Wednesday, August 16, 2017

संस्मरणः जनसरकारमा हालेको उजुरी

हामीले गुल्मी जिल्लामा भर्खरै एउटा स्क्वायडको घोषणा गरेका थियौं । २०५७ सालमा भएको पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनले पार्टीमा सेना निर्माण गर्ने महत्वर्पूण निर्णय गरेको थियो। हाम्रो जिल्लाका नेता हिम्मत बराल मगर (कमरेड ध्रुव) राष्ट्रिय सम्मेलन पश्चात जनमुक्ति सेनाको तालमि प्राप्त गरी कम्पनी घोषणा कार्यक्रममा सहभागी भएर भर्खरै जिल्ला फर्किनुभएको थियो।

उहाँले हामीलाइ शैन्य तालिम गराउनु हुन्थ्यो । विहानै झिसमिसेमा उठेर हामी रनिङ्ग गथर््यौ । तालमा ताल मिलाउँदै कहिले जनसेना आयो, जनसेना आयो भन्दै दौडिरहेका हुन्थ्यौं । कहिले एकदुइएक, एकदुइएक, एकदुइएक भन्दै पाइलामा पाइला मिलाएर दौडिरहेका हुन्थ्यौं । यसोगर्दा हामी धेरै जना परेड खेलिरहेको आवाजले त्यो सुनौलो बिहानीमा एउटा अचम्मलाग्दो संगीत पैदागरिरहेको हुन्थ्यो।

यसरी दौडिदा श्वास बढ्थ्यो । मुटु जोडजोडले धड्किन्थ्यो । हामीलाइ दौडिन कठिन हुन्थ्यो । तैपनि हाम्रो कमाण्डरले हामीलाइ काशन गरिरहन्थे । हामी यो सिंगो धर्तीका मानव जातिको मुक्तिका लागि लडिरहेका छौं भन्दै हातमा थ्रिनट थ्रि बोकेका कमाण्डरले जव हामीलाई काशन गर्न थाल्थे, हामी सिपाहीहरु उत्साहले आकाशमा कावा खान थाल्थ्यौं। एउटा गर्विलो छाती वोकेर सवै अप्ठ्यारा कठिनाइलाइ सहज र स्वाभाविक रुपमा स्वीकार गथ्र्यांै ।

त्यतिवेला मलाई यस्तो लाग्थ्यो कि हामी धर्मशास्त्रहरुमा लेखिएका जस्तै इश्वरद्धारा धर्तीमा पठाइएका देवदुतहरु हौं। हामीले मात्र यो धर्तीमा रहेका सारा बेथिति, बिकृति र बिभेदको अन्त्य गर्न सक्छौं। सत्य र न्यायका लागि हामी जे पनि गर्न सक्छौं। कसैलाई मार्न परेपनि हामी हिचकिचाउँदैनौ। आफै मर्न परेपनि हामी पछि हट्नेछैनौ। किनकी हामी हिँडेको बाटो नै मानव मुक्तिको सर्वोत्तम बाटो हो। मानिसले मानिसमाथि गरिरहेको अन्याय, अत्याचार, बिभेद, शोषण, दमन र यहाँ लादिएका कुसंस्कार अन्त्यका लागि हामीले नगरे अरु कसैले गर्नेछैन। हामी कुनै पैशा कमाएर ऐश आरामको जिन्दगी बाँच्न होइन सिंगो मानव जातिको मुक्तिका लागि यो जीवनमरणको लडाइँमा होमिएका छौं। हाम्रा साथीहरु आज रातबिरात दुश्मनबाट मारिएका छन् ति मारिएका होइनन् ति त युगयुगसम्म बाँच्ने गरी अमर शहीद भएका हुन्। आबश्यक पर्यो भने हामी पनि शहीद हुन पछि हट्नु हुँदैन। 

कमाण्डरले काशन गरिरहँदा म यस्तै यस्तै सोचिरहेकी हुन्थेँ र यस्तो महान कार्यमा अलिकति पनि योगदान गर्न पाएकोमा आफूलाई संसारकै भाग्यमानी केटी सम्झिन्थेँ। मन गदगद भएर आउँथ्यो। त्यतिवेला म भर्खर १६ बर्षकी किशोरी थिएँ। अनेकथरी सपना देख्ने र सपना फुलाउने याम थियो त्यो।

रनिङ्ग पछि क्रलिङ्गको अभ्यास हुन्थ्यो । भिम खिच्ने, पिटी, परेड खेल्ने, बन्दुक पड्काउने, दुश्मनको घेरामा परे कसरी घेरा तोड्ने जस्ता अभ्यास पनि हुन्थे । कहिलेकाँही दुइवटा टिम वनाएर लडाँइको अभ्यास गरिन्थ्यो । एकथरी प्रहरी हुन्थे अर्कोथरी जनमुक्ति सेना हुन्थे । म पनि मन लगएर ति मध्येको एउटा टिममा सैन्य अभ्यास गरिरहेकी हुन्थेँ । 

हामी हरेक दिन यसरी नै सैन्य अभ्यास गथ्र्यौं । हिँड्दा पनि शैन्य फर्मेशनमै हिँड्थ्यौं । सवैभन्दा अगाडि एफजिएल हिँड्थ्यो । महत्वपूर्ण व्यक्ति ठिक बिचमा हुन्थ्यो । 

यसरी स्क्वायड गठन भएपछि पार्टीले दुइटा टिम बनाएर जिल्लाभरी मार्च पाश गर्ने योजना बनाएको थियो । त्यो मध्येको एउटा टिमकी सदस्य म पनि थिएँ । हाम्रो टिमको राजनितिक कमिसार पृथ्वी दाइ थिए । 

म मेरो दाइ युबराजकै प्रेरणाले माओबादी भएकी थिएँ । दाइले नै धेरै कुरा गरेर मलाई प्रशिक्षित गर्नुभएको थियो। निकै मिहिनेतका साथ उहाँले मलाइ पार्टीमा भुमिगत हुनको लागि प्रभावित पार्नुभएको थियो । 

मेरो आफ्नै दाजु आन्दोलनमासँगै भएको कारण पनि होला । म प्रायः दाइको स्तर र उमेरका व्यक्तिलाइ दाइ नै भन्थेँ । दाइकै नजरले हेँर्थे र उनिहरु पनि मलाइ बहिनीकै नजरले हेरुन भन्ने मेरो चाहना हुन्थ्यो । तर पार्टीका सवै दाइहरु इमान्दार नियतका थिएनन भन्ने मैले पछि थाहा पाएँ । क.पृथ्वीलाइ पनि म दाई भनेर सम्वोधन गर्थेँ । 

उनको एउटा नराम्रो बानी थियो। अरुलाई छोएर र धाप मारेर कुरा गर्ने उनको वानी मलाइ फिटिक्कै मन पर्दैनथ्यो । त्यसैले म प्रायः उनको नजिक पर्दैनथेँ। उनि मेरो नजिक आउने बहाना खोजिरहेका हुन्थे । मलाइ छोएर कुरा गर्ने र समय अनुकुल मिल्नासाथ मौकाको फाइदा उठाउन चुक्दैनथे । 

मार्चपाश अभियानमा म कमरेड पृथ्वीकै कमाण्डको टिममा परेँ । त्यसैले त्यो मार्चपाशको उद्घाटनको दिन म धेरै नै उदाश भइरहेकी थिएँ । यहाँसम्मकी म संगीता नाम गरेकी साथीसँग बसेर रोएकी थिएँ । यस्तो कुरा खासै शेयर गर्न पनि सकिँदैनथ्यो । मन नलागि नलागि म त्यो यात्रामा सहभागी भएँ ।

हिँड्दै जाँदा हामीले पार्टीको प्रचार र संघर्षका काम पनि गरिरहेका थियौं । गाँउमा कतै जुवा तास खेलेर बसेकाहरु भेटिए भने हामी कार्वाही गथ्यौंं । कहिलेकाँही ठाँउ ठाँउमा स साना भेला वोलाएर पार्टीका कुराहरु गर्ने, जनता जुटाएर माओवादी आन्दोलन जनताकै लागि भएको र यसमा जनता सवैले कुनै न कुनै रुपमा भाग लिनुपर्ने, जनबर्गिय संगठन निर्माण गर्नुपर्ने र त्यसको औचित्य किन भनेर सम्झाउँथ्यौं।

खाना खान हामी जनताको घरमा प्रायः दुइ देखि चारजना सम्म बाँडिन्थ्यौं। जनताको घरमा खाना खानुको उदेश्य तिनलाई माओवादी आन्दोलनबारे बुझाउनु, छलफलमा भाग लिन प्रेरित गर्नु र केही अस्पष्टताहरु भए स्पष्ट पार्नु हुन्थ्यो। गाउँमा बाँडिएर  खाना खाएपनि सुत्नेवेला प्रायः एउटै घरमा सुतिन्थ्यो । एउटै घरमा अटाउने भएन भने नजिकका दुइवटा घरमा सुत्ने मिलाइन्थ्यो । राती सेन्ट्री बस्नुपथ्र्यो । कहिले आधा घन्टा त कहिले एक घन्टा पालो पथ्र्यो ।

म झण्डै बलात्कारमा परेँ 

२०५८ साल असोजको महिना थियो । 

एक दिन एउटा घटना भयो । त्यस रात म सेन्ट्री बसेर फर्किएँ । पहिलो सेन्ट्रीको पालो प्रायः मेरै हुन्थ्यो। कहिले दुइजना बस्थ्यौं, कहिले एक्लै बस्नुर्पथ्यो। त्यसरात म एक्लै सेन्ट्री बस्नुपर्ने भयो। 

दुश्मन कुनैपनि वेला गाउँ पस्न सक्थ्यो। त्यतिवेला सेना परिचालन भइसकेको थिएन। गाउँका प्रहरी चौकीहरु उठिसकेका थिए। प्रहरी सदरमुकाममा सिमित भएको थियो। तैपनि बेला बेला गस्ती गर्न आइरहन्थ्यो। कतिवेला कसलाई गिरफ्तार गरेर लैजाने हो र बेपत्ता पार्ने हो भन्ने भय भइरहन्थ्यो। त्यसैले जुनसुकै वेला सुरक्षा सर्तकता अपनाउनका लागि हामी पालैपालो सेन्ट्री बस्ने गर्दथ्यौं। यो शैन्य फर्मेशनको एउटा सामान्य नियम थियो। 

एक घन्टा सेन्ट्री बसेपछि मेरो पालो सकियो। अर्को साथी मलाई पालो दिन आएपछि घडी,  बन्दुक र ग्रिनेड उहाँको जिम्मा लगाएर म सुत्ने कोठामा आएँ। चौडाइ भन्दा लम्बाइ दोव्वर भएको लामो कोठामा हामी सवै टिमको लागि ओच्छ्यान बनाइएको थियो । पुरुष कमरेडहरु एक लाइनमा र महिला कमरेडहरु पनि सोही लाइनमा सुत्ने मिलाइएको थियो । विचमा मुश्किलले एकहात जति ठाँउ खाली राखिएको थियो । त्यहाँ हाम्रा झोला र बन्दुकहरु तेर्सो पारेर वार बनाइएको थियो । 

पुरुष पट्टिीको लाइनको छेउमा उनै क.पृथ्वी सुतिरहेका थिए । महिला पट्टीकोमा छेउको ओच्छ्यान मेरो लागि खाली थियो । मलाइ यसरी एउटै कोठामा पुरुष कमरेडहरुसँग सुत्ने अभ्यास भैसकेको थिएन । अप्ठ्यारो लाग्यो । 

मैले घर छोडेर भुमिगत भएको ६ महिनाजति भएको थियो। बितेका दिनमा यसरी एउटै कोठामा पुरुष कमरेडहरु र महिला कामरेडहरु सुत्नुपरेको थिएन। अनिता दिदी, सिर्जना, बिपना, कल्पना, संगीता, कविता लगायतका हामी महिलाहरु प्रायजसो संगै हुन्थ्यौं। संगै हिँड्थ्यौं खान्थ्यौं र सुत्दा पनि संगै हुन्थ्यौं। आज नितान्त नौलो अनुभुति गर्दै थिएँ। केही डर, लाज र संकोचले म खुम्चिएकी थिएँ। समाज बदल्ने अभियानमा हिँडेका अभियात्रीहरुसँग डर या संकोच मान्नुपर्ने केही थिएन। अप्ठ्यारै लागेपनि रात विताउनु त छँदै थियो । प्रायः सवै कमरेडहरु निदाईसकेका थिए । फर्मेशनमा यस्तै त हुन्छ होला भन्ने लाग्यो । यस्ता कत्ति अप्ठेरालाइ पानीको घुट्कासँगै पिउनुपर्नेछ । आफ्नै दाईहरु त हुन् नि भन्ने सोच्दै म छेउको विस्तरामा गएर पल्टिएँ । दिनभरको हिँडाईले लखतरान थाकेकी म कतिवेला निदाएँ पत्तै भएन ।

मध्यरातमा मलाई लाग्यो । कसैले मेरो जिउ सुमसुम्याइरहेको छ। म डरले खंग्रंगै भएँ । जिउ काम्न थाल्यो । म कहाँ छु र यो के भइरहेको छ भनेर एकछिन मैले आफैलाइ अध्ययन गरेँ । मैले म जनमुक्ति सेनाको मार्च पाश अभियान अन्तर्गत एउटा गाँउमा सेल्टर लिइरहेको र आफ्ना कमरेडहरुसँगै एउटा कोठामा सुतिरहेकी छु भनेर सम्झिएँ । 

झल्याँस्स याद आयो । पृथ्वी दाइ मेरो पल्लो पट्टिी छेउमा सुतिरहेका थिए । मेरो जीउमा हात डुलाइरहने मेरा राजनितिक कमिशार पृथ्वी नै थिए भन्नेमा म ढुक्क भएँ । अव अर्को कुरा थाहा पाउनु थियो । उनले यो सव निद्रामा गरिरहेका छन कि नियतबश गरिरहेका छन् भनेर पत्ता लगाउनु थियो ।

म निद्रामै भए जस्तै सास रोकेर उनका गतिविधी नियाल्न थालेँ । उनका हात मेरो शरीरमा अनियन्त्रित भएर निष्फिक्री चलिरहेका थिए । मैले शर्टपाइन्ट लगाएकी थिएँ । यतिञ्जेल उनले शर्ट वाहिरबाटै छाती र कम्मरको आसपास हात डुलाइरहेका थिए । अव उनका हातले मेरो शर्टको बटन खोल्न लागेका थिए । 

यो काम त निद्रामा होइन, पुरै होशमा नियतबश भइरहेको थियो । उनि खराव नियतले मेरो नजिकै सुतेका थिए र खराव नियतले नै मेरो शरीरमा हात डुलाउँदै थिए । मलाइ के गरौं र कसो गरौं औडाहा भयो । एक मनले लाग्यो चिच्याएर सवैलाइ उठाँउ । कुन्नी के सोचेर हो, त्यो हिम्मत जुटाउन सकिन । 

मैले उनको हात चपक्क समातेँ र जोडले उतापट्टी फ्याँकिदिएँ । त्यसपछि म जुरुक्क उठेँ । कोठामा पुरै अँध्यारो थियो । अरु सवैजना निदाइरहेका थिए । सिरानीमा लाइट थियो । वालेर हेरँे, छेउमा वार लगाएका बन्दुक र झोलाहरु एउटा कुनामा सारिएको थियो । उनि चाँहि हत्त न पत्त उता फर्केर सिरकले मुख छोपेर सुते । मलाइ औडाहा भइरहेको थियो । जुरुक्क उठेर वाहिर निस्किएँ । हातको घडी हेरेँ, विहानको साढे तीन बजेको थियो । 

वाहिर टहटह जुन लागिरहेको थियो । जुन चम्किलो आभामा मुस्कुराइरहेको थियो । मेरो मन भित्रको जुन भने अस्ताएको थियो । अध्याँरो भएको थियो । मेरो मुख सुकेर च्याप च्याप भइरहेको थियो । थुक पनि आइरहेको थिएन । मन व्याकुल भएको थियो । मलाइ चिच्याएर, डाँको छोडेर रुन मन लागिरहेको थियो । 

मैले आफूलाइ निरिह, एक्ली भिरमा उभिएकी जस्ती पाएँ । कसलाइ भन्नु यस्तो कुरा । कोही मन मिल्ने साथी पनि थिएन । आमालाइ सम्झिएर बरबरी आँशु झरिरहे । आमालाइ नभेटेको केही महिना भएको थियो । वेस्सरी आमालाइ सम्झिएर रोइरहेँ । आँगनको वरपर हेँरे । सेन्ट्रीमा को बसेको थियो कुन्नि । कसैलाइ देखिन । पिँढीमा खाट थियो । खाटमा बसेँ । 

म भर्खर त्यस्तै १६ पुगेर १७ मा लाग्दै थिएँ । नयाँनयाँ सपना र कल्पना सजाउने उमेर थियो त्यो । समाजमा भएको विभेद, शोषण र असमानताका पर्खालहरु भत्काउनको लागि म यो क्रान्तिको वाटोमा हिँडेकी थिएँ । हत्केलामा प्राण राखेर हिँडिएको थियो । टाउकोमा कफन बाँधेर हिँडिएको थियो । 

व्यवस्था परिवर्तनका लागि विद्रोही भएकी मैले पार्टी भित्रपनि यस्ता व्यभिचारीहरु हुनसक्छन् भनेर सोचीसकेकी थिइन । आफ्नै दाजुजस्ता नेताले यसरी ममाथि कुनियत राखेर के गर्न खोजेका थिए सोच्दा सोच्दा टाउको दुखिरहेको थियो । 

मलाई फेरी फर्किएर विस्तरामा जाने जाँगर चलेन । त्यहाँ जानुको अर्थ थियो ममाथि बलात्कार गर्न खोज्ने त्यो कमरेड नामको कलंकको अनुहार हेर्नु । मलाई अव उसको त्यो कपट भरिएको अनुहार हेर्न मन थिएन । 

म घरी जुन हेर्दै, घरी रुँदै, घरी आँशु पुछेर अव पार्टी सार्टी छोड्छु र घर जान्छु अनि आफ्नो पढाइ अगाडि बढाउँछु भन्ने सोच्दै डेढ घन्टा खाटमै बसिरहेँ । बिहानको पाँच बजेपछि त्यो घरकाी आमा उठिन् । म पनि भान्सामा गएर आगो ताप्दै घरवेटीआमासँग कुरा गरेर बसेँ । 
नानी किन यति छिटो उठेकी घरवेटी आमाले माँयाले सोधिन् ।

मेरा गह भरिएर आए । म किन छिटो उठेकी थिएँ भनेर आमालाइ भन्न पनि सक्दिनथेँ । यत्तिकै चुपचाप लागेर बसेँ । 

आमाले आगो सल्काइन् । कुँडो वसालिन ।  म छेउमा बसेर आगोमा दाउरा जोरिरहेँ ।

एकदमै निराश र क्लान्त भएकी थिएँ । यस्तो परिस्थितीको सामना गर्नुपर्ला भन्ने कहिल्यै सोचेकी थिइन । अव कसरी घरसम्म पुग्ने यहीँ सोचेर मथिङगल खल्बलिइरहेको थियो ।

६ बजेतिर सवैजना उठे । हाम्रो टिमकी कमरेड कल्पना जो महिला मध्येकी सिनिएर थिइन् । भान्सामा आइन् । 

कमरेड पृथ्वीले विहानै उठेर सवैलाइ के सुनाएछन् भने आस्थाको वानी खराव रहेछ । छेउमा राखेका बन्दुक र झोलाका वार हटाएर उनि मेरै छेउमा सुत्न आइपुगेकी थिइन् । उनले मेरो जिउमाथि खुट्टा पनि चढाइन् । 

कल्पनाले मलाइ यस्तो कुरा सुनाएर हाँसि । ससानो कुरामा पनि ठूलो स्वरमा हाँस्ने र प्रायः अरुलाइ हाँसोमा उडाइरहने वानी उसको थियो । मलाइ केही वोल्न मन लागेन  । यस्तीसँग के कुरा गर्नु भनेर चुप लागेँ । 

फेरी कसै न कसैलाई त मैले भन्नै पथ्र्यो । म यत्तिकै चुप लागेर बसेँ भने कमरेड पृथ्वी जस्ता व्यक्तिको मनोवल बढ्नेछ । फेरी कुनैपनि वेला अर्की कोही केटी यिनको शिकार हुनेछे । मैले कल्पनासँग सवै कुरा वेलिविस्तार लगाएँ । 

जिल्ला जनसरकार प्रमुख कुमारदाइलाई यो कुरा उजुरी गर्ने सल्लाह कल्पनाले दिई । 
म घर जान चाहन्छु, मलाइ त्यहाँसम्म पुर्याइदेउ भनेर मैले कल्पनालाइ भने । 

तर उसले मेरो कुरा सुनेको नसुन्यै गरी । मैले भागीहाल्ने हिम्मत गर्न सकिन । मसँग पैशा पनि त थिएन । हिँडेरै घर जान पनि कति दिन लाग्छ  भौगोलिक रुपमा अन्जान थिएँ। मन नलागि नलागि म पृथ्वीको अनुहार फेरी हेर्न वाध्य भएँ । टिम त्यहाँवाट मार्चपाश गर्दै अगाडि बढ्यो ।

पहिले तर्किएर परपर हिँडेकी हुन्थेँ, अव मैले पृथ्वीसँग वोलचाल छाडिदिएँ । मेरो एउटै उदेश्य जनसरकार प्रमुख कुमार दाइलाइ भेट्नु र उजुरी दर्ज गर्नु थियो । एक एक पाइला गह«ौं भएका थिए । कुनै उत्साह विना म केवल आफ्ना पाइला घिसारीरहेकी थिएँ । 

उत्साहले भरिएकी एउटी केटी निरुत्साहित भएकी थिइ । मुक्ति र परिवर्तनका लागि घर परिवार, आफ्नो पढाई समेत छोेडेर क्रान्तिको बलिवेदीमा होमिएकी म यो क्रान्ति भन्ने कुरा पनि भ्रम रहेछ भन्ने निष्कर्षमा पुगेकी थिएँ । म निराशाको चरम दलदलमा भासिइरहेकी थिएँ । पार्टी र क्रान्तिवाटै पलायन हुने वारेमा सोचिरहेकी थिएँ ।

कुमार दाईसँगको भेट र क्रान्तिप्रतिको लगाव 

करिव हप्ता दिन यत्तिकै निराशामा विते । एकहप्तापछि जिल्ला जनसरकार प्रमुख सुदर्शन बराल उर्फ कुमार दाइसँग भेट भयो । मैले कुमार दाइलाइ सवै कुरा विस्तारमा सुनाउन सकिन । म भित्र भरिएका कुण्ठाहरु जसोतसो सुनाएँ । 

म रोइरहेकी थिएँ । पार्टीभित्र यस्ता गलत नियत भएका मानिसहरु रहेछन् । तपाईहरुले बनाउने भनेको विभेद, असमानता र शोषण विनाको समाज यस्ता व्यभिचारी सोँच र पाखण्ड वोकेर हिँडेका मानिसले कसरी बन्न दिन्छन् दाइ ? म माथि भएको त्यो घटनालाइ मैले कसरी वुझ्ने ? म जिल्ला जनसरकारमा क. पृथ्वी विरुद्ध महिला हिंसाको उजुरी दर्ज गर्न चाहन्छु । के तपाई उनलाइ कठघरामा उभ्याउन सक्नुहुन्छ ?

कुमार दाइले मलाइ निकै सम्झाउनुभयो । उहाँको सार यस्तो थियोजव हाम्रो समाजमा वलात्कारी, व्यभिचारी, चोर, फटाहा, भाइमारुवा, दाइमारुवा छन् भने हाम्रो पार्टीमा यस्ता चिन्तन भएका मान्छेहरु देखिनु स्वाभाविक छ । हामीले मंगल ग्रहवाट आएका मान्छेलाइ पार्टी सदस्यता दिन त सक्दैनौ नि । अथवा अरु राम्रा चिन्तन भएका मानिसहरु एकाएक, राताराता पैदा हुने त होइनन् । 

हामी भित्र सकारात्मक र नकारात्मक गुण र प्रवृत्तिहरु छन् । हामीले सकारात्मक गुण र प्रवृत्तिलाइ बढावा दिँदै जाने हो । नकारात्मक गुण र प्रवृत्तिलाइ त्याग्ने हो । सकारात्मक चिन्तन हुँदाहुँदै पनि कहिलेकाँही नकारात्मक चिन्तन हावी हुने समस्या पनि आउन खोज्छ । सचेतता पूर्वक त्यसलाइ चिरेर जानुपर्छ । 

पार्टीभित्र अथवा कहिँपनि हामीले सुनेका भगवान जस्ता कुनै दोष नभएका मान्छेहरु, अथवा सर्लक्क धोएको मुला जस्ता सफा मान्छेहरु हुँदैनन् । दुधले नुहाएका जस्ता पवित्र मान्छेहरु कतैपनि हुँदैनन् । हामीले त्यस्तो कमजोरी रहित मान्छे बन्ने कोशिष गर्नुपर्छ । हामी आफू त्यस्तो मान्छे बनेरमात्र सहीमानेमा राम्रो समाज निर्माण गर्नसक्छौं । 

हाम्रो समाजमा त्यस्ता मान्छे छन् जो महिलामाथि कुनियत राख्छन् । महिलालाइ मनोरञ्जनको साधन ठान्छन् । अथवा दोश्रो दर्जाको नागरिक ठान्छन् । महिलाले पनि पुरुष जत्तिकै क्षमता राख्छन् वा उनीहरुका आफ्ना इच्छा, चाहना र रहरहरु हुन्छन् भन्ने कुरा उनिहरुको दिमागमा हुँदैन । त्यस्तै प्रवृत्ति र चिन्तनले भरिएका मान्छेहरु हाम्रो पार्टी भित्र पनि छन् । 

क्रान्ति गर्न हिँडेका क्रान्तिकारीहरु भएको पार्टी भित्रै त तिमी पिडित हुन्छौ भने वाहिर झन धेरै पिडित हुनेछौ । तिमीले जहाँ भएपनि आफूमाथि भएका अन्यायहरुको डटेर मुकाविला गर्नुपर्छ । त्यो आत्मसम्मान र आत्मविश्वास तिमीले जुटाउनु पर्नेछ । 

जवसम्म तिमी सवै हिसावले आफूमाथि र आफ्नो बर्गमाथि भएका अन्यायहरुलाइ चिनेर त्यसको मुकाविला गर्ने आत्मविश्वास जुटाउन सक्नेछैनौ तवसम्म अरुले यसरी नै तिमीमाथि अन्याय गरिरहनेछन् । तिमी कहिलेसम्म यसरी आफैसँग भागिरहन्छौ, र भागेर कहाँ जान्छौ । तिम्रो लडाँइ त भर्खर शुरु भएको छ । तिमीले यसरी आफ्नो मनोवल गिराएर समस्यावाट भाग्ने मानसिकता नवनाउ । सवै प्रकारका अन्यायहरुको विरुद्ध लड्नको लागि सक्षम मानिसहरु र विशेषतः महिलाहरुको पल्टनहरु निर्माण गर्ने दायित्व तिम्रो काँधमा छ । 

कुमार दाइले धाराप्रवाह मलाइ सम्झाउनुभयो । एउटा सानो तिनो क्लास नै दिनुभयो । म रिफ्रेस भएँ । मेरा सारा निराशाहरुको ठाँउमा आशाको संचार भयो । यस्तो लाग्यो म आनन्दले आशाको नदीमा पौडी खेलिरहेकी छु अथवा हावाका मधुर झोक्कासँग उड्दै आकाशमा कावा खाइरहेकी छु । 

हो त नि मैले कत्ति धेरै काम गर्नुपर्नेछ। म त महान जिम्मेवारी आफ्नो कााधमा बोकेर हिँडेकी मान्छे हुँ। समाज परिबर्तन गर्नु चानचुने कुरा कहाँ हो र । समाजमा त झन महिलाको स्थान कहिँ पनि छैन। यसो दुइचार कुरा बोल्न लागे लौ पोथी बास्यो भन्ने समाज हाम्रै समाज होइन र। रक्सी खाएर आएर घरमा खाना खान पर्खेर बसेकी श्रीमती कुट्ने मेरै समाज हो। बाटो घाटो ढुकेर केटीहरुलाई बाटो छेक्ने, जर्वजस्ती गर्ने समाज मेरै समाज हो। मैले यस्तो समाजसँग आत्मसर्मपण होइन। बिद्रोह गर्नुपर्छ। ति समस्त महिलाहरुका लागि जो पिडाको आँशु पिएर घर नामको जेलमा कैद छन् सबैको लागि मैले केही त गर्नैपर्छ। कुमार दाइले सम्झाउँदै गर्दा मेरा आँशु थामिएका थिए। मैले मनै मनमा यसरी समाजमा आफ्नो र म जस्ता महिलाको स्थान कहाँनेर छ भनेर सोचिरहेकी थिएँ। 

कमरेड पृथ्वीले जस्तै सोँच राख्ने मानिस पार्टी भित्र र वाहिर जता पनि छन् । मेरो लडाँइ ति समस्त मान्छेहरुको बिरुद्धमा हो । जो महिलालाइ आफूले मन लागेको वेला उपभोग गर्ने मनोरञ्जनको बस्तु भन्ठान्छन् । जो महिलालाइ अगाडि बढेर नेतृत्व गरेको देख्न सक्दैनन् । म जहाँ रहेपनि यिनीहरुका विरुद्ध संघर्ष गरेरै वाँच्नेछु । ति समस्त महिलाहरुका खातिर जसले विभेदको आँशुलाइ पानी सरह पिईरहेका छन् । तिनीहरुको मुक्तिका खातिर एकथोपा रगत र एक मुठ्ठी प्राण रहुञ्जेल म संघर्ष गर्नेछु । मैले यस्तै यस्तै सोचिरहेँ । 

कमरेड पृथ्वीलाइ मेरो अगाडि राखेर आत्मालोचना गराउने वाचा सहित जनसरकार प्रमुख कुमार दाइ मसँग विदा भएर जानुभयो । 
त्यसको एकमहिना पछि गुल्मीकै अर्का नेता जो पछि पहिलो संविधानसभामा क्षेत्र नं. ३ वाट निर्वाचित भएका थिए तिनै चन्द्र थापा सागर र कुमार दाइ वसेर फेरी मेरो बयान लिए । मानौ म नै अपराधि थिएँ जस्तो गरेर चन्द्र दाइले मलाई केरकार गरे । मैले त्यहीँ कुरा वताएँ जुन कुरा कुमार दाइलाई बताएकी थिएँ । 

अव अर्को बसाइमा कमरेड पृथ्वी र मलाइ आमने सामने बसाएर दुवैको बयान लिने र उनलाई आत्मालोचना गराउने भन्ने भयो । त्यसो गर्दासम्म देशमा संकटकाल लागिसकेको थियो । संकटकाल घोषणा भएको केही दिनमै कमरेड पृथ्वीलाई गस्तीमा आएको तत्कालिन शाही नेपाली सेनाको एक टोलीले गिरफ्तार गरेर सदरमुकाम तम्घासतिर लिएर गयो भन्ने सुनियो । 

गिरफ्तारीमा पर्दा पृथ्वी दाइ पार्टी कामको शिलशिलामा कतै गईरहेका थिए । उनि सादा पोशाकमा थिए र उनिसँग पार्टीका केही पर्चा, पम्पलेट वाहेक केही थिएनन् । तर फाशिष्ट सरकारको नुनपानी खाएका सेनाहरुले गिरफ्तारीको तिनदिनपछि रेसुंगाको जंगलमा लगेर कम्व्याट ड्रेस लगाइदिएर पृथ्वी लगायत अरु दुइजना सर्वसाधारणलाइ गोली हानेर हत्या गरे । 

कमरेड पृथ्वीले मसँग दुव्र्यवहार गरेर गल्ती गरेका थिए । आलोचना र आत्मालोचना गरेर हामी क्लियर हुन चाहन्थ्यौं । मैले सुने अनुसार उनले आफ्नो गलती स्वीकार गरेका थिए । मैले पनि चेतावनी सहित माफी दिने सोँच वनाएकी थिएँ । उनि जतिवेला गिरफ्तारिमा परे त्यतिवेला हाम्रो वोलचाल पनि बन्द थियो । म उनिसँग पहिलेको जस्तै क्रान्तिप्रति समर्पित नेता र कार्यकर्ताको सम्वन्ध बनाउन चाहन्थेँ । 
गल्ती जो कसैवाट पनि हुन सक्छ । त्यसवाट पाठ सिक्दै अगाडि बढ्नेमात्र महान बन्न सक्छ । उनि पनि गल्ती स्वीकार गरेर अगाडि बढ्ने सोँचमा थिए । तर विडम्वना जिल्ला जनसरकारले मेरो उजुरीको छानबिन गर्न समय लगाइदियो र हामी कहिल्यै आमने सामने भएर कुरा गर्न पाएनौ । 

अव उनि सर्वहारावर्गको मुक्तिका लागि शहीद भइसकेका थिए । मनमा परेको गाँठो फुकाएर मैले उनलाइ श्रद्धाञ्जली दिएँ । उनले देखाएको वाटो अनुसरण गर्दै बलिदानीको वाटोमा आफूलाइ उभ्याउँदै क्रान्तिका लागि जीवनरहेसम्म लागिरहने प्रतिवद्धता व्यक्त गर्दै पार्टी काममा आफूलाई केन्द्रित गरेँ गरिरहेँ ।

No comments:

Post a Comment

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...