आफ्नै गन्थन (साहित्य, राजनीति, जीवन आदि/इत्यादि)

                             प्रस्तुतिः भुवन देवकोटा

आस्थाजी आरामै ?
 हजुर आरामै छु ।
के काममा ब्यस्त हुनुहुन्छ आजभोलि ?
प्रलेस र मदानी साहित्य समुहका कार्यक्रमहरुमा ब्यस्त छु ।
घर गृहस्थीमा पनि समय खर्चिनु परेको होला कस्तो छ घर व्यवहार ?
म एक गृहिणी पनि भएकोले स्वभाबैले घर परिवारलाई समय दिनु पर्दछ । केही समय अगाडिदेखि पुस्तक र स्टेशनरीको पसल संचालन गरेकोले आजभोलि पसलमा अलि बढी नै समय दिदै आएकी छु ।
सिर्जनाका लागि कति समय छुट्याउनु हुन्छ एक दिनमा ?
सिर्जनाकै लागि त्यस्तो दैनिक यत्ति समय भन्ने त छैन तर समय मिलेसम्म सिर्जना गर्नतिर लागिहाल्छु । आजकल लेख्ने भन्दा बढी पढ्ने कुरामा जोड दिएकी छु ।
पढ्दै गरेको नयाँ पुस्तकको नाम ?
कबि श्यामलको हतारको यात्रा कबिता संग्रह र मनिषा गौचनको बल्लीको डायरी उपन्यास पढ्दैछु । दाङका साहित्यकार सूर्यनाथ सापकोटाको उपन्यास आगो भित्रको मान्छे पनि लाइनमा छ ।
कस्ता पुस्तक पढ्न मनपराउनु हुन्छ ?
जीवन र जगतलाई नजिकबाट बुझ्न सहयोग गर्ने साहित्यिक पुस्तकहरु पढ्न राम्रो लाग्छ ।
मन पर्ने विधा ?
कविता होस या आख्यान अथवा निबन्ध, सबै उत्तिकै मनपर्ने बिधा हुन् तर पुस्तकको शैली रोचक भने हुनैपर्छ ।

मन पर्ने साहित्यकार ?
त्यस्तो नामै तोकेरै भन्दा त अन्याय हुन्छ कि । सबै साहित्यकारहरु आ आफ्नो ठाउँमा अब्बल हुनुहुन्छ । तैपनि नामै लिनुपर्दा कवितामा श्यामल, पूर्णबिराम, रमेश क्षिंतिज र आख्यानमा खगेन्द्र संग्रौला, युग पाठक, आहुती, नयनराज पाण्डेलगायत मन पर्छ ।
मन पर्ने गीत ?
मान्छेको मन सधैंभरी एकैनास हँुदैन । एक पटक मन परेको गीत सधैभरि मन परिरहने पनि हँदैन । कुनै समयमा पूँजीवादी खालका गीतहरु पनि राम्रो लाग्छ, कस्ता गीत सुन्ने भन्ने मान्छेको मुडमा,बिचारमा भर पर्छ । त्यस्ता धेरै गीतहरु छन् जसलाई सुनेर मन कहिल्यै अघाउँदैन । पछिल्लो समयमा आएका गीतहरु मध्ये रमेश क्षितिजको बटुवा हो मान्छे भन्नु यो संसारमा.... र के.एल.पीडितको मान्छे मान्छे बीचका भेदभाब मास्न पाए... भन्ने गीत निकै मन पर्छ ।
मन पर्ने खाना ? मन पर्ने कपडा ?
सादा नेपाली खाना मनपर्छ । पाइन्ट शर्ट नै सबैको लागि सजिलो ड्रेस हो जस्तो लाग्छ ।
हिन्दी साहित्य पढ्नु हुन्छ ?
पढ्छु । हिन्दी साहित्य राम्रो लाग्छ ।
नेपाली साहित्यको वर्तमान अवस्था ?
नेपाली साहित्यको वर्तमान अबस्था एकदमै राम्रो छ । साहित्यका पाठकहरु बढ्दै गएका छन् । साहित्यलाई अनुत्पादक रुपमा बुझ्नेहरु बिस्तारै घट्दै गएका छन् । समग्रमा भन्नुपर्दा लेखेरै बाँच्न सक्ने वातावरण बन्दै गएको छ ।राष्ट्रियताको पक्षपोषण, कुरुप यथार्थको आलोचना र त्यसमा परिवर्तन गर्ने बिद्रोह चेत सहितका प्रशस्त कृतिहरु दिनदिनैजसो जन्मिरहेका छन् । यो पनि वर्तमान साहित्यको एउटा उपलब्धि नै हो ।
साहित्यमा दाङको स्थान ?
साहित्यमा दाङको एउटा आफ्नै बिशिष्ट पहिचान छ । यस क्षेत्रका पुरानादेखि नयाँसम्मका साहित्यकारहरु यहाँको साहित्यिक धरातललाई माथि उठाउन लागिपरेका छन् । साहित्यिक कृतिहरु पनि लेखिएकै छन् । तर पनि दाङका लेखक साहित्यकारहरुले समकालीन साहित्यको क्षेत्रमा अरु धेरै मिहिनेत गर्न जरुरी छ । सक्रियताको हिसाबले दाङ जिल्लाको साहित्यिक भविष्य सम्भावनाले भरिएको छ ।
लेखकले राम्रो नलेखेको हो कि पढ्ने मान्छे कम भएर हो साहित्यको क्षेत्रमा दाङको त्यति धेरै चर्चा गरेको पाइन्न, हैन त ?
यो दुबै कुराको कहीं न कहीं सामञ्जस्यता छ भन्ने लाग्छ । अहिलेका पाठकको मनोबिज्ञान र माग अनुसार हामीले लेख्न नसकेको कुरालाई इमान्दारीपूर्बक स्वीकार गर्नु पर्दछ । राम्रो साहित्य लेखियो भने बिस्तारै त्यो स्थापित हँदै जान्छ र पाठकहरु बन्दै जान्छन् । राम्रो कृति जन्माउनको लागि बिधागत बिशिष्टताको साथसाथै बिषयबस्तुको बारेमा गहन अध्ययन हुन जरुरी छ । हामी दङालीहरुले यी दुबै कुरामा मनग्गे ध्यान पु¥याउन सकेको खण्डमा राष्ट्रियस्तरमै चर्चित कृति जन्माउन सकिन्छ ।
असल विचारले प्रतिनिधित्व गर्नुपर्छ कि युवा पुस्ताले ?
निश्चितै रुपमा असल विचारले प्रतिनिधित्व गर्नुपर्दछ । कमाण्ड,कन्ट्रोल र कम्युनिकेशनलाई मिलाएर लैजान सक्ने मान्छेले मात्र राम्रो नेतृत्व प्रदान गर्न सक्छ । मान्छे युवा छ तर राम्रोसंग प्रतिनिधित्व गर्न सक्दैन भने त्यस्तो व्यक्तिले नेतृत्व नगर्दा नै राम्रो हुन्छ । यहाँ त युवाहरुलाई शक्ति प्रर्दशन गर्न मात्र प्रयोग गरिन्छ । राष्ट्रिय युवा नीति पनि नबनेको होइन तर त्यो व्यवहारमा लागु हुन सकिरहेको छैन ।
तपाइँ आफू युवा भएको नाताले कस्तो अनुभव गर्दै आउनु भएको छ ?
मलाई लाग्छ युवाहरुले चाहने हो भने र जिम्मेवारी पाउने हो भने हरेक क्षेत्रमा निकै छिटो परिवर्तन गर्न सक्छन् । यहाँ दुईवटा कुराले काम गरेको छ । पहिलो कुरा युवाहरुले आफ्नो क्षमता र योग्यता अनुसारको जिम्मेवारी पाउन सकिरहेका छैनन् । दोश्रो र अझै महत्वपूर्ण कुरा हामीले हामीमा भएको क्षमतालाई सिर्जनशील तरिकाले प्रयोग गर्न पनि सकिरहेका छैनां ।
महिला मुतिm कि वर्गीय मुक्ति ?
मैले बुझेको सत्य के हो भने वर्गीय मुक्ति बिना महिला मुक्ति सम्भब छैन । महिला मुक्ति र वर्गीय मुक्ति एक अर्कामा अन्तरसम्बन्धित कुरा हुन् । वर्गीय मुक्तिसँगै महिला मुक्ति मात्र होइन समाजका याबत समस्याहरु हल भएर जान्छन् ।
महिलाका समस्या महिलाले मात्रै बुझ्छन् कि पुरुषले पनि ?
महिलाका समस्या पुरुषले र पुरुषका समस्या महिलाले बुझेर मात्र जीवनमा आइपर्ने हरेक अप्ठ्याराहरुसंग जुध्न सक्न्छि । कुरा महिला र पुरुष भन्दा पनि सही र गलत बुझाइको हो । कतिपय पुरुषहरु महिलाका मुद्दाहरुप्रति सकारात्मक र सम्बेदनशील छन् । कतिपय महिलाहरु त्यस्ता पनि छन् जो सामन्ती चिन्तनले ग्रस्त छन् । हामी महिलाहरुको समानताको लडाइँ बिशुद्ध पुरुषहरुको बिरुद्धमा होइन सामन्ती पुरुष प्रधान चिन्तनका बिरुद्धमा हो । सही बिचार बोकेका लाखौं पुरुषहरुको सहयोगले मात्र महिला समानता सम्भब छ ।
महिला महिला एक हुने कि असल विचार बोक्नेहरु एक हुने ?
विचार सही छ भने मात्र सबै कुरा ठीक हुन्छ । पहिले असल विचार बोकेकाहरु एकै ठाँउमा आउनुपर्छ अनि मात्र महिला, क्षेत्र, भाषा ,जाति आदिका कुराहरु आउँछन् ।
महिला समानताका नाममा पुरुषले जस्तो जस्तो गर्छन् त्यस्तै गर्दै हिड्ने कि ? खराव काम गर्नेलाई खवरदारी गर्ने ?
महिलाहरुले समानताका लागि स्वतस्फूर्त रुपमा आफै पनि केही त्यस्तो काम गर्न जरुरी छ जुन कामले यहाँका सम्पूर्ण महिलाहरुमा जागरुकताको भावना उत्पन्न होस । महिलाहरु आफ्नो अधिकारप्रति सचेत बनुन् । पुरुषका पछि मात्र लाग्नु भन्दा नि सही कुराको पछि लाग्नुपर्दछ ।
राजनीति गर्नु हुन्छ ?  कतै लडाइँमा पनि सामेल हुनु भयो कि ?
हो म राजनीतिमा पनि संलग्न छु । फिल्डमा काम गरियो, लडाइँमा प्रत्यक्ष सामेल हुन पाइएन तर अन्य सहयोग भने गरेकै हुँ । मैले ब्यबस्थापनका काम बढी गरें । युद्धमा सहभागी भए पनि युद्धका क्रुर त्रासदीलाई असाध्यै नजिकबाट भोग्नु भने परेन । फिल्डमा काम गर्दै गर्दा गस्तीमा आएको सेनाको घेराबन्दीमा धेरै पटक परेकी छु ।
के रहेछ राजनीति ? वर्तमान राजनीतिक परिवेशलाई एउटै वाक्यमा अथ्र्याउँदा ?
राजनीति एक प्रकारको सचेत चेतना हो । यसले मानिसलाई आफ्नो अधिकारको पहिचान गर्न उत्साहित र त्यसलाई प्राप्त गर्न मद्दत गर्दछ । कर्तव्य निर्वाह गर्न खबरदारी गर्दछ । वर्तमान राजनीतिक परिवेश संक्रमणकालीन अबस्थाबाट गुज्रिरहेको छ । निकै नै सम्बेदनशील मोडमा छ अहिलेको राजनीतिक परिवेश । आफ्ना निहित स्वार्थका लागि फाइदा लिनेहरु कम्मर कसेरै लागेका छन् । सामान्य जनता निरास बन्ने खालको वातावरण बनेको छ ।
रोज्नु पर्दा साहित्य कि राजनीति ?
राजनीति र साहित्य अन्तरसम्बन्धित कुरा हुन् । यी दुबैलाई अलग्याएर हेर्न मिल्दैन । साहित्यको लागि मात्र साहित्य लेख्नु भनेको केबल सस्तो मनोरञ्जनको लागि मात्र हुन्छ । वास्तविक साहित्य त त्यही हो जसले निमुखा जनताको आवाजलाई समेटेर तिनको जीवन भोगाइलाई कलात्मक तरिकाले सबैको अगाडि पस्किन सक्छ । म त जनताको जीवन परिवर्तनकै लागि साहित्य लेख्न चाहन्छु ।
कहिलेदेखि साहित्यतिर तानिनु भयो ?
मेरो बुवा धार्मिक प्रबृत्तिको मान्छे हुनुहुन्छ । मेरो साहित्यिक कितावहरु पढ्ने श्रृंखला धार्मिक कितावहरुबाट शुरु भयो । कक्षा ५ मा पढ्ने बेलामा महाभारत पढें । त्यो पनि बुवासंग लुकेर पढ्नुपर्दथ्यो । रामायण,देबी भागबत,गरुडपुराण,स्वस्थानी ब्रत कथा पढेकी हुँ । बुवाले यस्ता किताब पढेर बिग्रिन्छे कि भनी चिन्ता गर्नुहुन्थ्यो पछि नेपाली र हिन्दी उपन्यासहरु पढें । जनयुद्धमा सहभागी भएपछि मात्रै प्रगतिशील र माक्र्सवादी पुस्तकहरु पढियो । स्कुलमा छ सात कक्षा पढ्ने बेला नै साथीहरुका प्रेमपत्र लेखिदिन्थें ,सबैले राम्रो छ भनेर हौस्याउँथे । अनि यसो कहिलेकाहीँ मुक्तक गजल कबिता लेखिटोपल्थें । पछि जनयुद्धकालमा साथीहरुले प्रेरणा दिन्थे । यसरी सानैबाट साहित्यतिर तानिएँ ।
साहित्यमा तपाइँको दृष्टिकोण ? कला कि विचार ?
कलात्मक तरिकाले एउटा स्पष्ट विचारको जगमा लेखिएको साहित्य नै सबै भन्दा माथि हुन्छ । हामीकहाँ र्सिजना गर्दा सारलाई अथवा अन्तरवस्तुलाई अलि बढी प्राथमिकता दिने तर रुपको उपेक्षा गर्ने साहित्यकारहरु पनि छन् । साहित्य विचार मात्र लाद्ने कलाबिहीन दस्तावेज होइन । कलात्मक शैलीले मात्र दिन खोजेको भावलाई मन छुने गरी सम्प्रेषण गर्न सकिन्छ । त्यसैले साहित्यमा कला र विचार दुबैको उत्तिकै महत्व छ ।
आफूले लेखेको कुनै कविताको चार हरफ ?
कुनै सुनौलो परिकथामा जस्तै
एकाएक रातारात
मोड लिनेछैन जिन्दगीले
र परिवर्तन भइहाल्ने छैन हाम्रो यथार्थ
त्यतिबेलासम्म फेरिने छैन हाम्रो अवस्था
जतिबेलासम्म
जाग्ने छैनौं,लाग्ने छैनांै र संगठित हुने छैनांै हामी आफै...........। 
(सहकारी)
बाल्यककालमा गरेको मीठो बदमासी ?
बाल्यकालमा आमालाई निकै सताउँथे । फिल्म भनेपछि हुरुक्कै हुन्थेें । सायद कक्षा सातमा पढ्ने बेला हो, नयाँ फिलिम लागेको थियो । आमाले टिकट काट्ने पैसा दिनुभएन । मेरो पालो कुखुराको पोथी टिपेर घरबाट भागें । अनि त्यो पोथी बेचेको पैसाले फिलिम हेरेर आएँ । त्यो कुरा सम्झिदा अहिले पनि हाँसो लाग्छ ।
कति सालमा कोसँग विहे गर्नु भयो ?
मेरो बिहे २०६३ बैशाख महिनाको १ गते यमनारायण शर्मा विश्वाससंग भएको हो । म गुल्मीको मान्छे उहाँ दाङको मान्छे । हामीले १५ महिना अगाडिबाट माक्र्सबादी प्रेम गर्दै आएका थियौं । त्यतिबेला ऐतिहासिक जन आन्दोलन भाग २ को अन्तिम तैयारी भइरहेको थियो । विश्वासजी कार्यब्यस्तताका कारण गुल्मी जान नसके पछि तीन दिन हिडेर म आफै दाङ आएँ । म कहिल्यै यता नआएको मान्छे, बाटोमा समस्या पनि प¥यो । त्यतिबेला पार्टी भूमिगत भएका कारण उहाँहरु बसेको स्थान भेटाउन पनि मुस्किल परेको थियो । तीन दिन पछि स्यूजाको प्यारधारा भन्ने स्थानमा भेट भयो । त्यसको पाँच दिनपछि देब गुरुङ, नेत्रबिक्रम चन्द लगायतका नेताहरुको अगुवाईमा हामीले जनवादी विवाह गरेका हौं ।
के रहेछ विहे ? श्रीमान श्रीमती सँगै घुम्न गएका ठाउँ मध्ये मन परेको ठाँउ ?
जीवनलाई अगाडि बढाउन मान्छेको लागि आवश्यक एउटा सामान्य प्रक्रिया हो बिबाह । कसैले बिबाह बन्धन हो पनि भन्छन् तर मलाई बिबाह बन्धन हो जस्तो कहिल्यै लागेन । जीवनका हरेक भोगाइहरु साट्ने र दुख बिसाउने चौतारी हो बैबाहिक सम्बन्ध । यो निकै सम्बेदनशील सम्बन्ध पनि हो । दुबै जनामा प्रर्याप्त समझदारी भयो भने जीवन यात्रा अगाड बढाउन सजिलो हुन्छ । बिहेको एक बर्षसम्म म गुल्मीमा नै रहेर काम गरें भने उहाँले दाङमै रहेर काम गर्नुभयो । श्रीमान् श्रीमती घुम्न जाने समय नै भएन । पछिल्लो समयमा गएका स्थान मध्येमा चितवनको सौराह राम्रो लाग्यो ।
कहिलेकाहीं श्रीमान श्रीमतीबीच बोल बाराबार पनि हुने गर्छ भन्छन् । त्यसको खास कारण ?
असमझदारी र एक अर्काप्रतिको अविश्वासको कारणले बैबाहिक सम्बन्धमा बिबिध खाले दरारहरु उत्पन्न हुन्छन् । बिबाह एउटा सम्झौता पनि हा । जो जस्तो छ त्यसलाई त्यही रुपमा स्वीकार गर्ने हो भने यो सम्बन्ध दुनियाँका सबैखाले नाता सम्बन्ध भन्दा सुमधुर र प्रिय हुन्छ । श्रीमान श्रीमती दुबैले असाध्यै जिम्मेवारी बहन गदर्,ै एक अर्काको सम्मान गर्दै, गल्तीहरुमा पाठ सिक्दै अगाडि बढ्नुपर्नेमा आफू मात्र सही छु र साथी गलत छ भन्ने मानसिकताले नै बोल बाराबार हुँदै सम्बन्ध बिच्छेद सम्म पु¥याउँछ ।
सुन्दरी प्रतियोगिता ठीक कि बेठीक ? केही महिलाहरुले सुन्दरी प्रतियोगिताको बिरोध गर्नु हुदैन भन्छन्, मान्छे राम्रो अनुहारले कि विचारले ?
मान्छेको सुन्दरता मापन गरिने चिज हुनुहँदैन । सुन्दरी प्रतियोगिता गर्ने चलन सरासर गलत हो । पूँजीपतिले आफ्नो उद्योगधन्दामा मुनाफा हासिल गर्नको लागि विज्ञापन गर्नुपर्ने हुन्छ ,त्यही विज्ञापनमा प्रयोग गर्नको लागि उनीहरु सुन्दर अनुहार भएका युवतीहरु सुन्दरी प्रतियोगिता मार्फत खोज्दछन् । मान्छे अनुहारले भन्दा पनि विचारले सुन्दर हुनुपर्दछ ।
तपाइँ पत्रकार पनि हुनुहुन्छ । महिलालाई होच्याउने किसिमले आइरहेका विज्ञापनप्रति तपाइँको धारणा ?
हजुर, म पत्रकार पनि हुं । नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यसमिति सदस्यको रुपमा बिगत डेढ बर्षदेखि काम गर्दै आएकी छु । महिलालाई होच्याउने किसिमले आइरहेका विज्ञापनप्रति मेरो घोर आपत्ति छ । यो पुरुष प्रधान सामन्ती चिन्तनको उपज हो । यस्ता खाले विज्ञापन प्रकाशन प्रशारणमा रोक लगाउनु पर्दछ । संचारमाध्यममा विज्ञापनको क्षेत्रमा काम गर्ने साथीहरुले हचुवाको भरमा होइन गम्भीर ढंगले अध्ययन र छलफल पश्चात मात्र विज्ञापन प्रकाशन प्रशारण गर्नुपर्छ । यो केबल महिलाको मात्र सरोकारको बिषय नभएर सबैले साझा सवालको रुपमा लिनुपर्दछ ।
महिला भएकै कारणले कत्तिको हेपाइमा पर्नु भएको छ ?
हाम्रो समाज पुरुषप्रधान समाज भएकोले महिला भएकै कारण हेपाइमा नपरेका महिलाहरु यहाँ को पो होलान् र ? पुरुषलाई मात्र जान्ने बुझ्ने ठान्ने हाम्रो समाजमा महिलाहरुलाई आफ्नो स्टाटस बनाउन निकै गारो छ ।
तत्काल कुनै कृति प्रकाशनको तयारी छ कि ?
केही समय पछि संग्रह निकाल्ने गरी कविताको तयारी गर्दैछु ।
जीवनको कुनै विशेष घटना उल्लेख गर्नुपर्दा ?
जनयुद्धकालमा भूमिगत हुने बेला तत्कालीन शाही सेनासंग जम्काभेट हुनेबेला कैंयौंपटक मृत्युको नजिकै पुगेर पनि जीवन प्राप्त गरेका धेरै अनुभबहरु छन् । अघिल्लो दिन संगै फिल्डमा काम गर्ने साथी भोलिपल्ट दुश्मनको गोली लागेर ढल्दा निकै रोएकी छु ।
पढेका मध्ये हाँसो उठ्दो पुस्तक ?
म एकदमै छानेर मात्र किताब पढ्छु । जुन पायो त्यही किताब पढेर समय बर्बाद मात्र हुन्छ । भर्खरै केही समय अगाडि मात्र पढेको खगेन्द्र संग्रौलाको निबन्ध संग्रह आफ्नै आँखाको लयमा पढ्दै गर्दा निकै हाँसो लाग्यो । पुस्तकको विषयबस्तु गहन र शैली एकदमै हाँसोलाग्दो छ ।
पढेका मध्ये अश्लिल लाग्ने कुनै पुस्तक ?
त्यस्तो पुस्तक अहिलेसम्म पढेकी छैन जुन पुस्तकमा अश्लिलता मात्र हुन्छ ।
भाग्यमा बिश्वास गर्नुहुन्छ ?
भाग्य, भगवान, पुर्बजन्म, पुनर्जन्म यस्ता कुरामा मलाई रत्तिभर विश्वास लाग्दैन । कर्म गर फलको आशा नगर भन्ने कुरा पनि म मान्दिन । कर्म गर र फलको आशा पनि गर । मेरो सिद्धान्त नै यही हो । कहिलेकाहीं जीवनको यात्रामा आइपर्ने आवश्यकता र आकस्मिकताको द्वन्द्ववाद एउटा संयोगको कुरा हो ।
जीवनको सपना ?
जीवन रहेसम्म बहुसंख्यक गरीखानेहरुको पक्षमा कलम चलाइरहन सकुं । प्रगतिशील साहित्यिक आन्दोलनको इतिहासमा एउटा इट्टा थप्न सकुं । बस............यो भन्दा ठूलो सपना केही छैन ।
मैले सोध्न छुटाएको र तपाइँले राख्नैपर्ने कुनै बिषय ?
जीवन संघर्षको बिशाल मैदान हो, जीबन भोगाइको क्रममा आईपर्ने बिबिध खाले समस्याहरुसंग निर्मम ढंगले संघर्ष गर्दै अगाडि बढ्न सक्नु नै महानता हो । समाज परिवर्तनको जिम्मा हामी सबैको काँधमा छ । हामी सबैले आ आफ्नो ठाँउबाट योगदान गर्न जरुरी छ । अरुको मुख ताकेर बस्ने होइन । हामी आफैले पनि केही गर्नु पर्ने बेला आएको छ ।
राप्ती पोष्ट राष्टिय दैनिक पत्रिकाले प्रकाशनको एक वर्षको छोटो अवधिमै आफूलाई लोकप्रिय बनाउन सफल भएको छ । काठमाडौंका समाचार मात्र प्रमुख समाचार बन्ने परिपाटी माथि धावा बोल्दै स्थानीयस्तरका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्ने सवालमा यो पत्रिका सदैब यसरी नै लागिरहोस । मेरो विचारलाई स्थान दिएकोमा राप्ती पोष्टलाई धन्यवाद दिन चाहन्छु ।



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

एउटा चित्रमय शुरुवात

शालिक ढाल्दैमा विचार ढल्दैन

फस्टाउदैं ब्याबसायिक गाई पालन