Tuesday, September 10, 2013

तिजको साँस्कृतिक आधार नै महिला बिरोधी छ

                                                                                                            आस्था केसी
                                                                    केन्द्रिय सदस्य,एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ

हिन्दु महिलाहरुले धुमधामका साथ मनाउने चाड तिज नजिकै आइरहेको छ । परम्परागत मान्यता अनुसार तिजलाई महिलाहरु स्वतन्त्र हुने पर्बका रुपमा लिदैं आईएको छ । अझ पछिल्लो समयमा त झन यसले बढावा पाएको छ । तिज आउनु अगाडी देखी नै ठूला ठूला होटल रेष्टुराहरुमा दर खाने, महंगा महंगा गहना र पहिरनहरु प्रदर्शन गर्ने होड नै चलेको छ । जसलाई महिलाको स्वतन्त्रताको रुपमा बुझिंदै आएको छ ।

सामान्य रुपबाट हेर्दा तिज पर्बको बेला एक दुई दिन भएपनि महिलाहरु स्वतन्त्र भएको देखिएला तर तिज पर्बलाई मनाउने जुन साँस्कृतिक परम्परा छ त्यसलाई दृष्टिगत गर्दा तिजमा महिला लाई पुरुषको दास बनाउने मान्यतालाई स्थापित गर्ने उदेश्य प्रष्टै देखिन्छ । पछिल्लो समयमा महिला स्वतन्त्रताको कुरा संग जोडेर जुन तडकभडकताका साथ यो पर्व मनाउने संस्कृति बस्दैछ । यसले यो मान्यतालाई अझै शसक्त रुपमा संस्थागत गर्ने काम गरेको छ ।

तिजको साँस्कृतिक आधार नै महिला बिरोधी छ । पुरुषको दिर्घायूको कामना गर्दै दिनभरी भोकै प्यासै ब्रत बस्नुपर्ने, पुरुषलाई देबता मानेर पुज्नुपर्ने, पुरुष पहिलो दर्जाको मानिस हो भने महिला दोश्रो दर्जाको मानिस हो, पुरुष सधैं सर्बश्रेष्ठ हो र महिलाले पुरुषको सेवा गर्नुपर्छ  भन्ने मान्यता बाट यो चाड प्रेरित छ । आज महिला स्वतन्त्रताको नारा उराल्दै श्रीमानको कामनामा ब्रत बस्ने, श्रीमान संग हारगुहार गरी महंगा महंगा बस्त्रहरु लगाउने र आफुलाई स्वतन्त्र महशुष गर्ने जुन शहरिया शिक्षित संस्कार बन्दैछ यसले दिनानुदिन महिलालाई परनिर्भरताको जंजीरले बाँध्दै लगिरहेको छ ।

तिजलाई कसरी मनाउने ? तिज महिला अधिकारको पक्षमा छ कि बिपक्षमा  छ ? भन्ने बिषयमा नेपाली महिलाहरुको बिषयमा थुप्रै छलफल, बहश र संघर्षहरु भएका छन् ।

एकातिर तिज स्वतन्त्रतालाई महिला स्वतन्त्रता भएको देख्ने, महंगा महंगा गहना, श्रृंगार र पहिरनमा छम्की छम्की नाच्न पाउने कुरालाई  नै महिला अधिकारको रुपमा बुभm\ने एउटा जमात छ । जसले तिजको रुढिबादी परम्परागत सामन्ती मान्यतालाई पूजिंबादीसंग जोडेर रिमिक्स खालको तिज मनाई रहेको छ, जो संग रिमिक्स खालको तिज मनाउने मनग्ये सम्पत्ति छ । आज रिमिक्स तिजको प्रभाबले रिमिक्स तिज मनाउन खोज्ने तर हैसियत नपुग्ने नेपाली महिला दिदी बहिनीहरुको बिजोग छ ।

पछिल्लो समयमा पूजिंबादी उपभोक्ताबादी संस्कृतिले तिजलाई नराम्रो संग जकडिरहेको छ । महंगा गहनाहरुको होडबाजी, गहनाहरुको एकप्रकारको प्रतिष्प्रधा, त्यसलाई आर्थिक र  सामाजिक प्रतिष्ठाको बिषय बनाउने मनोबिज्ञान त्यसका उदाहरण हुन् । जसको नकारात्मक परिणाम स्वरुप थुप्रै बिकृतिहरु आज हामीले भोगीरहेका छौं । तिजलाई यहीं रुपमा मनाउने हो भने यसले भबिष्यमा ठूलो दूष्परिणाम नल्याउला भन्न सकिन्न ।

त्यसैले तिजलाई साँच्चिकै महिला स्वतन्त्रताको पक्षमा उपयोग गर्ने हो भने त्यसको महिला बिरोधि साँस्कृतिक मान्यता या  तिज पर्व भित्रको चरम पित्तृसत्ताबादी सोंचलाई पुरै उल्ट्याउन आबश्यक छ । घुमाई फिराई महिलालाई पुरुषको मनोरञ्जनको साधनमा बदल्ने कुरालाई पूरै बदल्नुपर्ने भएको छ ।

बजारका अन्य बिकाउ सामान जस्तै महिलालाई पनि बजारका त्यस्तै माल सामान मान्ने पूँिजबादी सोंचलाई पुरै बिस्थापित गर्न जरुरी छ । त्यसको लागी आफूलाई आधुनिक र शिक्षित ठान्ने सम्पूर्ण महिलाहरुले यो कुरालाई गम्भिरतापूर्बक आत्मसाथ गर्नु जरुरी छ ।

1 comment:

  1. अत्यन्त राम्रो कुरा गर्नु भयो र वास्तविकता पनि हो परिवर्तनको आब्स्यक्ता पनि हो तर यहाँ महिलाहरु केबल मनोरन्जनका साधन मात्र बनाइएको बारे, अली प्रस्ट नभए जस्तो लाग्यो! यो समस्या छ तर कुन ठाउँ मा हुने समस्या हो यस्लाई बर्गिकरन गरी उठान गर्न जरुरी छ! जस्तो बलात्‍कृत हुने सवालमा हुने समस्या हो ? या श्रीमान र श्रीमती बिचको समस्या हो ? या अन्य कुनै ठाउँ मा हुने समस्या हो ? किटान हुन जरुरी छ अनी मात्र समस्याको हल हुनसक्छ! किन कि मनोरन्जनको कुरा बिज्ञान सम्ब्त कुरा हो, बिज्ञानको जैबिक आबस्यक्तालाई मध्य नजर गर्दा, यो दुबैलाई आबस्यक्ता हो! नत्र यहाँ आफुले आँफै लाई कम्जोरी बनाउने तर्क मात्र हुनसक्छ!

    ReplyDelete

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...