तिज पर्बलाई भड्किलो र बिकृतिजन्य बन्न बाट रोक्नको लागी सबैजना जिम्मेवार बन्नु आबश्यक छ ।
आस्था केसी
केन्द्रिय सदस्य,एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ
कुनै समय यस्तो पनि थियो महिलाहरुले आफ्नो बिहे हुदैछ भन्ने पनि थाहा पाँउदैनथे । निकै सानो उमेरमा चिन्नु न जान्नुको मान्छे संग बिहे गरेर निकै टाढा टाढा जानु पर्दथ्यो । त्यसरी बिहे गरेर गएका चेलीहरु बर्ष दिन पछि आउने चाड तिजमा आ आफ्नो माईतिमा जम्मा भएर रमाईलो गर्ने गर्दथे । त्यो दिन उनिहरु बडो स्वतन्त्रता पाँउथे । लोग्नेका अन्यायहरु , सासुका अत्याचारहरु, नन्द देवरका तानाहरु माईति भेट्न नपाएका गुनासोहरु सबै सबै उनिहरु गीतका भाका बनाएरै ब्यक्त गर्दथे । तर भोली पल्ट देखी फेरी पनि उनिहरु माथि त्यस्तै खाले बिभेदको श्रृंखला दोहोरिने गर्दथ्यो ।
तर आज जमाना फेरिएको छ । महिनावारी नभएकी छोरीलाई बिहे गरिदियो भने स्वर्ग गईन्छ भन्ने हजुरआमा हरुको पुस्ता अब लगभग सकिएको छ । आज छोरीहरु छोरा सरह स्कुल जान्छन् ।
महिला अधिकारको जमाना आएको छ । महिलाहरु आफैमा सचेत भएका छन् । उनिहरु आफ्नो जीबन साथी आफै रोज्न सक्ने भईसकेका छन् ।त्यति मात्र होईन परेको बेला महिलाहरु कुनै पनि जिम्मेवारीलाई बहन गर्न सक्ने अबस्थामा पुगेका छन् । भलै यो परिबर्तन आजको २१ औं शताब्दीमा प्रयाप्त मात्रामा हुन सकेको छैन । तर पनि हाम्रो समाज र यहाँका महिलाहरु तथा महिला माथीका दृष्टिकोणहरु क्रमश फेरिदैं गईरहेका छन् ।
राज्य सत्ता देखी लिएर राज्यका हरेक निकायहरुमा महिला सहभागीताको प्रश्न आजको जल्दो बल्दो सवाल बनेको छ । महिला बिशेषाधिकार र आरक्षणको बारेमा बहश भईरहेको छ । हामी आशा गर्न सक्छौ कि नेपालमा महिलाहरुको अबस्था राजयसत्ता देखी लिएर सबै क्षेत्रहरुमा राम्रो बन्दै गईरहेको छ ।
नेपालमा महिला अधिकारको क्षेत्रमा भएका राजनितिक,सामाजिक,आर्थिक र बिबिध पक्षका उपलब्धीका साथसाथै यो क्षेत्रमा रहेका समस्या र चुनौतिहरुको बारेमा कुनै दिन छलफल गरौंला,अहिले हिन्दु महिलाहरुको मुख्य र महत्वपूर्ण चाड तिज हाम्रो संघारनेरै आईपुगेको छ । पछिल्लो समय तिज पर्ब संगै भित्रिएका तडक भडक र बिकृतिहरुको बारेमा यो आलेख लाई केन्द्रित गर्न खोजिएको छ ।
कुनै पनि चिज आफैमा राम्रो मात्र वा नराम्रो मात्र हुंदैन । हामीले त्यसलाई कसरी लिन्छौं भन्ने कुराले यस्लाई प्रभावित पार्दछ । तिज पर्ब पनि आफैमा राम्रो मात्र वा नराम्रो मात्र छैन । यसका केही राम्रा र नराम्रा पक्षहरु छन् । टाढा टाढाका चेली र आफन्तहरु घरमा जम्मा भएर खुशी साट्ने, मिठो मसिनो खाने र राम्रा लुगाहरु लगाएर रमाईलो मनाउने यसका राम्रा पक्षहरु हुन् भने पानी पनि नखाई निराहार ब्रत बस्ने,ब्रत बसीसके पछि बिबाहिताहरुले लोग्नेको गोडाको पानी (उनिहरु यो पानी लाई जल भन्दछन्¬) खानुपर्ने अरुको देखासिकी गर्दै रिण गरेरै भएपनि महंगा गहना र कपडा लगाउने यि सबै तिजका नराम्रा पक्षहरु हुन् ।
धार्मिक हिसाबले तिजलाई जसरी अथर्याउने गरिएको छ । यो झनै बिडम्बनापूर्ण छ । राम्रो पति पाउनको लागी अथवा पति को दिर्घायूको लागी पानी पनि नपिएर निराहार ब्रत बस्ने कुरा आजको बैज्ञानिक जमानामा अबैज्ञानिक र अब्याबहारिक बन्नु सिवाय केही होईन । कस्तो बिभेद भरिएको अन्धो धार्मिक संस्कार हो यो । के राम्रो पत्नि पुरुषले प्राप्त गर्नु पर्दैन ? के पत्निको दिर्घायूको लागी पतिहरुले ब्रत बस्नु पर्दैन ? महिलाहरुलाई धर्मकर्म र आफ्नै श्रृंगार पटारमा भुलाईरहनको लागी यी र यस्ताखाले धार्मिक बन्धनहरु बनाईएको थियो भनने कुरा के अझै पनि आजका शिक्षित र बौद्धिक महिला पुरुषहरुले बुझ्नु पर्दैन ?
खासगरी बिहे भएका दिदीबहीनीहरु आमाको घर अर्थात माईतिमा जम्मा हुने र बर्षभरीका पिर ब्यथाहरु गीतको माध्यमबाट एक अर्कासंग साटासाट गर्ने दिनको रुपमा तिज पर्ब मानिदै आएपनि हिजोआज तिज हुनेखाने घरका महिलाहरु र त्यस्तै खालका भड्किला गीत गाउने कलाकारहरुको मात्र बन्न पुगेको छ । हिन्दु महिलाहरुको भब्य र ऐतिहासिक पर्ब तिज पछिल्लो समय भड्किलो हुदैं गएको छ ।
नेपाली समाजमा आफ्नै खालको साँस्कृतिक महत्व र गरिमा बोकेको चाड तिजलाई हुनेखानेहरुले आफ्नो धन र रबाफको प्रदर्शन गर्ने माध्यम बनाएका छन् । महंगा महंगा कपडा र गरगहनाले झपक्कै ढाकिएर,चर्का गीत संगीत बजाएर शहरका महंगा होटलहरुमा दर खाने कुरा सामान्य जस्तो बन्न पुगेको छ । गीत संगीत पनि सन्देश मुलक हुनुको साटो केबल सस्तो मनोरञ्जनको लागी मात्रै गाईएको छ ।
हुने खाने घरका महिलाहरुको महंगा गहना र रंगीचंगी कपडाहरुको प्रतिष्प्रधात्मक रवाफ देखेर हुँदाखाने घरका महिलाहरु निहुरी मुन्टी न जस्तै भएका छन् । उस्तै परे तिनका श्रीमानहरुसंग मलाई पनि त्यस्तै चाहियो भनेर अस्वाभाबिक माग गरिरहेका छन् र तिनका श्रीमानहरु श्रीमतीका लागी त्यस्तै गर्दिन नसकेर मरिच जस्तै चाम्रिएका छन् ।
हाम्रो जस्तो गरीब देश जहाँका अधिकाँश जनताहरुलाई साँझ बिहान के खाँउ भन्ने अबस्था बाट गुज्रिरहनु परेको छ । बेरोजगारीले गर्दा दिनहुं जसो हज्जारौंको संख्यामा युवाहरु बिदेशीन बाध्य छन् । देशमा संक्रमणकाल लम्बिरहेको छ र राजनैतिक स्थिरता कायम हुन सकिरहेको छैन । हत्या हिंसा र बलात्कारको अन्त्य भएको छैन । बर्षौ लामो गृहयुद्धमा आफन्त गुमाएकाहरु र जीबन गुमाएकाहरु साथै आफ्नो शरीरका अंगभंग गुमाउनेहरुका परिवारजनहरुपनि हाम्रै समाजका हिस्सा हुन् । उनिहरुका पीडामा मल्हम लगाउनको लागी पनि यस्तो अबस्थामा हामी सम्पूर्ण नेपालीहरुले धैर्यता र बिबेकले काम लिन आबश्यक छ ।
यतिबेला हाम्रा पारम्परिक चाडपर्बहरुलाई पनि हामी सामाजिक सद्भाव फैलाउने र परिबर्तनको सन्देश दिने माध्यमको रुपमा प्रयोग गर्न सक्छौं । तिजका भाकाहरुले परिबर्तनको सन्देश दिन र आशाबादी बन्न सहयोग गर्ने गरी गीत गाउन सक्छौं । अधिकार प्राप्तीको लागी महिलाहरुलाई एकताबद्ध र जागरुक गराउने एउटा आयामको रुपमा यसलाई प्रयोग गर्न सक्छौं । नयाँ नेपाल निर्माण गर्ने महत्वपूर्ण अभिभारा हाम्रो काँधमा आएको छ । तपाई हाम्रा स साना गतिबिधिहरुले पनि नयाँ नेपाल र नयाँ समाज निर्माणमा महत्वपूर्ण भुमिका निर्बाह गर्न सक्छन् ।
त्यसैले तिज पर्बलाई भड्किलो र बिकृतिजन्य बन्न बाट रोक्नको लागी सबैजना गम्भिर र जिम्मेवार बन्नु आबश्यक छ । निकै पूरानो संस्कृति र ईतिहास बोकेको सामाजिक पर्ब तिजलाई मौलिक तरिकाले समाज परिबर्तनमा एउटा आयाम थप्ने हिसाबले खुशी र हर्षोल्लासका साथ मनाऔं । सबैलाई शुभकामना ।
टिप्पणियाँ
एक टिप्पणी भेजें