनेर एकमिनेट अडिएर हालखवर सोध्ने समय आज तपाईसँग किन हुन सकेन ।


मलाई घमिरका स्थानिय बासिन्दाले सुनाएका थिए । निर्मला दिदीले आन्तिम अवस्थासम्म पनि ति जल्लादहरुसँग आफ्नो प्राणको भिख मागिनन्। बरु घृणाले तिनीहरुलाई पिच्च थुकेकी थिईन्। आज उनको शहादतको १३ बर्षपछि तपाई हाम्रा यि घिनलाग्दा हर्कतहरु देखेर मलाई त लाग्छ उनले पिच्च थुक्दिहुन् । ति धोखेवाज सहयोद्धाहरुलाई सम्झेर। जस्ले उनिजस्ता हज्जारौं शहीदको आत्मालाई समेत धोका दिएको छ। आफ्नो बर्गलाई बिर्सिएर जनता भजाउने फोहोरी राजनितीमा आफूलाई र्चुलुम्म डुवाएको छ। आफ्नो गन्तब्य बिर्सिएर बाटोमा भोजभतेर मनाईरहेको छ।


दाजु, मलाई माफ गर्नुहोला। यदि मैले तपाईलाई बिझाउने त्यस्तो केही लेखेकी रहेछु भने। तर १० बर्षपछि यो बिरानो शहरमा तपाईलाई देखेर खुशी हुने, अपनत्वको भावना मनमा फुलाउने अधिकार पनि मसँग रहेनछ । हाम्रो त बर्ग नै फरक परिसकेको रहेछ । तपाई त अर्कै बर्गको मान्छे भईसक्नु भएको रहेछ । तपाईसँग केही आफ्ना कुराहरु राख्ने जमर्को गरेँ ।  तपाईले मेरो सारै चित्त दुखाउनुभयो । तर याद राख्नुस कुनै न कुनै दिन तपाईलाई आफ्नो गल्तिको महशुष जरुर हुनेछ ।


मलाई थाहा छ, मेरो यो चिठ्ठी तपाईलाई बकवास लाग्न सक्छ । तर मलाइ यो पनि थाहा छ । मुक्ति र परिवर्तनको अभिष्ट मनभरी सजाएर अझै पनि पार्टीको नेतृत्वले बर्गिय मुक्ति आन्दोलनको दिशाबोध गर्ने आशा मनभरी सजाएर बसेका अतृप्त आत्माहरुले मेरो यो पत्रको महत्वबोध पक्कैगर्नेछन्।


त्यस्ता क्रान्तिका ईमान्दार मसिहाहरु आज सडक गल्ली चाहारिरहेका छन् र एउटा त्यस्तो सुनौलो दिनको प्रतिक्षामा छन् जुन दिन उनिहरुको क्याप्टेनले जहाजलाई पुन सुचारु गर्नेछ। ज्वारभाटाहरुबाट बचाएर सुरक्षितसँग क्याप्टेनले सकुशल जहाजलाइ बन्दरगाहमा ओराल्नेछ र नयाँ जनबादी क्रान्तिको शंखघोष गर्नेछ। त्यो दिन तपाईजस्ता अवसरवादी पाखा लाग्नेछन् र क्रान्तिका असली सिपाही जहाजको अग्रमोर्चामा उभिनेछन् । हो म पनि त्यो दिनको पर्खाईमा छु।



तपाइकी बहिनी
अास्था केसी
हाल-श‌ँखमुल काठमाडाै‌
मिती-2072-12-22 गते म‌ँगलवार

पुग्नु त धेरै पर छ नि है!

प्रिया,
हृदयको उदासीलाई शब्दहरूमा बेह्री पठाएको छु, खोलेर हेर ।

आज धेरै दिनपछि तिमीलाई पत्र लेख्न बसेको छु। मलाई थाहा छ, धेरै लेख्नु अहिले मेरो वशको कुरा होइन। मसँग लेख्नका लागि त्यस्ता अनुभूति नै कहाँ छन् र सबै कोमामा गइसकेका छन्। जीवनका उदास क्षणहरूलाई शब्दमा उतार्नु पनि त निकै गाह्रो कुरा रहेछ। तर पनि तिमीलाई पत्र नलेखेका दिनमा मेरो मनमा तैरिएका भावनाको खात कतै पानीको फिंजझैं आकार ग्रहण गर्दै शून्यमा बिलाएका छन्। यो कुराको पीडा मलाई जीवनभर कतै न कतै त दुख्छ नि । त्यसैले सम्झिएको छु।


आखिर, अनेक झमेलाका बीच, अनेक सम्बन्धका बीच, अनेक आशा र निराशाको बीच तिमी पनि त मलाई सम्झिरहेकी हुन्छ्यौ। मैले कुनै दिन भनेको थिएँ, कसैको अँगालोमा रून मन लाग्छ भने त्यो नै सबैभन्दा प्रिय साथी हो। र, त्यो तिम्रो लागि म र मेरो लागि तिमी हौ। शायद, यो जीवनमा अब त्यस्तो साथी खोज्नुमा हामी जति भौंतारिए पनि पाउन सक्दैनौं।

यो भावनाको लागि तिम्रो र मेरो भोगाइ उस्तै उस्तै पाउँछु।कताकता तिमीलाई भेटेपछि कति आँसु आँखाबाटै बिलाउँछन्। यो पनि त पीडा कम हुनुको उदाहरण हो। यदि उर्लिएरै आए पनि तिम्रो अँगालोमा आँसु बगाउनुमा मलाई कुनै दकस लाग्दैन। सायद, तिमीलाई पनि। यही अनाम सम्बन्धको धागोले त तिमी र मलाई जति टाढाटाढा हुन खोजे पनि बाँधेर ठेगानामै ल्याइपुर्याउँछ। जति तर्कीतर्की हिँडे पनि तानीतानी ल्याउँछ।

जतिसुकै फासलाको अनुभूति गरेर भेटिए पनि, जतिसुकै टाढापनको बरफ जमे पनि भेटेपछि बरफ पग्लिन्छ, जसरी हाम्रो हृदय पग्लिन्छ। एउटा अनुपम न्यानोपनले हामीलाई गाँजिदिन्छ र मुहारमा जतिसुकै कठोरताको अभिनय गरे पनि मनको मैन यसरी पग्लिन्छ कि छुट्टिने बेलासम्ममा त्यसले हाम्रो मुहारमा केही न केही उज्यालोको प्रतिप्ति छोडेर गइजान्छ।यस्तो अनुपम अनुभूति जो कोहीसँग महसुस कसरी होस्

तिमीलाई हेर्छु, तिमीले आँखामा सपनालाई उसैगरी जोगाइरहेकी छौं। सपनाको यो चरम खडेरीमा त त्यही सपनाको गुल्गार हेर्नका लागि पनि तिमीलाई भेट्न लालायित भइदिन्छ। निश्चलता त तिम्रो अनुपम सम्पत्ति नै भइरह्यो। तिमी सम्पत्तिहीन छौं, म पनि उस्तै छु। तर यो निश्चलताको सम्पत्ति त हामीले जोगाइराखेका हुँदारहेछौं। 


जतिसुकै खर्च गर्न खोजे पनि नसकिने सम्पत्ति यही नै त रहेछ हाम्रो। त्यही सम्पत्तिमा धनी महसुस गरेर म तिम्रा कोमल औंला सुम्सुम्याउँछु। चुम्बन गर्छु र आफूलाई कतै न कतै जीवित पाउँछु। सायद, यो पनि हाम्रो साझा भावना हो।

मैले पहिले नै भनिसकेको छु कि धेरै लेख्न सक्ने अवस्थामा छैन। तर पनि केही न केही लेख्नुको उत्प्रेरणा मभित्र जागेको छ। त्यसैले लेखें। यसले कुनै पज भएको संगीत फेरि रिज्युम हुनेछ। तिम्रो पत्रको हरदम अपेक्षा गरिरहेको हुन्छु। र, अन्तिममा, तिमीलाई एउटा गाढा चुम्बन पठाइदिएको छु। अब फेरि हाम्रो सम्बन्धको नयाँ आयाम सुरु भएको छ, पुग्नु त धेरै पर छ नि है!

उही तिम्रो

मनको मान्छे

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...