नायक र अभिनय



   आस्था केसी

 नायक
पर्दा उघ्रिन उघ्रिन लागेको छ अघिल्तिर
र, तिम्रो जीवन्त अभिनय हेर्न
दर्शकदीर्घामा सास थामेर
बसिरहेकी छु म ।

रंगमञ्चमा उक्लिनुअघि
देखाएथ्यौ तिमीले
थरी–थरीका इन्द्रेणी सपनाहरु
तिनै इन्दे्रणी सपनाहरु आज
सल्बलाइरहेछन् मेरा आँखाहरुमा ।

नेपथ्यबाट ऊ ती परपरका
सुनौला क्षितिजहरु देखाउँदै
सुनाएथ्यौ तिमीले
मीठा–मीठा स्वप्निल कथाहरु
एकान्तमा बसेर
तिमीले देखाएको स्वप्निल बगैंचामा
हराएथें कुनै दिन
आफुले आफैलाई.........।

नायक
पर्दा उघ्रिन–उघ्रिन लागेको छ अघिल्तिर
र, तिम्रो जीवन्त अभिनय हेर्न
दर्शकदीर्घामा मुटु थामेर
पर्खिरहेछन् हज्जारौं प्रिय दर्शकहरु ।

क्लान्त छ परिवेश
दुर्दान्त छन् कहानीहरु
एउटा सिंगो जून खोज्नेहरु यहाँ छन्
तर कतै
चोइटा–चोइटा पार्न खोज्नेहरु पनि छन्
फेरि कतै
चोइटिएका टुक्राहरु
जोड्न खोज्नेहरु पनि छन्
कतै ओइलाएका साँझहरुमा
श्रावण जन्माएका आँखाहरु छन्
कतै घाइते पंक्षीजस्तै
टाढा–टाढाबाट उडेर आउने
आदिम सपनाहरु गुमाएका
दुःखी मनहरु पनि छन् ।

नायक
रंगमञ्चमा मञ्चन हुँदैछ
एउटा अध्याय इतिहासको
पर्दा उघ्रिन–उघ्रिन लागेको छ अघिल्तिर
र, तिमीले यही कही छोडेर गएका
विस्मृत वाँचाहरुलाई
कल्पी–कल्पी याद गर्दै
आफ्नो मुटुको धड्कनलाई
एकछिन रोकेर
दर्शकदीर्घामा बसेकी छु म ।

तिम्रो अभिनय
दर्शकहरुले चाहेजस्तै हुनुपर्नेछ
तिमीले हिजो कोरेर आएको
गोरेटोजस्तै हुनुपर्नेछ
ग्रहणबिनाको जूनजस्तै
बादलबिनाको आकाशजस्तै
सबैलाई छुन सक्ने÷हृदयमा सजाउन सक्ने
सुमधुर–सुमधुर संगीतजस्तै हुनुपर्नेछ ।

नायक
पर्दा उघ्रिन–उघ्रिन लागेको छ अघिल्तिर
र, तिम्रो जीवन्त अभिनय हेर्न
दर्शकदीर्घामा सास थामेर
बसिरहेकी छु म ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

एउटा चित्रमय शुरुवात

दाजुलाई पत्रको जवाफ: उद्वेलित आँसु थामिएन