दाजुलाई पत्रको जवाफ: उद्वेलित आँसु थामिएन
आदरणीय कुमार दाइ, क्रान्तिकारी अभिवादन आज २१ औं जनयुद्ध दिवस । जनयुद्धको शंखघोष भएको दिन । सत्ताको मूलधारबाट पाखा पारिएका गरीब, उत्पीडित, महिला, किसान, आदिवासी जनजाति, मधेसी, दलित र अरू धेरै जाति, वर्ग, क्षेत्रले आफ्नो मुक्तिको लागि जीवनमरणको लडाईंको श्रीगणेश गरेको दिन । तपार्इं लगायत मुक्तियुद्धका अथकित यात्रीहरूलाई जनयुद्ध दिवसको धेरै धेरै शुभकामना दिन चाहन्छु । तपार्इंले लेख्नुभएको पत्र पाएँ । एउटा उद्वेलनले भावुक बन्दै पत्र पढिसिध्याउँदासम्म आँखाबाट आँसु बगिरह्यो । पत्र पढेर सकेको केही बेरसम्म म चुपचाप रोइरहें । अनि केही बेरपछि उठें र तपाईंको पत्रको प्रतिउत्तर कसरी दिनेहोला भनेर सोच्न थालें । मेरो प्रिय दाजु, रुनु भनेको कुनै नराम्रो काम पक्कै होइन । म बरू नहाँसेर बाँच्न सकुँला । तर नरोएर बाँच्न सक्दिनँ । हामी बाँचिरहेको सामन्ती चिन्तनले ग्रस्त समाजले रुनुलाई नराम्रो अर्थमा चित्रित गरेको छ । तर दाइ, रुनु भनेको कमजोर हुनु होइन । मेरो हकमा त झन हुँदै होइन । जब रुन्छु, मभित्रको पीडा आँसु बनेर बाहिर निस्किन्छ । आफ्नो मन लागुन्जेल रुन्छु र आँसु पुछेर म आफूलाई एक...