Friday, February 10, 2023

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता

आस्था केसी | 

#आस्था केसी | 



सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित
आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित
कोखैभित्र चलायमान छ यसै सिर्जन्छ संसार यो
आमा हुन् नवयुग रङ्गिन कला नारीहरूकै छ यो ।


बन्छन् खुब सुरम्य सागर अनि अग्ला कतै टाकुरा
काखैमा सुकुमार चल्मल हुँदै आफ्नै हसिला भुरा
माटोमा मन–मोहिनी हृदयको मुना बनी हुर्किंदै
नाच्छन् फुर्फुर चौरीमा मनभरी नारीहरू नै सधैँ ।


नारीको नवसिर्जना सुर लिई घन्किन्छ सङ्गीतमा
नौलै बन्छ सधैँ कथा र कविता यै स्वच्छ संसारमा
साथैमा छ नयाँनयाँ लहर छन् स्वर्णिम आफ्नै कला
नारीकै नवजागृति सहज नै बन्छन् अनेकौँ तला ।


छोरी हुन् घरकी कतै मनभरी बन्छिन् बुहारी पनि
आमा हुन् नवसिर्जना जीवनकी आधार आफैँ बनी
पोखिन्छिन् अति कष्टसाथ दुनियाँ हुर्काउँदै सृष्टि यो
यस्ती मालिनीलाई कष्ट र पीडा भर्दिन्छ संसार यो ।


मैले जान्दिनँ नारी नै नरहँदा संसार के चल्छ र !
नारी नै नहुँदा सधैँ घरघरै बत्ती कहाँ वल्छ र !
आँखाको डिलमा छचल्किरहने पानी बनेकी चरी
नारी सिर्जनाकी धनी सुख सुधा भर्ने उनै हुन् परी ।


नारी सिर्जना पल्लवी जगतकी माता एवम् मोहिनी
नारी चन्द्रमा, अप्सरा गगनकी, तारा एवम् रोहिनी
नारी नै रहिनन् खुसी यदि भने खुसी कहाँ हुन्छ र ?
नारी क्रोधित भै गइन् यदि भने संसार रहन्छ र !


मान्छे हो, सोच है विचार गर है नारी दुखी छिन् किन ?
छोरी, बुहारी, श्रीमती र साथी ती रुन्छिन् किन छिनछिन ?
एउटा मर्म मनन् गरेर जनले नारीलाई बुझ है !
सत्य, न्याय, समानता र सुखले नारीलाई पुज है !


नारी हुन् ममता, दया र करुणा, सहिष्णुताकी घर
नारीलाई गर्‍यौ हेला यदि भने शान्ति कहाँ हुन्छ र !
छोरीलाई पढाइदेऊ बुबाआमा संसार जित्ने भए
उनको हात समातिदेऊ प्रेमले सम्मान खोज्ने भए ।



छोरी हो, सपना देख विजयको संसार तिम्रै हो यो
नानी हो, नभमा उड प्रकृतिको खुल्लै छ आकाश यो
आमा हो, उठ लौ हेर गगनमा उज्यालो लालित्य त्यो
साथी हो, नडराऊ नौका सहजै तार्नु छ समुद्रको ।

१०
तिम्रा पङ्ख फैलाऊ र उड अब कमजोर छैनौ तिमी
तिम्रा डर भगाऊ र निस्क अब एक्लै नि हैनौ तिमी
पुछ आँसु र हाँसिदेऊ अलिकति यात्रा सुनौलो गर
सपना पूरा गर र स्वच्छ मनले फर्केर आऊ घर ।

(११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा नेपाल पत्रकार महासंघ महिला समितिकाे आयाेजनामा सम्पन्न महिला पत्रकार साँस्कृतिक महाेत्सवमा प्रथम स्थान हासिल गर्न सफल कविता ।)

https://shilapatra.com/detail/21997

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  ०९:३०

म स्वाभिमानी स्वास्नीमान्छे

 कविता




मनुस्मृतिको व्याज खाएर
नघोकाऊ सती, सावित्रीका कथाहरू
वर्तमानमा कोर्रा लगाएर
नबुझाऊ भविष्यका पहेलीहरू ।

म स्वाभिमानी स्वास्नीमान्छे हुँ ।

समयको मूलप्रवाहमा बाँध लगाएर
नसिकाऊ कुरूप धर्मशास्त्रका पाठ
इतिहासको बन्दरगाहमा हराइरहेका
खण्डहर तिम्रा सन्दर्भहीन ग्रन्थहरू
भो नसिकाऊ– सभ्यताहीन नैतिकताहरू ।

रामका आरोपहरूले मात्रै
जल्दैनन् कोही सीताहरू अब
र, चल्दैनन् हुकुमहरू रावणका
लड्दालड्दा थाकेर
हार मञ्जुर नभएपछि
अरुणमा हामफालेझैँ गरी
अनुयायीहरूसँगै अब अरुणहरूमा
हामफाल्दैनन् कोही योगमायाहरू
बरु युगौँदेखिको साहस बटुलेर
भीषणतामा जीवन खोजिरहेछन्
कुमारी बुढा र दिलमायाका अनुयायीहरू ।

म गतिवान् नदी हुँ युगको
मूल प्रवाहमा बाँध लगाएर
मेरो वेगलाई ब्रेक नलगाऊ
मेरो अस्तित्वमा धावा बोलेर
अस्मिताको धज्जी नउडाऊ ।

म पवन हुँ– नयाँ सन्देशको
खुसी हराएका ओठभित्र पसेर
मुटुका पत्रपत्र स्पर्श गर्दै
कुदिरहेछु भ्रमका पर्दा च्यात्न ।

व्युँझिरहेछन् निद्राहरू
र, विप्लव बोलिरहेछन्
नूतनताका खोजीहरूमा ।


म सुरुवात हुँ संभावनाको
सृष्टिका चक्रलाई ‘इश्यु’ बनाएर
आदिम रागहरूमा
नपढाऊ कोकशास्त्रका पहेलीहरू ।

बादशाहका हुकुमी फर्माइसहरू
अब इतिहासमा मात्र संभव छ
आधा आकाशलाई हमेशा पन्छाएर
रथको एक पाङ्ग्रालाई जहिल्यै छेउ लगाएर
जब सृष्टिको निरन्तरतामा
खडा गरायौ एक प्रश्न चिह्न
कि स्त्रीले तिमीभन्दा जहिल्यै
एक कदम पछाडि हिँड्नुपर्छ
अथवा स्थापित बनाउन खोज्यौ
एउटा सफेद झूट
कि महिला पुरुषभन्दा तल्लो दर्जाको मान्छे हो ।

म त गर्जन हुँ– सत्यको
तिम्रो वर्तमान धराशायी बनाउँदै
धज्जी उडाएर अट्टहास गर्ने
तागत छ मसँग ।

म त स्वाभिमानी स्वास्नीमान्छे हुँ
युगका विरुद्ध हुङ्कार गर्नसक्छु
तिम्रो बालुवाको महल
जुन कुनैबेला ढल्न सक्छ
– मेरो हुङ्कारले ।

युगको गर्जनसँगै स्वाभिमानी नारीहरू
जाग्दै विप्लव
अँगालिरहेछन्
युद्धका विभीषिकाहरू ।

https://www.loksambad.com/news/4203


Friday, April 12, 2019

शहीद चुनु गुरुङकाे क्रान्तिकारी गीत - जलजला




तिम्रै निम्ति बरु याे ज्यान गए गैजाला ।
तिमीसँग गहिराे माया बस्याे जलजला । 

बर्गिय मायाले बाँधीराखुला
दुश्मनकाे नजरवाट लुकाइराखुला । 

लुकामारी गर्दै खतम गरी दुश्मनलाइ 
बिजयकाे टिका लगाइ आउँला बरिलै
बिजयकाे टिका लगाइ आउँला बरिलै

Monday, March 11, 2019

शालिक ढाल्दैमा विचार ढल्दैन

‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ ।

हामीले नेपालमा अक्टोबर क्रान्तिका नायक लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा राज्यमा भने डोजर लगाएर उनको शालिक ढालिएको छ । विगत २५ वर्षदेखि भारतीय कम्युनिष्ट पार्टी (सिपिआई एम) को सरकार रहेको त्रिपुरामा पाँच वर्षअगाडि मात्र लेनिनको शालिक निर्माण गरिएको थियो ।

सन् २०१३ मा स्थानीय कलाकार कृष्ण देवनाथले लेनिनको उक्त शालिक निर्माण गरेका थिए । भारतीय जनता पार्टी ९बिजेपी०का कार्यकर्ता र समर्थकले चुनाव जितेको उन्मादमा विश्वभरिकै कम्युनिस्ट पार्टीका आदर्श लेनिनको शालिकमा डोजर लगाएका हुन् । दक्षिण त्रिपुरामा पर्ने बेलोनियास्थित लेनिनको अग्लो शालिकमा डोजर लगाउनुअघि बिजेपीका कार्यकर्ताले ड्राइभरलाई मात्ने गरी मादक पदार्थ सेवन गराएका थिए ।
Aastha kc


त्रिपुरामा भारतीय जनता पार्टीले चुनाव जितेको ४८ घन्टापछि लेनिनको शालिक ढालिएको हो । सिपिआई ९एम०ले यस घटनालाई ‘कम्युनिज्मफोबिया’ अर्थात् साम्यवादसँगको त्रास भनेको छ भने भाजपाले लामो समय कम्युनिष्टद्वारा दबिएकाहरूको आक्रोश भनेको छ । ५ मार्चमा ढालिएको लेनिनको शालिक सोही ठाउँमा बेवारिसे भएको छ भने कम्युनिस्ट पार्टीका समर्थकले यस घटनाको विरोध जनाउँदा केही ठाउँमा झडपसमेत भएका छन् ।

लेनिनको शालिक ढालिएको घटना यो नै पहिलो भने होइन । यसअघि सन् २०१३ मा युक्रेनको राजधानी किएफमा पनि विरोधीहरूले डोजर लगाएर लेनिनको शालिक ढालेका थिए ।

को हुन् लेनिन 

इतिहास साक्षी छ, कुनै पनि महान् क्रान्तिकारी आन्दोलन वैज्ञानिक र क्रान्तिकारी संगठनात्मक सिद्धान्त र मूल्य मान्यताद्वारा निर्देशित संगठनविना सफल भएका छैनन् । क्रान्तिकारी आन्दोलन र क्रान्तिकारी संगठन कुनै जड वस्तु नभएर निरन्तर गतिशील सजीव प्रक्रिया हुन् । 

हो, यही संगठनात्मक सिद्धान्तका प्रतिपादक हुन् लेनिन् । उनैले प्रतिपादन गरेको संगठनात्मक सिद्धान्तमा टेकेर नै विश्वभरिका कम्यूनिस्ट पार्टीहरू अगाडि बढेका छन् ।

सोभियत रुसको इतिहासमा त लेनिनको स्थान निकै विशेष छ नै विश्वभरिको राजनीतिमा पनि उनको स्थान महत्त्वपूर्ण छ । क्रान्तिको बाटोबाट रुसी जनतालाई सत्तामा पु¥याउन लेनिनकै अहम भूमिका रहेको छ ।
Lenin


२२ अप्रिल, १८७० मा रुसको सिंविस्र्क भन्ने स्थानमा लेनिनको जन्म भएको थियो । उनको वास्तविक नाम उल्यानोभ थियो । पछि उनी भ्लादिमिर इलिइच लेनिनका नामले विश्व प्रख्यात भए । उनका बुबा एक स्थानीय विद्यालयका निरीक्षक थिए । ग्र्याजुएट भइसकेपछि पनि लेनिन सन् १८८७ मा कजान विश्वविद्यालयको विधि विभागमा पुनः भर्ना भएका थिए तर विद्यार्थीको क्रान्तिकारी प्रदर्शनमा भाग लिएका कारण उनलाई विश्वविद्यालयले निष्काशन गरेको थियो ।

सन् १८८९ मा उनले रुसमा माक्र्सवादी संगठन स्थापना गरेका थिए । केही समय उनले वकालत पनि गरे । पछि माक्र्सवादी नेता बनेपछि केही समय उनले जेलजीवन बिताए । उनका केही पुस्तक पनि प्रकाशित छन् ।

लेनिनले बोल्सेभिक पार्टीकी नेतृ क्रुप्सकायासँग विवाह गरेका थिए । सन् १८९५ मा लेनिनलाई बन्दीगृहमा हालियो र १८९७ मा तीन वर्षका लागि पूर्वी साइबेरियाको एक स्थानमा निर्वासित गरियो । निर्वासनमा रहँदा लेनिनले ३० वटा पुस्तकहरू लेखे, जसमध्ये एक थियो– ‘रूसमा पूँजीवादको विकास ।’ यसमा माक्र्सवादी सिद्धान्तहरूका आधारमा रूसको आर्थिक उन्नतिको विश्लेषणको प्रयत्न गरिएको छ । यही पुस्तकमार्फत् उनले आफ्नो मनमा रूसका निर्धन श्रमिक र सर्वहारा वर्गको मुक्तिका लागि आजीवन लाग्ने प्रण गरेका थिए ।

सन् १९०० मा निर्वासनबाट फर्किएपछि लेनिनले ‘इस्क्रा’ नामको एक पत्रिका प्रकाशन गरे । लेनिनले आफ्ना पुस्तक र अरू लेखहरूमा उल्लेख गरेका छन् कि क्रान्तिको नेतृत्व यस्ता अनुशासित दलका हातमा हुनुपर्छ, जसको मनमा क्रान्तिका लागि केही गर्ने हुटहुटी होस्, जो जनताको मुक्तिका लागि हृदयबाटै समर्पित होस्, जसले सर्वहारा वर्गको मुक्ति आफ्नो एक मात्र लक्ष्य बनाओस् ।

सन् १९०३ मा रूसी श्रमिकहरूको समाजवादी लोकतन्त्र दलको दोस्रो सम्मेलन भयो । यसमा लेनिन तथा उनका समर्थकहरूको अवसरवादी तत्त्वहरूसँग कडा बहस भयो । अन्तमा क्रान्तिकारी योजनाको प्रस्ताव बहुमतबाट पारित गरियो । यसपछि पार्टीमा विभाजन आयो । लेनिनको पार्टीको नाम बोल्सेभिक पार्टी र अर्को पार्टीको नाम मेन्सेभिक पार्टी रह्यो ।

माक्र्सवादी विचारक लेनिनको नेतृत्वमा सन् १९१७ मा रूसमा क्रान्ति भएको थियो । रूसी कम्युनिस्ट पार्टी (बोल्सेभिक पार्टी) का संस्थापकसमेत रहेका लेनिनको विचार आज विश्वभरिका कम्युनिष्टमाझ ‘लेनिनवाद’को नामबाट स्थापित छ ।

त्यतिबेला मानिसहरू दोस्रो विश्वयुद्धले गर्दा निकै चिन्तित र आक्रोशित अनि त्रसित थिए । त्यसै कारण वोल्सेभिक पार्टीका मानिसहरू सरकारको विरोधमा लागे । विस्तारै वोल्सेभिकहरूले सरकारी कार्यालयमा कब्जा जमाउन थाले । उनीहरू झन् पछि झन् बलिया र सशक्त हुँदै गए । यो त्यही रुसी क्रान्ति थियो, जसले वोल्सेभिकहरूलाई सत्तामा पु¥यायो । यसको नेतृत्व उनै लेनिनले गरेका थिए ।

सर्वहाराको अधिनायकत्वले नै साँचो अर्थमा जनताका लागि सच्चा लोकतन्त्रको काम गर्ने लेनिनको मान्यता थियो । लेनिनको विश्वास थियो कि कुनै पनि काम गर्दा दबब दिएर वा बल प्रयोग गरेरभन्दा धेरै संगठन निर्माण गरेर र संगठित मानिसहरूलाई नयाँ विचारले प्रशिक्षित गरेर मात्र सर्वहारा वर्गको अधिनायकत्व संभव हुनेछ ।

बाहिरी देशका सेनाहरूले हस्तक्षेप गरेपछि रुसमा सुरु भएको गृहयुद्ध तीन वर्षसम्म रह्यो । सन् १९२८ देखि १९३० सम्म लेनिनले विदेशी आक्रमणकारी र प्रतिक्रान्तिकारीसँगको लडाइँमा दृढतापूर्वक सोभियत जनताको नेतृत्व गरेका थिए । उनकै पहलमा सन् १९२२ मा सोभियत संघको स्थापना भएको थियो ।

लेनिन इतिहासका सबैभन्दा महान् कम्युनिष्ट क्रान्तिकारीमध्ये एक थिए । २१ जनवरी, १९२४ मा मस्तिष्कघातका कारण ५४ वर्षको अल्पायुमै उनको निधन भए पनि लेनिन करोडौँ जनका मनमा हजारौँ वर्षसम्म जीवित रहनेछन् ।

विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको योगदान

प्रथम विश्वयुद्धको समयमा लेनिनको नेतृत्वमा रूसी साम्यवादीहरूले सर्वहारा वर्गको अन्तर्राष्ट्रियताको समर्थन र साम्राज्यवादको विरोधमा विश्वयुद्धको विरोध गरेका थिए । रुसमा क्रान्तिको नेतृत्व गर्दै विश्वयुद्धको विरोध गर्दै गर्दा उनले माक्र्सवादको दार्शनिक विचारधारालाई अघि बढाउने प्रयत्न गरे। उनले आफ्नो पुस्तक ‘साम्राज्यवाद’ ९१९१६०मा साम्राज्यवादको विश्लेषण गर्दै साम्राज्यवाद पूँजीवादी विकासको चरम र आखिरी अवस्थामा रहेको उल्लेख गरेका थिए । साम्राज्यवाद र पुँजीवादबाट निराश भएकालाई उनको यो कुराले उत्साहित गरेको थियो ।


सन् १७८१ को पेरिस कम्युनपछि पश्चिमी युरोपमा कुनै क्रान्तिकारी विस्फोट भएको थिएन । रुसमा भएको सन् १९१७ को अक्टोवर क्रान्ति नै त्यस्तो क्रान्तिकारी विस्फोट थियो, जसले लेनिनको नेतृत्वमा विश्वलाई नयाँ युगमा प्रवेश गराएको थियो । लेनिन त्यस्ता क्रान्तिकारी नेता थिए, जसले छरिएका माक्र्सवादीहरूलाई एकै ठाउँ ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यद्यपि, लेनिनलाई यो काममा पूरै सफलता भने हात परेन । अवसरवादी र अर्थवादीहरूले लेनिनको यो सपना पूरा हुनबाट रोकिरहेका थिए ।

७ नोभेम्बर, १९१७ मा लेनिनको अध्यक्षतामा सोभियत सरकारको स्थापना भएको थियो । प्रारंभबाटै सोभियत शासनले शान्ति स्थापनामा निकै महत्त्वपूर्ण योगदान दिन सुरु ग¥यो । जर्मनीसँग मिलेर लेनिनले जमिन्दारहरूको भूमि खोसेर सबै सम्पत्तिमा राष्ट्रको स्वामित्व स्थापित गरेका थिए । व्यवसायहरू तथा कारखानाहरूमा श्रमिकहरूको नियन्त्रण कायम गरिएको थियो र बैंकहरू तथा परिवहन साधनहरूको राष्ट्रियकरण गरिएको थियो ।

लेनिनले सोभियत रुसको नेतृत्व आफ्नो हातमा लिएपछि श्रमिकहरू तथा कुनानहरूलाई पुँजीपति र जमिन्दारहरूबाट छुटकारा मिलेको थियो । समस्त देशवासीहरूमा पूर्ण समानता लागू भएको थियो । नवस्थापित सोभियत प्रजातन्त्रको रक्षाका लागि रातो सेनाको निर्माणसमेत गरिएको थियो ।

लेनिनले सोभियत शासनको विदेश नीति यस्तो बनाएका थिए कि कुनै पनि युद्धमा देशवासीलाई बलिको बोको हुन दिइनेछैन । सबै प्रकारका लडाइँ र दुश्मनहरूको अन्त्य गरिनेछ । सोभियत रुसका जनताले देशलाई साम्यवादमा लैजाने अन्तिम कोसिसमा लेनिनको साथ दिएका थिए । साम्यवादका शत्रुहरूबाट देशलाई बचाउन लेनिनले प्रतिरक्षा व्यवस्थालाई सुदृढ गराउन खोजेका थिए । रुसका तत्कालीन मजदुर र गरिब जनताहरू लेनिनलाई आफ्नो अन्नदाता र भगवानको रूपमा सम्मान पनि गर्थे ।

कहाँ-कहाँ छन् लेनिनका शालिकहरू 

सन् २०१७ मा रुसमा सम्पन्न सोभियत क्रान्तिका नायक लेनिनको शालिक अन्य पाँच देशमा पनि बनाइएका छन् । अमेरिकाको सियाटल राज्यमा सन् १९९० मा लेनिनको शालिक बनाइएको थियो । लुई कारपेन्टर नामका एक अंग्रेजी शिक्षकले स्लोभाकियाबाट अमेरिकासम्म यो शालिक पु¥याउनका लागि आफ्नो घर धरौटी राखेका थिए ।


त्यसैगरी सोभियत वैज्ञानिकहरूले अमेरिकाको दक्षिणी ध्रुवमा एमण्डसन स्टेशन निर्माणको बदलामा सन् १९५८ को डिसेम्बर महिनामा अन्टार्कटिकाको सबैभन्दा टाढा पोल अफ इनएक्सेसिबिलिटीमा एक शोध केन्द्र स्थापना गरेका थिए । शोध सुरु गर्नु दुई हप्ताअघि यस केन्द्रको छतमा प्लाष्टिकबाट बनेको लेनिनको शालिक स्थापना गरेका थिए । अहिले यस ठाउँमा लेनिनको शालिकबाहेक सिंगो शोध केन्द्र हिउँले पुरिएको छ ।

दोस्रो विश्वयुद्धताका ब्रिटेन र सोभियत संघ नाजी जर्मनीको विरुद्धमा उभिएका थिए । त्यही समयमा ब्रिटेनका लेनिन समर्थकले लण्डनको फिन्सबरी काउन्सिलमा सम्मान स्वरूप लेनिनको शालिक स्थापना गरेका थिए । रुसीमूलका वास्तुकार बर्थोल्ड लुबेत्किनले लेनिनको उक्त शालिक बनाएका थिए ।

लेनिन आफ्नो लण्डन बसाइको सिलसिलामा होल्फोर्ड चोकको नजिकै बस्ने गरेका कारण यो शालिक सोही चोकमा स्थापित गरिएको थियो तर पछि केही विरोधीहरूले उनको शालिक तोडफोड गर्न थालेपछि यसलाई इस्लिंग्टन संग्रहालयमा सारिएको थियो ।

त्यसैगरी सोभियतका विरोधीले तोडफोड गर्न नसकुन् भन्ने उद्देश्यले लेनिनको एक शालिक युक्रेनको तारहनकुटमा स्थापना गरिएको थियो । अहिले क्रिमियाको तारहनकुटमा रहेको पानीभित्र बनाइएको एक संंग्रहालयमा सोभियत संघसँग सम्बन्धित केही अरू नेताका स्मारकहरूसँगै लेनिनको उक्त स्मारक पनि सुरक्षित राखिएको छ ।

इटलीको कावरियागोमा पनि लेनिनको एक शालिक स्थापित छ । सन् १९१८ मा यो शहरमा रहेका कन्जरभेटिभ र बोल्सेभिकबीच कडा बहस छेडिएको थियो । उक्त बहसमा पछि कन्जरभेटिभले नै जिते ।

र अन्त्यमा,

लेनिन विश्व सर्वहाराका एक नायक हुन् । विश्वभरिका गरिव र सर्वहाराहरू लेनिनको नाम श्रद्धाका साथ उच्चारण गर्दछन् । गत हप्ता धर्मनिरपेक्षता र समानताका प्रतिमूर्ति तिनै लेनिनको शालिक हाम्रो छिमेकी देश भारतको त्रिपुरा राज्यमा डोजर लगाएर ढालिएको छ । 

यस घटनाले संसारभरका कम्युनिस्टहरूलाई के सन्देश दिएको छ भने अझै पनि संसारमा त्यस्ता आततायीहरू छन्, जो जबर्जस्त मानिसहरूका आस्थामा प्रतिबन्ध लगाउन चाहन्छन् । ती आततायीहरूले के कुरामा ख्याल राख्नुपर्छ भने एउटा शालिक त ढाल्न सकिएला तर करोडौँ मानिसमा रहेका उनको शालिक कसैले ढाल्न सक्दैन । आज विश्वका करोडौँ मानिसहरूको मन र मस्तिष्कमा लेनिनको त्यो शालिक बिराजमान छ, जो गरिव र सर्वहाराहरूको, दलित र महिलाहरूको, हेपिएका र चेपिएकाहरूको मुक्तिदाता पनि हो ।

सही विचार हुँदाहुँदै पनि आज विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक चरणमा छ । नेपालको हकमा पनि यही भइरहेको छ । नेपालमा भर्खरै वामपंथीहरूको सरकार बन्दै छ । माक्र्सवाद र लेनिनवादलाई आफ्नो पथप्रदर्शक सिद्धान्त मान्ने नेकपा एमाले र मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्ने माओवादी केन्द्र जस्ता दुई ठूला पार्टीबीच पार्टी एकता हुनै लागेको छ । 


यस्तो अवस्थामा नेपालका वामपन्थीहरूको काँधमा संसारलाई केही देखाउने त्यो अवसर आएको छ । संसारका सर्वहारा र कम्युनिस्टका लागि केही प्रेरणा बन्ने गरी काम गर्ने त्यो जिम्मेवारी आएको छ ।

यस्तो अवस्थामा छिमेकी देश भारतमा ढालिएको लेनिनको शालिक नेपालमा स्थापित गरी आफ्ना गुरुको सम्मान गर्ने त्यो हिम्मत के नेपालका वामपंथीहरूले देखाउन सक्लान्, यो विषयलाई सबैतिर चासोका साथ हेरिएको छ । लेनिनको शालिक ढालेर केहीले तुष्टि प्राप्त गरे पनि उनका विचारलाई मर्न नदिऔँ, कम्तीमा पनि नेपाली कम्युनिस्टहरूमा उनका आदर्श र मान्यता अनि विचारको सम्मान व्यवहारमै गरेर देखाउने उत्प्रेरणा प्राप्त होस् ।
२९ फाल्गुन २०७४, मंगलवार, ननस्टपखबर डट कमवाट

Friday, January 19, 2018

एउटा चित्रमय शुरुवात



त्यतिवेला म गुल्मीको एरिया सेक्रेटरीका रुपमा कार्यरत थिएँ । एकदिन पार्टीको कामकै शिलशिलामा पश्चिम गुल्मीको अर्खावाङ्ग जानुपर्ने भयो । त्यहाँ बिशेष क्षेत्रवाट स्कुलिङ्ग विभागमा कार्यरत ६ जना कमरेडहरु आउनुभएको रहेछ । रोल्पा, रुकुम, सल्यान, प्युठान, दांग, अर्घाखाँची, कपिलबस्तु र गुल्मी गरी आठ जिल्ला मिलाएर बिशेष क्षेत्र बनाइएको थियो ।  आधार इलाका र प्रचार इलाकालाई मिलाएर बनाइएको बिशेष क्षेत्रमा कार्यकर्ताहरुको राजनैतिक र बैचारिक स्तर बृद्धिका लागि सो क्षेत्रको राजनैतिक व्यूरोले प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । सोही योजना अनुसार हामीलाई प्रशिक्षण दिनका लागि कामरेड विश्वास लगायतको क्षेत्रिय स्कुलिंग टिम गुल्मी आइपुगेको थियो । 

टिममा सल्यानका क.तिलक मल्ल क्षितिजको नेतृत्वमा प्युठानका क.वादलसिंह, दाङ्गका क.विश्वास, रुकुमका क.मुस्कान, रुकुमकै क.सौभाग्य र गुल्मीका क.मनोज गरी छ जना थिए । उहाँहरु खाना खान जान लाग्दा मैले सरसर्ती त्यो टोलीलाइ हेरेँ । मलाइ क. विश्वाससँग खास रुची लागिरहेको थियो । विश्वास भन्ने नामले मलाइ आकर्षित गरिरहेको थियो । 

त्यहाँ चिनाजानी गर्ने समय मिलेन । जिल्ला सेक्रेटरी सुदर्शन बराल उर्फ कुमार दाइसँग पुर्वी क्षेत्रको स्कुलिङ्ग कार्यक्रमको तयारीको लागि केही सल्लाह गरेर म फर्किएँ । पुर्वी क्षेत्रको स्कुलिङ्ग कार्यक्रम हँसरा गाविसको भण्डारवनमा हुनेभयो । 
हामी एकहप्ते कार्यक्रमको तयारीमा लागेका थियौं । स्कुलिङ्ग विभागका कमरेडहरुलाइ मैले नै रिसिभ गरेर भण्डारवन पुर्याउनुपर्ने भयो । म खैरेनी वजारमा उहाँहरुलाइ पर्खिएर बसेँ । खैरेनी वजारमा रहेको झोलुंगे पुलको मुखैनेर एउटा पिसिओ थियो । क.विश्वासले त्यहाँ कसैलाइ फोन गर्दै हुनुहुन्थ्यो । क्षितिज दाइ पुलनेर यताउता टहलिरहनु भएको थियो ।

हेल्लो कमरेड लालसलाम । म आस्था, तपाईहरुलाइ लिन आएकी....... । म सरासर अगाडि बढेर क्षिंतिजदाइसँग हात मिलाउन खोजेँ । तर क्षितिज दाइ अकमकिनुभयो । उहाँ अलमल पर्नुभयो म सँग हात मिलाउन मान्नुभएन । उहाँलाइ के लागेछ भने म दुश्मनको कुनै एजेन्ट थिएँ र सिआइडि गर्दै त्यहाँ आइपुगेकी थिएँ । मैले विस्तारमै आफ्नो वारेमा बताएपछि मात्र उहाँहरु कन्भिन्स हुनुभएको थियो ।इन्चार्ज पारशमणी दाइ त्यहीँ खैरेनी वजारमै हुनुहुन्थ्यो । मैले टिमसँग भेट गराइदिएँ । 

स्कुलिङ्ग टिम भोकाइरहेको रहेछ । छिटै हिँड्नुपर्ने बाध्यता पनि छदै थियो । म टिमको लागि एकएकवटा समोसा लिन गएँ । आउँदा उनिहरु हिँडिसकेका रहेछन् । म पनि हातमा समोसाको पोको वोकेरै उकालो लागेँ । मसँग लिम्घा घरभएका एकजना सुरेश नाम गरेका कमरेड थिए ।

भण्डारवन पुग्न करिव ४ घन्टा जति उकालो हिँड्नुपथर््यो । म पुग्दा टोलीले खाना खाँदै थियो । विपना मेश कमाण्डर थिइन् । उनैले स्कुलिङ्गको टिमलाइ खाना खुवाउँदै थिइन् । वाटोमा भोक लागेपनि हातमा भएको समोसा खान मन लागिरहेको थिएन । म स्कुलिङ्ग विभागको एकजना सदस्य कमरेड विश्वासको वारेमा सोचिरहेकी थिएँ । एक्लै खान मन लागेन । कमरेडहरुले के सोच्लान भन्ने लाग्यो । ४ घन्टाको उकालो वाटो कमरेड सुरेशसँग खासै नवोलेरै चढेकी थिएँ मैले । मेरो मनभरी कमरेड विश्वासको अनुहार नाचिरहेको थियो । 

वेलुकी कमरेड विश्वाससँग केही कुरा गर्न मन लागिरहेको थियो । तर हाम्रो विचमा कुनै वोलचाल भइरहेको थिएन । यो शिलशिला उनले शुरु गरुन भन्ने म चाहन्थेँ तर उनले मलाइ वेवास्ता गरिरहेका थिए । भैगो, मैले आफ्नो मन भित्रको वोल्ने रहर मारिदिएँ । भोलीदेखी स्कुलिङ्ग कार्यक्रम शुरु हुनेवाला थियो । साथीहरु सवैतिरवाट आउने क्रम जारी थियो । हामी व्यवस्थापनमा खटिइरहेका थियौं । बिशेष क्षेत्रवाट आएको टिमले स्कुलिङ्ग दिनेवाला थियो । धेरै कुराहरु सिक्न पाइने कुराले मन यसैयसै रोमाञ्चित थियो । राती सुत्नु अगाडि फेरी कमरेड विश्वासको अनुहार मेरो मानसपटलमा नाच्न लाग्यो । बल गरेर म त्यो अनुहारलाइ वेवास्ता गर्दै निदाएँ । 

अर्को दिन निर्धारित समयमै स्कुलिङ्ग कार्यक्रम शुरु भयो । पहिलो दिन विश्वासको क्लास थिएन । अरुले आआफ्ना क्लास दिए । भोलीपल्ट मात्र विश्वासको पालो आयो । उनले आफ्नो मृदुल मुस्कानका साथ सेतो वोर्डमा कालो रंगको मार्कर पेनले लेखे– ‘शैन्यविज्ञान’ ।उनका अक्षर एकदमै चम्किला, उज्याला र मिलेका थिए । असाध्यै सुन्दर अक्षर लेख्ने उनको प्रस्तुती पनि निकै राम्रो थियो । म हेरेको हेर्यै भएकी थिएँ । दिउँसो चिया खाने समयमा म हत्त न पत्त विश्वास र मनोजको टिममा मिसिँए । विश्वास हल्का मुस्कुराए, मैले पनि मुस्कुराएरै उनको जवाफ दिएँ । 

मैले तिनवटा गिलास सफा गरेर ल्याएँ । पालैपालो तिनवटा चिया ल्याएँ र हामी तिनजनाले कुरा गर्दै चिया पियौं । मैले नै ति गिलास लगेर सफा गरेँ । जवकी म यसरी अगाडि सरेर कसैका गिलास वा थाल माझ्ने मध्येकी केटी थिइन । यसैपनि त्यो समयमा सवैले आआफ्ना भाँडा आफै माझ्ने चलन थियो । म विस्तारै विश्वाससँग आकर्षित हुँदै गइरहेकी थिएँ । तर यो कस्तो प्रकारको आकर्षण थियो । ठम्याइसकेकी थिइन । 

मलाइ उनकै वारेमा सोचेर बसिरहन मन लाग्थ्यो । उनलाइ आफूतिर आकर्षित गर्न मन लाग्थ्यो । उनि मसँग गफिइरहुन भन्ने लागिरहेको थियो । यहाँसम्मकी कार्यक्रम चलिरहेको वेलामा उनले मलाइ मात्र प्रश्न सोधिरहुन, अरु कोहीसँग नबोलुन जस्तो पनि मलाइ लागिरहेको थियो । यस्तो त कसैको वारेमा भएको थिएन । 

स्कुलिङ्ग चलिरहेकै वेला एकदिन विश्वासले एउटा दस्तावेज देखाए र भने सकेसम्म यो सवैले सारेरै राख्ने कोशिष गर्नुहोला । यो धेरै राम्रो दस्तावेज हो । 

मैले त्यो दस्तावेज मागेँ र रातभर लगाएर डायरीमा सारेँ   । एक्लै सार्न सकिन्न कि भनेर मैले अरु तिनवटी जतिलाइ पनि एक एक पाना सारिदिन लगाएँ । भोलीपल्ट विहानै विश्वासलाइ लगेर वुझाइदिएँ । एकीना हाम्रो एरियाकी सेक्रेटरी थिइन् । उनले विश्वासको वारेमा कुरा गरिरहन्थिन् । विश्वास र एकीना गफिइरहेका देखिन्थे । त्यस्तो देख्दा मलाइ डाहा जस्तो लागेर आउँथ्यो । अन्ततः स्कुलिङ्ग कार्यक्रम समापनको दिन आयो । मलाइ औडाहा भएर आयो । अव कार्यक्रम सकिएपछि विश्वास पनि फर्किएर जानेछन् । हाम्रो भेट फेरी हुन पनि सक्थ्यो र नहुन पनि । चिठ्ठी लेख्नका लागि हामीसँग एकअर्काको ठेगाना पनि थिएन ।  

विश्वासहरु जुन घरमा बसिरहेका थिए, त्यो घरको अगाडि सयपत्री फुल फुलिरहेका थिए । मैले विदाइको लागि माला तयार पार्नुपर्ने जिम्मा पाएकी थिएँ । फुल टिप्दै गर्दा मैले विश्वास आएर मसँगै फुल टिपिरहेको, हाँसेको कुरा गरेको कल्पना गरेँ । विश्वास त्यो घरभित्र बसिरहेका थिए । म वाहिर आफैसँग आन्दोलित भइरहेकी थिएँ । खासमा मैले उनलाइ एकतर्फी प्रेम जस्तो केही गरिरहेकी थिएँ । फुल टिपेर सकियो तर उनि घरवाट वाहिर निस्किएनन् । मेरो मुटु जोडजोडले हल्लिरहेको थियो । मेरो मुटुजस्तै वरपरका रुखबिरुवाहरु हावाको झोक्कासँगै हल्लिरहेका थिए । मलाइ चिच्याएर उनलाइ वोलाउन मन लागिरहेको थियो । कमरेड विश्वास म तिमीलाइ मायाँ गर्छु । मलाइ सारा दुनियाको अगाडि यस्तै भन्न मन लागिरहेको थियो । उनलाइ अंगालोमा कस्न मन लागिरहेको थियो । 

नैतिकताको कुन्नि कुन वन्धनले हो म अगाडि बढ्न सकिन । मेरा नौ नाडी गलेर आए ।जीवनमा आफूले मन पराएको मान्छे आज टाढा जाँदैछ । म उसलाइ रोक्न सकिरहेकी छैन । मैले उसलाइ मन पराउँछु भनेर पनि भन्न सकिरहेकी छैन । कस्तो विरोधाभास । त्यो वेलाको विरोधाभासपूर्ण अवस्था र मेरो विक्षिप्त मानसिकता सम्झिएर म आज पनि भावुक हुन्छु । संवेदनाको तरलतामा तैरिएर जव त्यो विगत सम्झिन्छु मन यसै यसै कुँडिएर आउँछ । मैले डोकोभरी फुल टिपेर सकेकी थिएँ । उ सँग मनभरीको एक नजर जुधाउनु थियो, मिलेन । म उसको नजिकै पुगेर पनि उसलाइ नदेखि फर्किएर आउनुपर्यो आएँ । 

मैले ६ वटा माला तयार पारेँ । मनमनै एउटा संकल्प जस्तो के गरेँ भने यदी मैले गरेको प्रेम चोखो प्रेम हो भने मैले उनेको यो सवैभन्दा राम्रो र केही लामो माला विश्वासको गलामा परोस । नभन्दै त्यो त्यस्तै भयो । त्यो माला विश्वासको गलामै पर्यो । मेरो खुशीको सीमा नै रहेन । कार्यक्रम सकियो । उनिहरु फर्किने भए । म पनि केही तल खैरेनी वजारसम्म सँगै आएँ । वाटोमा हामीले केही कुरा गर्यौं । मैले कुरैकुरामा फ्याट्ट सोधेँ–दाङ्ग कस्तो छ हँ ।

जाने हो र दाङ्ग, उसले पनि फ्याट्ट प्रतिप्रश्न गर्यो । कतै मेरो मनको कुरो उसले वुझेछ कि भनेर लाज र शरमले म  झुकेकी थिएँ । विश्वासका सवै परिवार पार्टीमा लागेका रहेछन् । भाइ वेपत्ता रहेछन् । एउटी बहिनी गण्डक क्षेत्रको तनहुँ, अर्की बहिनी जनमुक्ति सेनामा र दिदी प्युठान जिल्ला पार्टीमा काम गर्दा रहेछन् । यो कुरा थाहा पाएर मलाइ उसको झनै मायाँ लागेर आयो । 

हामी खैरेनी वजारमा आइपुग््यौं । विश्वाससँग यहीँवाट छुट्नु थियो । मलाइ मुटु चुँडिन लागेजस्तो भएको थियो । उनले झोला वोकेर लमकलमक आफ्ना पाइला अगाडि बढाए । म हेरिरहेँ । न आइ लभ यु विश्वास भन्न सकेँ । न उनको ठेगाना नै सोध्न सकेँ । न हात समातेर नजाउ नै  भन्न सकेँ । बश हात मिलाएर उनि गएको हेरिरहेँ । 

एकछिनको लागि म मुर्तिवत उभिइरहेँ । वोल्नै सकिन । के गर्ने कसो गर्ने सोच्नै सकिन । मैले जीवनमै पहिलोपटक प्रेमको अनुभुति गर्दै थिएँ । तर जस्लाइ प्रेम गरेकी थिएँ, उ मसँग पर ...पर... गइरहेको थियो । मेरो मुटु रोकिएला जस्तो भएको थियो । एउटा रोमाञ्चक अनुभुति गर्न नपाउँदै विछोडको तिक्तता भोग्नुपरिरहेको थियो । 
युद्ध चरम अवस्थामा थियो । संकटकालका नारकिय दिनमा थियौं हामी  । के थाहा यो भेट अन्तिम भेट हुनपनि सक्थ्यो । उनिहरु कहाँ जाने हुन मलाइ केही पनि थाहा थिएन । बशः एउटै कुरा थाहा थियो कि म उसको प्रेममा परेकी थिएँ । यो कस्तो विडम्वना । जीवनमा मेरो लागि कति प्रेम प्रस्तावहरु आए ।कतिले प्रेम पत्र पठाए । मैले तिनलाइ कहिल्यै गम्भिर रुपमा लिइन । कसैको प्रेम प्रस्तावलाइ यस वा नो भनेर जवाफ दिन समेत आवश्यक ठानिन तर आज म यस्तो मान्छेको प्रेममा पागल भइरहेकी थिएँ जस्को वारेमा मलाइ केही पनि थाहा थिएन । उसको पृष्ठभुमि, उसको घरपरिवार वा उसको गन्तव्य । बस, म उसलाइ एकतर्फी प्रेम गरिरहेकी थिएँ ।

म खैरेनीको बिच बजारमा उभिरहेकी थिएँ । उ गएको वाटोतिरै हेरेर....। उसले छाडेका पदचापहरु पछ्याउँदै कुदेर उसलाइ भेटाउन मन लागिरहेको थियो । उसको हात समातेर उसलाइ फर्काउन र आफुसँगै राख्न मन लागिरहेको थियो । तर उ त ओझेल परिसकेको थियो ।


आँखाभरी आँशु लिएर म वाटोमा अलपत्र उभिइरहेकी थिएँ । क.सामना आएर मलाइ वोलाइन् । म झसँग भएँ । मेरा साथीहरु नजिकैको सेल्टरमा झोला विसाएर बजार तिर निस्किने तयारीमा थिए । मलाइ भने उसलाइ सम्झिएर रुन मन लागिरहेको थियो । नुहाउने निहुँ बनाएर पानीको धारो भएको ठाँउमा गएँ र कपडैसँग पानीमा थापिएँ । आखाँवाट आँशु बरबर खसिरहेका थिए । मुखवाट हिक्क हिक्क आवाज आउन थालेको थियो । धन्न म त्यहाँ एक्लै थिएँ । 

म मन लागेजति रोएँ, एकछिन पछि उठेँ र यसरी आफ्नो मन बुझाएँ । त्यो कुनै प्रेम थिएन, केवल एउटा सामान्य आकर्षण थियो । विपरितलिङ्गी प्रतिको स्वाभाविक आकर्षण । म एउटा महान उदेश्य लिएर क्रान्तिमा होमिएकी मान्छे । यस्ता झिना मसिना कुरामा अल्झिनु हुँदैन । यस्तै सोचेर म उठेकी थिएँ । प्रशस्त रोएकी पनि थिएँ । त्यसैले मन हल्का भएको थियो ।

खैरेनी वजारमा हाम्रो आउने जाने चलिरहन्थ्यो । प्रहरी चौकी उठिसकेका थिए । कहिलेकाँही गस्तीमा आउनुको अलावा सेना यता आउने हिम्मत गर्दैनथ्यो । त्यसरात त्यतै वसेर भोलीपल्ट आफ्नो एरिया अर्थात लुम्पेकतिर जाने योजना बनाएर हामी त्यसरात खैरेनीमै बास बस्यौं । तर विहानै अर्कै खवर आइपुग्यो ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले जिल्लाका अगुवा महिला कार्यकर्ताको लागि प्रशिक्षण भेला आयोजना गरेको थियो । सोही भेलामा सहभागी हुनका लागि छापहिले गाविसमा आउनु भन्ने खवर एकाविहानै आइपुग्यो । वाटोमा इन्द्रेगौंडा नाका क्रस गर्नुपर्दथ्यो । त्यहाँ आर्मीले व्यारेक नै खडा गरेर बसेको थियो । त्यसपछि तम्घास नजिकै पर्ने हुनाले मुसिकोट नाका पनि उत्तिकै खतरनाक थियो । रातारात नाका काट्नु कम जोखिमपुर्ण मानिन्थ्यो । तिनताका प्रायःजसो लामो यात्रा रातीमा नै गरिन्थ्यो । 

हामी रातभर हिँडेर भोलीपल्ट विहान छापहिलेमा रहेको कार्यक्रमस्थल पुग्यौं । त्यहाँ पुग्दा खाना खाने वेला भइरहेको थियो । कमरेड विश्वासले खाना खाएर थाल माझ्दै थिए । उनलाइ देख्न वित्तिकै मनको अन्तरकुन्तरमा कतै थन्काएको प्रेमिल भावना फेरी तरंिगत हुन थालेको थियो । मैले टाढै पुगिसकेहोलान भनेका स्कुलिङ्ग विभागका सवैजना त्यहीँ थिए । आज यतै वसेर भोली जाने उनिहरुको योजना रहेछ ।

एउटा गोठको भित्तोमा छेलिएर मैले विश्वासलाइ मनभरी हेँरे । पातलो शरीर, गहुँगोरो अनुहार, ओँठमा हर्दम नाचिरहने एउटा चिरपरिचत मुस्कान, आँखामा चश्मा, न अग्लो न होँचो ठिक्कको उचाइ, लरक्क कोरिएको वाल, घ्यु कलरको भुँइमा कतै कतै सुन्तला र कतै कालो कलरका धर्का भएको ज्याकेट । उ उस्तै थियो जस्तो अवस्थामा मैले बिदाइ गरेकी थिएँ । 

धेरैजसो कमरेडहरुले मसँग लालसलाम भन्दै हात मिलाउन आए । म चाहन्थेँ उ पनि मलाइ वोलाउँदै, परैवाट हात हल्लाउँदै आओस र दरिला हात चपक्क समातेर लालसलाम कमरेड आस्था भनोस भनेर म चुपचाप पर्खिरहेकी थिएँ । तर उ मसँग नवोलेरै हिँडिदियो, देखेको नदेख्यै गरेर । म फेरी पनि हेरेको हेर्यै भएँ । म पो उसलाइ मन पराउँछु त, उसले मलाइ मैले जस्तो नजरले हेरेकै छैन । धत पागल केटी । मैले आफूलाइ आफैले सम्भmाएँ । 

खाना खाएपछि कार्यक्रम शुरु भयो । महिला संगठनको जिल्ला कमिटी सचिव हुनुको हैसिएतले म कार्यक्रम सञ्चालक थिएँ । स्कुलिङ्ग विभागका सवैजना अतिथि बनाइएका थिए । विश्वास पनि मञ्चमा अतिथि भएर बसेकोमा मलाइ लाज जस्तो लागिरहेको थियो । जसोतसो त्यो दिनको कार्यक्रम सकियो । महिला संगठनकी नेता बिमला केसी, र अर्की एकजना केन्द्रिय सदस्य सुनिता शाही र जिल्ला इन्चार्ज पारशमणीले प्रशिक्षण दिए । 

भोलीपल्ट ८ बजेदेखि कार्यक्रम शुरु गर्नुपर्ने थियो । पुसको चिसो स्याँठ चलिरहेको थियो । घरका छत र कान्लाका डिल सवैतिर तुषारो परेर सेताम्य भएको थियो । पारि पाखाका टुप्पाहरुमा विहानी घामका सुनौला किरणहरु पोतिएका थिए । आरुका गर्भिणी वोटमा गुलावी फूल फुल्न लागेका थिए । मेशमा चिया पाकिरहेको थियो । आगो ताप्दै चिया पिईरहेकी मलाइ मनोज दाइ वोलाउन आए । गुल्मीको सिर्सेनी घरभएका मनोज दाइ स्कुलिङ्ग विभागका सदस्य थिए र विश्वासका मिल्ने साथी थिए । 

म झसँग भएँ । कसले पो वोलाउन पठाएको होला, यसो मनमा गमेर हेरेँ । विश्वासले त होइन ? मनमा एक खाले रोमाञ्चकताले जिउ सिरिङ्ग गर्यो । होइन होला, आफैलाइ थुमथुम्याएँ । क्षितिज दाइले वोलाउन लगाए होलान । क्षितिज दाईले मसँग के के कुरा गरिरहनुहुन्थ्यो । एक हप्ते स्कुलिङ्ग कार्यक्रममा पनि क्षितिज दाईले मलाई घरी घरी उठाउँदै प्रश्न सोध्दै गर्नुहुन्थ्यो । आज पनि पक्का क्षितिज दाईले नै बोलाउनुभएको होला भन्ने सोच्दै म मनोज दाइको पछि पछि गएँ । भित्र कतै अवचेतन मनमा भने मेरो मनको राजकुमार विश्वासले नै वोलाउन पठाएको भएपनि हुन्थ्यो । त्यस्तो भयो भने कति जाति हुन्थ्यो । त्यस्तै होस भन्दै मनमनै पुकारा गर्दै म नवोलिकन मनोज दाईको पछि पछि हिँडिरहेकी थिएँ । 

एउटा घरको पिँढीमा ठड्याईएको हरियो भर्याङ्गवाट हामी माथिल्लो तलामा उक्लियौं । मनोज दाइले मलाइ एउटा साघुँरो कोठामा लिएर जानुभयो । त्यहाँ सिरकले छोपिएर त्यहीँ मानिस बसिरहेको थियो जसलाइ मैले मन पराएकी थिएँ  । जसको अनुपस्थितीमा जीवन फिका लाग्न थालेको थियो, त्यहीँ चश्मावाल पातलो मान्छे मेरो अगाडि बसेर मुस्कुराईरहेको थियो । म टुक्रुक्क घूँडा टेकेर उसको सामुन्नेमै बसेँ । 

एकअर्कालाइ हेरेर विश्वास र मनोज रहस्यमयी तरिुकाले मुस्काए । मलाइ त्यो मुस्कानको रहस्य थाहा भइहाल्यो । अव विश्वासले मलाइ प्रेम प्रस्ताव राख्दैछ भनेर मैले पहिल्यै अनुमान लगाएँ । विश्वास र म करिव १० मिनेट कुरा गरेर बस्यौं । उनले धेरै कुरा गरे ।आफूले मन पराएको मान्छेले यसरी एकान्तमा प्रेम प्रस्ताव राख्दा म अक्क न बक्क भएकी थिएँ । मनैमन त म खुशीले बुरुकबुरुक उफ्रिएकी थिएँ । औपचारिकताको लागि मैले सोच्नुपर्छ भनेर केही समय मागेँ ।

म खुरुर्र कुदेर कार्यक्रम हलमा पुँगे । एकातिर लाजले पानी पानी भएकी थिएँ । अर्कोतिर कस्तो मान्छे हो, पृष्ठभुमी कस्तो हो, घर कहाँ हो, भविष्यमा दुःख पाइने पो हो की भन्ने सोचेर गम्भिर भएकी थिएँ । कार्यक्रम शुरु हुन लाग्दै थियो । सवै हलमा आइसकेका थिए । म सञ्चालक नै गायव थिएँ । म हत्तपत्त माइक समातेर कार्यक्रम सञ्चालन गर्न लागेँ । वोली लटपट लटपट भइरहेको थियो । यस्तो महत्वपूर्ण कुरा कस्लाइ सुनाऔँ भइरहेको थियो । तर उपयुक्त पात्र भेटाइरहेकी थिइन । दाइलाइ खुव मिस गरेँ ।  दाइ त्यतिवेला सेनाको कम्पनी कमिसार भएर जिल्ला बाहिर जानुभएको थियो । 

सिर्जना भाउजु त्यहीँ थिइन् । उनि महिला सँगठनकी अध्यक्ष थिइन । उनि अलि कडा स्वाभावकी थिइन् । उनलाइ यस्तो कुरो सुनाउने हो भने उल्टै झपार्लिन भन्ने लाग्यो । अर्की भाउजु निशाना पनि त्यहीँ थिइन् । उनिसँग भावनात्मक कुरा पनि हुन्थे । मैले उनैलाइ विश्वासको कुरा सुनाएँ । निशाना भाउजुले प्रस्ताव स्वीकार गर्दा ठिकै हुन्छ भनेर सुझाव दिइन् । मलाइ अलि राहत भयो । खाना खाने वेलामा क्षितिज दाइले मलाइ एक घन्टा जति कन्भिन्स गरे । उनि विश्वासका आफ्नै भिनाजु रहेछन् । विश्वासले मलाइ फेरी वोलाउन लगाएर भने–हामी आजै हिँड्दैछौं । मलाइ एस अथवा नो चाहियो । तपाइले यतै बस्न भन्नुहुन्छ भने म एक हप्ता पनि यतै बस्न तयार छु । तर हाम्रो टिम आजै अर्घाखाँचीको लागि हिँड्दैछ । मलाई तपाईको जवाफ लिएर मात्र यहाँबाट हिँड्नु छ । 

मैले २ बर्ष पछि बिहे गर्ने शर्तमा प्रेम प्रस्ताव स्वीकार गरेँ । विश्वासले मेरो फोटो मागे, मैले दिएँ । उनको फोटो रहेनछ । उनले मेरो डायरीमा आफ्ना सुन्दर अक्षरले दाङ्गको ठेगाना टिपिदिए । खाना खाएपछि कार्यक्रम स्थगित भयो । सवैले मेरो प्रेम कहानी थाहा पाइसकेका थिए । १२ बजेतिर जिल्ला इन्चार्ज पारशमणी, सेक्रेटरी जितजंग, महिला नेताहरु विमला केसी, सुनिता दिदी, भाउजु सिर्जना, स्कुलिङ्ग टिमका सवैजना र म समेत वसेर हाम्रो विहे गराउने वारेमा छलफल भयो । 

सवैजनाले आजै यहीँ कार्यक्रममा बिहे गर्दा राम्रो हुन्छ भनेर आफ्नो विचार राखे । खासगरी जितजंग र क्षिंतिज दाइले आफ्नो बिहेको उदाहरण दिएरै कुरा राखे । प्रेम र विवाह भनेको एउटै कुरा हो । प्रेम गर्ने विवाहकै लागि हो । विवाह गरेपछि पनि प्रेम हुन्छ । लडाँइ एकदमै पेचिलो अवस्थामा छ । कतिखेर कहाँ मरिने हो थाहा छैन । छिटो विहे गर्दा सवैलाइ राम्रो हुन्छ भन्ने उनीहरुको बिचार थियो । विश्वासले आफ्नो अभिभावक भन्नु नै पार्टी रहेको र पार्टीको जे निर्णय गर्छ त्यो आफूलाइ मान्य भएको विचार  राखे । सिर्जना भाउजुले एक अर्काको वारेमा राम्रोसँग थाहा नभइकन विहे गर्न नहुने धारणा राखिन् । अन्तमा मेरो वोल्ने पालो आयो । मैले कम्तिमा २ बर्ष प्रेम गर्न पाउनुपर्ने यदि आजै विहे गर्न कर गर्ने हो भने यो प्रेममा यहीँ पूर्णबिराम लगाउने बिचार राखेँ । एक अर्कालाइ राम्रोसँग वुझेर मात्र विबाह गर्नु राम्रो हुने मेरो बुझाइ थियो । त्यो दिन बिहे नहुने भयो ।विश्वासहरु त्यै दिन अर्घाखाँची हुँदै कपिलवस्तुतिर गए । हामी पनि कार्यक्रम सकेर फिल्डमा फर्कियौं । 

त्यसको १५ महिनापछि जिल्ला इन्चार्ज बामदेव क्षेत्री बिकल्पले प्यूठान जिल्ला इन्चार्ज क. अजितसिंह र दाङ जिल्ला इन्चार्ज क. डायमण्डको नाममा लेखिदिएका दुई चिठी बोकेर म र रोल्पा घर भएकी साथी रेणुका गुल्मीवाट दाङ पुग्यौं । नेताहरु देव गुरुङ र नेत्र बिक्रम चन्द बिप्लवको उपस्थितीमा दाङको दाङवाङ भन्ने स्थानमा विश्वाससँग म जनवादी बिहे बनधनमा बाँधिए । देशमा भने त्यतिवेला जनआन्दोलन भाग २ को तयारी भइरहेको थियो । 

Wednesday, August 16, 2017

संस्मरणः जनसरकारमा हालेको उजुरी

हामीले गुल्मी जिल्लामा भर्खरै एउटा स्क्वायडको घोषणा गरेका थियौं । २०५७ सालमा भएको पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनले पार्टीमा सेना निर्माण गर्ने महत्वर्पूण निर्णय गरेको थियो। हाम्रो जिल्लाका नेता हिम्मत बराल मगर (कमरेड ध्रुव) राष्ट्रिय सम्मेलन पश्चात जनमुक्ति सेनाको तालमि प्राप्त गरी कम्पनी घोषणा कार्यक्रममा सहभागी भएर भर्खरै जिल्ला फर्किनुभएको थियो।

उहाँले हामीलाइ शैन्य तालिम गराउनु हुन्थ्यो । विहानै झिसमिसेमा उठेर हामी रनिङ्ग गथर््यौ । तालमा ताल मिलाउँदै कहिले जनसेना आयो, जनसेना आयो भन्दै दौडिरहेका हुन्थ्यौं । कहिले एकदुइएक, एकदुइएक, एकदुइएक भन्दै पाइलामा पाइला मिलाएर दौडिरहेका हुन्थ्यौं । यसोगर्दा हामी धेरै जना परेड खेलिरहेको आवाजले त्यो सुनौलो बिहानीमा एउटा अचम्मलाग्दो संगीत पैदागरिरहेको हुन्थ्यो।

यसरी दौडिदा श्वास बढ्थ्यो । मुटु जोडजोडले धड्किन्थ्यो । हामीलाइ दौडिन कठिन हुन्थ्यो । तैपनि हाम्रो कमाण्डरले हामीलाइ काशन गरिरहन्थे । हामी यो सिंगो धर्तीका मानव जातिको मुक्तिका लागि लडिरहेका छौं भन्दै हातमा थ्रिनट थ्रि बोकेका कमाण्डरले जव हामीलाई काशन गर्न थाल्थे, हामी सिपाहीहरु उत्साहले आकाशमा कावा खान थाल्थ्यौं। एउटा गर्विलो छाती वोकेर सवै अप्ठ्यारा कठिनाइलाइ सहज र स्वाभाविक रुपमा स्वीकार गथ्र्यांै ।

त्यतिवेला मलाई यस्तो लाग्थ्यो कि हामी धर्मशास्त्रहरुमा लेखिएका जस्तै इश्वरद्धारा धर्तीमा पठाइएका देवदुतहरु हौं। हामीले मात्र यो धर्तीमा रहेका सारा बेथिति, बिकृति र बिभेदको अन्त्य गर्न सक्छौं। सत्य र न्यायका लागि हामी जे पनि गर्न सक्छौं। कसैलाई मार्न परेपनि हामी हिचकिचाउँदैनौ। आफै मर्न परेपनि हामी पछि हट्नेछैनौ। किनकी हामी हिँडेको बाटो नै मानव मुक्तिको सर्वोत्तम बाटो हो। मानिसले मानिसमाथि गरिरहेको अन्याय, अत्याचार, बिभेद, शोषण, दमन र यहाँ लादिएका कुसंस्कार अन्त्यका लागि हामीले नगरे अरु कसैले गर्नेछैन। हामी कुनै पैशा कमाएर ऐश आरामको जिन्दगी बाँच्न होइन सिंगो मानव जातिको मुक्तिका लागि यो जीवनमरणको लडाइँमा होमिएका छौं। हाम्रा साथीहरु आज रातबिरात दुश्मनबाट मारिएका छन् ति मारिएका होइनन् ति त युगयुगसम्म बाँच्ने गरी अमर शहीद भएका हुन्। आबश्यक पर्यो भने हामी पनि शहीद हुन पछि हट्नु हुँदैन। 

कमाण्डरले काशन गरिरहँदा म यस्तै यस्तै सोचिरहेकी हुन्थेँ र यस्तो महान कार्यमा अलिकति पनि योगदान गर्न पाएकोमा आफूलाई संसारकै भाग्यमानी केटी सम्झिन्थेँ। मन गदगद भएर आउँथ्यो। त्यतिवेला म भर्खर १६ बर्षकी किशोरी थिएँ। अनेकथरी सपना देख्ने र सपना फुलाउने याम थियो त्यो।

रनिङ्ग पछि क्रलिङ्गको अभ्यास हुन्थ्यो । भिम खिच्ने, पिटी, परेड खेल्ने, बन्दुक पड्काउने, दुश्मनको घेरामा परे कसरी घेरा तोड्ने जस्ता अभ्यास पनि हुन्थे । कहिलेकाँही दुइवटा टिम वनाएर लडाँइको अभ्यास गरिन्थ्यो । एकथरी प्रहरी हुन्थे अर्कोथरी जनमुक्ति सेना हुन्थे । म पनि मन लगएर ति मध्येको एउटा टिममा सैन्य अभ्यास गरिरहेकी हुन्थेँ । 

हामी हरेक दिन यसरी नै सैन्य अभ्यास गथ्र्यौं । हिँड्दा पनि शैन्य फर्मेशनमै हिँड्थ्यौं । सवैभन्दा अगाडि एफजिएल हिँड्थ्यो । महत्वपूर्ण व्यक्ति ठिक बिचमा हुन्थ्यो । 

यसरी स्क्वायड गठन भएपछि पार्टीले दुइटा टिम बनाएर जिल्लाभरी मार्च पाश गर्ने योजना बनाएको थियो । त्यो मध्येको एउटा टिमकी सदस्य म पनि थिएँ । हाम्रो टिमको राजनितिक कमिसार पृथ्वी दाइ थिए । 

म मेरो दाइ युबराजकै प्रेरणाले माओबादी भएकी थिएँ । दाइले नै धेरै कुरा गरेर मलाई प्रशिक्षित गर्नुभएको थियो। निकै मिहिनेतका साथ उहाँले मलाइ पार्टीमा भुमिगत हुनको लागि प्रभावित पार्नुभएको थियो । 

मेरो आफ्नै दाजु आन्दोलनमासँगै भएको कारण पनि होला । म प्रायः दाइको स्तर र उमेरका व्यक्तिलाइ दाइ नै भन्थेँ । दाइकै नजरले हेँर्थे र उनिहरु पनि मलाइ बहिनीकै नजरले हेरुन भन्ने मेरो चाहना हुन्थ्यो । तर पार्टीका सवै दाइहरु इमान्दार नियतका थिएनन भन्ने मैले पछि थाहा पाएँ । क.पृथ्वीलाइ पनि म दाई भनेर सम्वोधन गर्थेँ । 

उनको एउटा नराम्रो बानी थियो। अरुलाई छोएर र धाप मारेर कुरा गर्ने उनको वानी मलाइ फिटिक्कै मन पर्दैनथ्यो । त्यसैले म प्रायः उनको नजिक पर्दैनथेँ। उनि मेरो नजिक आउने बहाना खोजिरहेका हुन्थे । मलाइ छोएर कुरा गर्ने र समय अनुकुल मिल्नासाथ मौकाको फाइदा उठाउन चुक्दैनथे । 

मार्चपाश अभियानमा म कमरेड पृथ्वीकै कमाण्डको टिममा परेँ । त्यसैले त्यो मार्चपाशको उद्घाटनको दिन म धेरै नै उदाश भइरहेकी थिएँ । यहाँसम्मकी म संगीता नाम गरेकी साथीसँग बसेर रोएकी थिएँ । यस्तो कुरा खासै शेयर गर्न पनि सकिँदैनथ्यो । मन नलागि नलागि म त्यो यात्रामा सहभागी भएँ ।

हिँड्दै जाँदा हामीले पार्टीको प्रचार र संघर्षका काम पनि गरिरहेका थियौं । गाँउमा कतै जुवा तास खेलेर बसेकाहरु भेटिए भने हामी कार्वाही गथ्यौंं । कहिलेकाँही ठाँउ ठाँउमा स साना भेला वोलाएर पार्टीका कुराहरु गर्ने, जनता जुटाएर माओवादी आन्दोलन जनताकै लागि भएको र यसमा जनता सवैले कुनै न कुनै रुपमा भाग लिनुपर्ने, जनबर्गिय संगठन निर्माण गर्नुपर्ने र त्यसको औचित्य किन भनेर सम्झाउँथ्यौं।

खाना खान हामी जनताको घरमा प्रायः दुइ देखि चारजना सम्म बाँडिन्थ्यौं। जनताको घरमा खाना खानुको उदेश्य तिनलाई माओवादी आन्दोलनबारे बुझाउनु, छलफलमा भाग लिन प्रेरित गर्नु र केही अस्पष्टताहरु भए स्पष्ट पार्नु हुन्थ्यो। गाउँमा बाँडिएर  खाना खाएपनि सुत्नेवेला प्रायः एउटै घरमा सुतिन्थ्यो । एउटै घरमा अटाउने भएन भने नजिकका दुइवटा घरमा सुत्ने मिलाइन्थ्यो । राती सेन्ट्री बस्नुपथ्र्यो । कहिले आधा घन्टा त कहिले एक घन्टा पालो पथ्र्यो ।

म झण्डै बलात्कारमा परेँ 

२०५८ साल असोजको महिना थियो । 

एक दिन एउटा घटना भयो । त्यस रात म सेन्ट्री बसेर फर्किएँ । पहिलो सेन्ट्रीको पालो प्रायः मेरै हुन्थ्यो। कहिले दुइजना बस्थ्यौं, कहिले एक्लै बस्नुर्पथ्यो। त्यसरात म एक्लै सेन्ट्री बस्नुपर्ने भयो। 

दुश्मन कुनैपनि वेला गाउँ पस्न सक्थ्यो। त्यतिवेला सेना परिचालन भइसकेको थिएन। गाउँका प्रहरी चौकीहरु उठिसकेका थिए। प्रहरी सदरमुकाममा सिमित भएको थियो। तैपनि बेला बेला गस्ती गर्न आइरहन्थ्यो। कतिवेला कसलाई गिरफ्तार गरेर लैजाने हो र बेपत्ता पार्ने हो भन्ने भय भइरहन्थ्यो। त्यसैले जुनसुकै वेला सुरक्षा सर्तकता अपनाउनका लागि हामी पालैपालो सेन्ट्री बस्ने गर्दथ्यौं। यो शैन्य फर्मेशनको एउटा सामान्य नियम थियो। 

एक घन्टा सेन्ट्री बसेपछि मेरो पालो सकियो। अर्को साथी मलाई पालो दिन आएपछि घडी,  बन्दुक र ग्रिनेड उहाँको जिम्मा लगाएर म सुत्ने कोठामा आएँ। चौडाइ भन्दा लम्बाइ दोव्वर भएको लामो कोठामा हामी सवै टिमको लागि ओच्छ्यान बनाइएको थियो । पुरुष कमरेडहरु एक लाइनमा र महिला कमरेडहरु पनि सोही लाइनमा सुत्ने मिलाइएको थियो । विचमा मुश्किलले एकहात जति ठाँउ खाली राखिएको थियो । त्यहाँ हाम्रा झोला र बन्दुकहरु तेर्सो पारेर वार बनाइएको थियो । 

पुरुष पट्टिीको लाइनको छेउमा उनै क.पृथ्वी सुतिरहेका थिए । महिला पट्टीकोमा छेउको ओच्छ्यान मेरो लागि खाली थियो । मलाइ यसरी एउटै कोठामा पुरुष कमरेडहरुसँग सुत्ने अभ्यास भैसकेको थिएन । अप्ठ्यारो लाग्यो । 

मैले घर छोडेर भुमिगत भएको ६ महिनाजति भएको थियो। बितेका दिनमा यसरी एउटै कोठामा पुरुष कमरेडहरु र महिला कामरेडहरु सुत्नुपरेको थिएन। अनिता दिदी, सिर्जना, बिपना, कल्पना, संगीता, कविता लगायतका हामी महिलाहरु प्रायजसो संगै हुन्थ्यौं। संगै हिँड्थ्यौं खान्थ्यौं र सुत्दा पनि संगै हुन्थ्यौं। आज नितान्त नौलो अनुभुति गर्दै थिएँ। केही डर, लाज र संकोचले म खुम्चिएकी थिएँ। समाज बदल्ने अभियानमा हिँडेका अभियात्रीहरुसँग डर या संकोच मान्नुपर्ने केही थिएन। अप्ठ्यारै लागेपनि रात विताउनु त छँदै थियो । प्रायः सवै कमरेडहरु निदाईसकेका थिए । फर्मेशनमा यस्तै त हुन्छ होला भन्ने लाग्यो । यस्ता कत्ति अप्ठेरालाइ पानीको घुट्कासँगै पिउनुपर्नेछ । आफ्नै दाईहरु त हुन् नि भन्ने सोच्दै म छेउको विस्तरामा गएर पल्टिएँ । दिनभरको हिँडाईले लखतरान थाकेकी म कतिवेला निदाएँ पत्तै भएन ।

मध्यरातमा मलाई लाग्यो । कसैले मेरो जिउ सुमसुम्याइरहेको छ। म डरले खंग्रंगै भएँ । जिउ काम्न थाल्यो । म कहाँ छु र यो के भइरहेको छ भनेर एकछिन मैले आफैलाइ अध्ययन गरेँ । मैले म जनमुक्ति सेनाको मार्च पाश अभियान अन्तर्गत एउटा गाँउमा सेल्टर लिइरहेको र आफ्ना कमरेडहरुसँगै एउटा कोठामा सुतिरहेकी छु भनेर सम्झिएँ । 

झल्याँस्स याद आयो । पृथ्वी दाइ मेरो पल्लो पट्टिी छेउमा सुतिरहेका थिए । मेरो जीउमा हात डुलाइरहने मेरा राजनितिक कमिशार पृथ्वी नै थिए भन्नेमा म ढुक्क भएँ । अव अर्को कुरा थाहा पाउनु थियो । उनले यो सव निद्रामा गरिरहेका छन कि नियतबश गरिरहेका छन् भनेर पत्ता लगाउनु थियो ।

म निद्रामै भए जस्तै सास रोकेर उनका गतिविधी नियाल्न थालेँ । उनका हात मेरो शरीरमा अनियन्त्रित भएर निष्फिक्री चलिरहेका थिए । मैले शर्टपाइन्ट लगाएकी थिएँ । यतिञ्जेल उनले शर्ट वाहिरबाटै छाती र कम्मरको आसपास हात डुलाइरहेका थिए । अव उनका हातले मेरो शर्टको बटन खोल्न लागेका थिए । 

यो काम त निद्रामा होइन, पुरै होशमा नियतबश भइरहेको थियो । उनि खराव नियतले मेरो नजिकै सुतेका थिए र खराव नियतले नै मेरो शरीरमा हात डुलाउँदै थिए । मलाइ के गरौं र कसो गरौं औडाहा भयो । एक मनले लाग्यो चिच्याएर सवैलाइ उठाँउ । कुन्नी के सोचेर हो, त्यो हिम्मत जुटाउन सकिन । 

मैले उनको हात चपक्क समातेँ र जोडले उतापट्टी फ्याँकिदिएँ । त्यसपछि म जुरुक्क उठेँ । कोठामा पुरै अँध्यारो थियो । अरु सवैजना निदाइरहेका थिए । सिरानीमा लाइट थियो । वालेर हेरँे, छेउमा वार लगाएका बन्दुक र झोलाहरु एउटा कुनामा सारिएको थियो । उनि चाँहि हत्त न पत्त उता फर्केर सिरकले मुख छोपेर सुते । मलाइ औडाहा भइरहेको थियो । जुरुक्क उठेर वाहिर निस्किएँ । हातको घडी हेरेँ, विहानको साढे तीन बजेको थियो । 

वाहिर टहटह जुन लागिरहेको थियो । जुन चम्किलो आभामा मुस्कुराइरहेको थियो । मेरो मन भित्रको जुन भने अस्ताएको थियो । अध्याँरो भएको थियो । मेरो मुख सुकेर च्याप च्याप भइरहेको थियो । थुक पनि आइरहेको थिएन । मन व्याकुल भएको थियो । मलाइ चिच्याएर, डाँको छोडेर रुन मन लागिरहेको थियो । 

मैले आफूलाइ निरिह, एक्ली भिरमा उभिएकी जस्ती पाएँ । कसलाइ भन्नु यस्तो कुरा । कोही मन मिल्ने साथी पनि थिएन । आमालाइ सम्झिएर बरबरी आँशु झरिरहे । आमालाइ नभेटेको केही महिना भएको थियो । वेस्सरी आमालाइ सम्झिएर रोइरहेँ । आँगनको वरपर हेँरे । सेन्ट्रीमा को बसेको थियो कुन्नि । कसैलाइ देखिन । पिँढीमा खाट थियो । खाटमा बसेँ । 

म भर्खर त्यस्तै १६ पुगेर १७ मा लाग्दै थिएँ । नयाँनयाँ सपना र कल्पना सजाउने उमेर थियो त्यो । समाजमा भएको विभेद, शोषण र असमानताका पर्खालहरु भत्काउनको लागि म यो क्रान्तिको वाटोमा हिँडेकी थिएँ । हत्केलामा प्राण राखेर हिँडिएको थियो । टाउकोमा कफन बाँधेर हिँडिएको थियो । 

व्यवस्था परिवर्तनका लागि विद्रोही भएकी मैले पार्टी भित्रपनि यस्ता व्यभिचारीहरु हुनसक्छन् भनेर सोचीसकेकी थिइन । आफ्नै दाजुजस्ता नेताले यसरी ममाथि कुनियत राखेर के गर्न खोजेका थिए सोच्दा सोच्दा टाउको दुखिरहेको थियो । 

मलाई फेरी फर्किएर विस्तरामा जाने जाँगर चलेन । त्यहाँ जानुको अर्थ थियो ममाथि बलात्कार गर्न खोज्ने त्यो कमरेड नामको कलंकको अनुहार हेर्नु । मलाई अव उसको त्यो कपट भरिएको अनुहार हेर्न मन थिएन । 

म घरी जुन हेर्दै, घरी रुँदै, घरी आँशु पुछेर अव पार्टी सार्टी छोड्छु र घर जान्छु अनि आफ्नो पढाइ अगाडि बढाउँछु भन्ने सोच्दै डेढ घन्टा खाटमै बसिरहेँ । बिहानको पाँच बजेपछि त्यो घरकाी आमा उठिन् । म पनि भान्सामा गएर आगो ताप्दै घरवेटीआमासँग कुरा गरेर बसेँ । 
नानी किन यति छिटो उठेकी घरवेटी आमाले माँयाले सोधिन् ।

मेरा गह भरिएर आए । म किन छिटो उठेकी थिएँ भनेर आमालाइ भन्न पनि सक्दिनथेँ । यत्तिकै चुपचाप लागेर बसेँ । 

आमाले आगो सल्काइन् । कुँडो वसालिन ।  म छेउमा बसेर आगोमा दाउरा जोरिरहेँ ।

एकदमै निराश र क्लान्त भएकी थिएँ । यस्तो परिस्थितीको सामना गर्नुपर्ला भन्ने कहिल्यै सोचेकी थिइन । अव कसरी घरसम्म पुग्ने यहीँ सोचेर मथिङगल खल्बलिइरहेको थियो ।

६ बजेतिर सवैजना उठे । हाम्रो टिमकी कमरेड कल्पना जो महिला मध्येकी सिनिएर थिइन् । भान्सामा आइन् । 

कमरेड पृथ्वीले विहानै उठेर सवैलाइ के सुनाएछन् भने आस्थाको वानी खराव रहेछ । छेउमा राखेका बन्दुक र झोलाका वार हटाएर उनि मेरै छेउमा सुत्न आइपुगेकी थिइन् । उनले मेरो जिउमाथि खुट्टा पनि चढाइन् । 

कल्पनाले मलाइ यस्तो कुरा सुनाएर हाँसि । ससानो कुरामा पनि ठूलो स्वरमा हाँस्ने र प्रायः अरुलाइ हाँसोमा उडाइरहने वानी उसको थियो । मलाइ केही वोल्न मन लागेन  । यस्तीसँग के कुरा गर्नु भनेर चुप लागेँ । 

फेरी कसै न कसैलाई त मैले भन्नै पथ्र्यो । म यत्तिकै चुप लागेर बसेँ भने कमरेड पृथ्वी जस्ता व्यक्तिको मनोवल बढ्नेछ । फेरी कुनैपनि वेला अर्की कोही केटी यिनको शिकार हुनेछे । मैले कल्पनासँग सवै कुरा वेलिविस्तार लगाएँ । 

जिल्ला जनसरकार प्रमुख कुमारदाइलाई यो कुरा उजुरी गर्ने सल्लाह कल्पनाले दिई । 
म घर जान चाहन्छु, मलाइ त्यहाँसम्म पुर्याइदेउ भनेर मैले कल्पनालाइ भने । 

तर उसले मेरो कुरा सुनेको नसुन्यै गरी । मैले भागीहाल्ने हिम्मत गर्न सकिन । मसँग पैशा पनि त थिएन । हिँडेरै घर जान पनि कति दिन लाग्छ  भौगोलिक रुपमा अन्जान थिएँ। मन नलागि नलागि म पृथ्वीको अनुहार फेरी हेर्न वाध्य भएँ । टिम त्यहाँवाट मार्चपाश गर्दै अगाडि बढ्यो ।

पहिले तर्किएर परपर हिँडेकी हुन्थेँ, अव मैले पृथ्वीसँग वोलचाल छाडिदिएँ । मेरो एउटै उदेश्य जनसरकार प्रमुख कुमार दाइलाइ भेट्नु र उजुरी दर्ज गर्नु थियो । एक एक पाइला गह«ौं भएका थिए । कुनै उत्साह विना म केवल आफ्ना पाइला घिसारीरहेकी थिएँ । 

उत्साहले भरिएकी एउटी केटी निरुत्साहित भएकी थिइ । मुक्ति र परिवर्तनका लागि घर परिवार, आफ्नो पढाई समेत छोेडेर क्रान्तिको बलिवेदीमा होमिएकी म यो क्रान्ति भन्ने कुरा पनि भ्रम रहेछ भन्ने निष्कर्षमा पुगेकी थिएँ । म निराशाको चरम दलदलमा भासिइरहेकी थिएँ । पार्टी र क्रान्तिवाटै पलायन हुने वारेमा सोचिरहेकी थिएँ ।

कुमार दाईसँगको भेट र क्रान्तिप्रतिको लगाव 

करिव हप्ता दिन यत्तिकै निराशामा विते । एकहप्तापछि जिल्ला जनसरकार प्रमुख सुदर्शन बराल उर्फ कुमार दाइसँग भेट भयो । मैले कुमार दाइलाइ सवै कुरा विस्तारमा सुनाउन सकिन । म भित्र भरिएका कुण्ठाहरु जसोतसो सुनाएँ । 

म रोइरहेकी थिएँ । पार्टीभित्र यस्ता गलत नियत भएका मानिसहरु रहेछन् । तपाईहरुले बनाउने भनेको विभेद, असमानता र शोषण विनाको समाज यस्ता व्यभिचारी सोँच र पाखण्ड वोकेर हिँडेका मानिसले कसरी बन्न दिन्छन् दाइ ? म माथि भएको त्यो घटनालाइ मैले कसरी वुझ्ने ? म जिल्ला जनसरकारमा क. पृथ्वी विरुद्ध महिला हिंसाको उजुरी दर्ज गर्न चाहन्छु । के तपाई उनलाइ कठघरामा उभ्याउन सक्नुहुन्छ ?

कुमार दाइले मलाइ निकै सम्झाउनुभयो । उहाँको सार यस्तो थियोजव हाम्रो समाजमा वलात्कारी, व्यभिचारी, चोर, फटाहा, भाइमारुवा, दाइमारुवा छन् भने हाम्रो पार्टीमा यस्ता चिन्तन भएका मान्छेहरु देखिनु स्वाभाविक छ । हामीले मंगल ग्रहवाट आएका मान्छेलाइ पार्टी सदस्यता दिन त सक्दैनौ नि । अथवा अरु राम्रा चिन्तन भएका मानिसहरु एकाएक, राताराता पैदा हुने त होइनन् । 

हामी भित्र सकारात्मक र नकारात्मक गुण र प्रवृत्तिहरु छन् । हामीले सकारात्मक गुण र प्रवृत्तिलाइ बढावा दिँदै जाने हो । नकारात्मक गुण र प्रवृत्तिलाइ त्याग्ने हो । सकारात्मक चिन्तन हुँदाहुँदै पनि कहिलेकाँही नकारात्मक चिन्तन हावी हुने समस्या पनि आउन खोज्छ । सचेतता पूर्वक त्यसलाइ चिरेर जानुपर्छ । 

पार्टीभित्र अथवा कहिँपनि हामीले सुनेका भगवान जस्ता कुनै दोष नभएका मान्छेहरु, अथवा सर्लक्क धोएको मुला जस्ता सफा मान्छेहरु हुँदैनन् । दुधले नुहाएका जस्ता पवित्र मान्छेहरु कतैपनि हुँदैनन् । हामीले त्यस्तो कमजोरी रहित मान्छे बन्ने कोशिष गर्नुपर्छ । हामी आफू त्यस्तो मान्छे बनेरमात्र सहीमानेमा राम्रो समाज निर्माण गर्नसक्छौं । 

हाम्रो समाजमा त्यस्ता मान्छे छन् जो महिलामाथि कुनियत राख्छन् । महिलालाइ मनोरञ्जनको साधन ठान्छन् । अथवा दोश्रो दर्जाको नागरिक ठान्छन् । महिलाले पनि पुरुष जत्तिकै क्षमता राख्छन् वा उनीहरुका आफ्ना इच्छा, चाहना र रहरहरु हुन्छन् भन्ने कुरा उनिहरुको दिमागमा हुँदैन । त्यस्तै प्रवृत्ति र चिन्तनले भरिएका मान्छेहरु हाम्रो पार्टी भित्र पनि छन् । 

क्रान्ति गर्न हिँडेका क्रान्तिकारीहरु भएको पार्टी भित्रै त तिमी पिडित हुन्छौ भने वाहिर झन धेरै पिडित हुनेछौ । तिमीले जहाँ भएपनि आफूमाथि भएका अन्यायहरुको डटेर मुकाविला गर्नुपर्छ । त्यो आत्मसम्मान र आत्मविश्वास तिमीले जुटाउनु पर्नेछ । 

जवसम्म तिमी सवै हिसावले आफूमाथि र आफ्नो बर्गमाथि भएका अन्यायहरुलाइ चिनेर त्यसको मुकाविला गर्ने आत्मविश्वास जुटाउन सक्नेछैनौ तवसम्म अरुले यसरी नै तिमीमाथि अन्याय गरिरहनेछन् । तिमी कहिलेसम्म यसरी आफैसँग भागिरहन्छौ, र भागेर कहाँ जान्छौ । तिम्रो लडाँइ त भर्खर शुरु भएको छ । तिमीले यसरी आफ्नो मनोवल गिराएर समस्यावाट भाग्ने मानसिकता नवनाउ । सवै प्रकारका अन्यायहरुको विरुद्ध लड्नको लागि सक्षम मानिसहरु र विशेषतः महिलाहरुको पल्टनहरु निर्माण गर्ने दायित्व तिम्रो काँधमा छ । 

कुमार दाइले धाराप्रवाह मलाइ सम्झाउनुभयो । एउटा सानो तिनो क्लास नै दिनुभयो । म रिफ्रेस भएँ । मेरा सारा निराशाहरुको ठाँउमा आशाको संचार भयो । यस्तो लाग्यो म आनन्दले आशाको नदीमा पौडी खेलिरहेकी छु अथवा हावाका मधुर झोक्कासँग उड्दै आकाशमा कावा खाइरहेकी छु । 

हो त नि मैले कत्ति धेरै काम गर्नुपर्नेछ। म त महान जिम्मेवारी आफ्नो कााधमा बोकेर हिँडेकी मान्छे हुँ। समाज परिबर्तन गर्नु चानचुने कुरा कहाँ हो र । समाजमा त झन महिलाको स्थान कहिँ पनि छैन। यसो दुइचार कुरा बोल्न लागे लौ पोथी बास्यो भन्ने समाज हाम्रै समाज होइन र। रक्सी खाएर आएर घरमा खाना खान पर्खेर बसेकी श्रीमती कुट्ने मेरै समाज हो। बाटो घाटो ढुकेर केटीहरुलाई बाटो छेक्ने, जर्वजस्ती गर्ने समाज मेरै समाज हो। मैले यस्तो समाजसँग आत्मसर्मपण होइन। बिद्रोह गर्नुपर्छ। ति समस्त महिलाहरुका लागि जो पिडाको आँशु पिएर घर नामको जेलमा कैद छन् सबैको लागि मैले केही त गर्नैपर्छ। कुमार दाइले सम्झाउँदै गर्दा मेरा आँशु थामिएका थिए। मैले मनै मनमा यसरी समाजमा आफ्नो र म जस्ता महिलाको स्थान कहाँनेर छ भनेर सोचिरहेकी थिएँ। 

कमरेड पृथ्वीले जस्तै सोँच राख्ने मानिस पार्टी भित्र र वाहिर जता पनि छन् । मेरो लडाँइ ति समस्त मान्छेहरुको बिरुद्धमा हो । जो महिलालाइ आफूले मन लागेको वेला उपभोग गर्ने मनोरञ्जनको बस्तु भन्ठान्छन् । जो महिलालाइ अगाडि बढेर नेतृत्व गरेको देख्न सक्दैनन् । म जहाँ रहेपनि यिनीहरुका विरुद्ध संघर्ष गरेरै वाँच्नेछु । ति समस्त महिलाहरुका खातिर जसले विभेदको आँशुलाइ पानी सरह पिईरहेका छन् । तिनीहरुको मुक्तिका खातिर एकथोपा रगत र एक मुठ्ठी प्राण रहुञ्जेल म संघर्ष गर्नेछु । मैले यस्तै यस्तै सोचिरहेँ । 

कमरेड पृथ्वीलाइ मेरो अगाडि राखेर आत्मालोचना गराउने वाचा सहित जनसरकार प्रमुख कुमार दाइ मसँग विदा भएर जानुभयो । 
त्यसको एकमहिना पछि गुल्मीकै अर्का नेता जो पछि पहिलो संविधानसभामा क्षेत्र नं. ३ वाट निर्वाचित भएका थिए तिनै चन्द्र थापा सागर र कुमार दाइ वसेर फेरी मेरो बयान लिए । मानौ म नै अपराधि थिएँ जस्तो गरेर चन्द्र दाइले मलाई केरकार गरे । मैले त्यहीँ कुरा वताएँ जुन कुरा कुमार दाइलाई बताएकी थिएँ । 

अव अर्को बसाइमा कमरेड पृथ्वी र मलाइ आमने सामने बसाएर दुवैको बयान लिने र उनलाई आत्मालोचना गराउने भन्ने भयो । त्यसो गर्दासम्म देशमा संकटकाल लागिसकेको थियो । संकटकाल घोषणा भएको केही दिनमै कमरेड पृथ्वीलाई गस्तीमा आएको तत्कालिन शाही नेपाली सेनाको एक टोलीले गिरफ्तार गरेर सदरमुकाम तम्घासतिर लिएर गयो भन्ने सुनियो । 

गिरफ्तारीमा पर्दा पृथ्वी दाइ पार्टी कामको शिलशिलामा कतै गईरहेका थिए । उनि सादा पोशाकमा थिए र उनिसँग पार्टीका केही पर्चा, पम्पलेट वाहेक केही थिएनन् । तर फाशिष्ट सरकारको नुनपानी खाएका सेनाहरुले गिरफ्तारीको तिनदिनपछि रेसुंगाको जंगलमा लगेर कम्व्याट ड्रेस लगाइदिएर पृथ्वी लगायत अरु दुइजना सर्वसाधारणलाइ गोली हानेर हत्या गरे । 

कमरेड पृथ्वीले मसँग दुव्र्यवहार गरेर गल्ती गरेका थिए । आलोचना र आत्मालोचना गरेर हामी क्लियर हुन चाहन्थ्यौं । मैले सुने अनुसार उनले आफ्नो गलती स्वीकार गरेका थिए । मैले पनि चेतावनी सहित माफी दिने सोँच वनाएकी थिएँ । उनि जतिवेला गिरफ्तारिमा परे त्यतिवेला हाम्रो वोलचाल पनि बन्द थियो । म उनिसँग पहिलेको जस्तै क्रान्तिप्रति समर्पित नेता र कार्यकर्ताको सम्वन्ध बनाउन चाहन्थेँ । 
गल्ती जो कसैवाट पनि हुन सक्छ । त्यसवाट पाठ सिक्दै अगाडि बढ्नेमात्र महान बन्न सक्छ । उनि पनि गल्ती स्वीकार गरेर अगाडि बढ्ने सोँचमा थिए । तर विडम्वना जिल्ला जनसरकारले मेरो उजुरीको छानबिन गर्न समय लगाइदियो र हामी कहिल्यै आमने सामने भएर कुरा गर्न पाएनौ । 

अव उनि सर्वहारावर्गको मुक्तिका लागि शहीद भइसकेका थिए । मनमा परेको गाँठो फुकाएर मैले उनलाइ श्रद्धाञ्जली दिएँ । उनले देखाएको वाटो अनुसरण गर्दै बलिदानीको वाटोमा आफूलाइ उभ्याउँदै क्रान्तिका लागि जीवनरहेसम्म लागिरहने प्रतिवद्धता व्यक्त गर्दै पार्टी काममा आफूलाई केन्द्रित गरेँ गरिरहेँ ।

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...