पुग्नु त धेरै पर छ नि है!
प्रिया,
हृदयको उदासीलाई शब्दहरूमा बेह्री पठाएको छु, खोलेर हेर ।
आज धेरै दिनपछि तिमीलाई पत्र लेख्न बसेको छु। मलाई थाहा छ,
धेरै लेख्नु अहिले मेरो वशको कुरा
होइन। मसँग लेख्नका लागि त्यस्ता अनुभूति नै कहाँ छन् र। सबै कोमामा गइसकेका छन्। जीवनका उदास क्षणहरूलाई शब्दमा
उतार्नु पनि त निकै गाह्रो कुरा रहेछ। तर पनि तिमीलाई पत्र नलेखेका दिनमा मेरो मनमा
तैरिएका भावनाको खात कतै पानीको फिंजझैं आकार ग्रहण गर्दै शून्यमा बिलाएका छन्। यो
कुराको पीडा मलाई जीवनभर कतै न कतै त दुख्छ नि । त्यसैले सम्झिएको छु।
आखिर, अनेक झमेलाका बीच, अनेक सम्बन्धका बीच, अनेक आशा र निराशाको बीच तिमी पनि त मलाई सम्झिरहेकी हुन्छ्यौ। मैले कुनै दिन भनेको
थिएँ, कसैको अँगालोमा रून मन
लाग्छ भने त्यो नै सबैभन्दा प्रिय साथी हो। र, त्यो तिम्रो लागि म र मेरो लागि तिमी हौ। शायद,
यो जीवनमा अब त्यस्तो साथी खोज्नुमा
हामी जति भौंतारिए पनि पाउन सक्दैनौं।
यो भावनाको लागि तिम्रो र मेरो भोगाइ उस्तै उस्तै पाउँछु।कता–कता तिमीलाई भेटेपछि कति आँसु
आँखाबाटै बिलाउँछन्। यो पनि त पीडा कम हुनुको उदाहरण हो। यदि उर्लिएरै आए पनि तिम्रो
अँगालोमा आँसु बगाउनुमा मलाई कुनै दकस लाग्दैन। सायद, तिमीलाई पनि। यही अनाम सम्बन्धको धागोले त तिमी र मलाई
जति टाढा–टाढा हुन खोजे पनि बाँधेर ठेगानामै
ल्याइपुर्याउँछ। जति तर्की–तर्की हिँडे पनि तानी–तानी ल्याउँछ।
जतिसुकै फासलाको अनुभूति गरेर भेटिए पनि, जतिसुकै टाढापनको बरफ जमे पनि
भेटेपछि बरफ पग्लिन्छ, जसरी हाम्रो हृदय पग्लिन्छ। एउटा अनुपम न्यानोपनले हामीलाई गाँजिदिन्छ र मुहारमा
जतिसुकै कठोरताको अभिनय गरे पनि मनको मैन यसरी पग्लिन्छ कि छुट्टिने बेलासम्ममा त्यसले
हाम्रो मुहारमा केही न केही उज्यालोको प्रतिप्ति छोडेर गइजान्छ।यस्तो अनुपम अनुभूति
जो कोहीसँग महसुस कसरी होस्।
तिमीलाई हेर्छु, तिमीले आँखामा सपनालाई उसैगरी जोगाइरहेकी छौं। सपनाको यो चरम
खडेरीमा त त्यही सपनाको गुल्गार हेर्नका लागि पनि तिमीलाई भेट्न लालायित भइदिन्छ। निश्चलता
त तिम्रो अनुपम सम्पत्ति नै भइरह्यो। तिमी सम्पत्तिहीन छौं, म पनि उस्तै छु। तर यो निश्चलताको सम्पत्ति त हामीले जोगाइराखेका हुँदारहेछौं।
जतिसुकै खर्च गर्न खोजे
पनि नसकिने सम्पत्ति यही नै त रहेछ हाम्रो। त्यही सम्पत्तिमा धनी महसुस गरेर म तिम्रा
कोमल औंला सुम्सुम्याउँछु। चुम्बन गर्छु र आफूलाई कतै न कतै जीवित पाउँछु। सायद,
यो पनि हाम्रो साझा भावना हो।
मैले पहिले नै भनिसकेको छु कि धेरै लेख्न सक्ने अवस्थामा छैन।
तर पनि केही न केही लेख्नुको उत्प्रेरणा मभित्र जागेको छ। त्यसैले लेखें। यसले कुनै
‘पज’ भएको संगीत फेरि ‘रिज्युम’ हुनेछ। तिम्रो पत्रको हरदम अपेक्षा
गरिरहेको हुन्छु। र, अन्तिममा, तिमीलाई एउटा गाढा चुम्बन पठाइदिएको छु। अब फेरि हाम्रो सम्बन्धको नयाँ आयाम सुरु
भएको छ, पुग्नु त धेरै पर छ नि
है!
उही तिम्रो
मनको मान्छे
टिप्पणियाँ
एक टिप्पणी भेजें