सपनाहरुको बस्ती
                                      आस्था केसी
सपनाहरु बिस्कुन जस्तै
छरपष्ट छरिएका छन् ।
बिपनाहरु भर्खरै प्रेम टुटेको प्रेमि जस्तै
उदास उदास छन् ।

कुरुप आँधी जस्तो यो समय
भुँवरी उडाएर हरपल हरपल
लखेटिरहन्छ मलाई
गन्तब्य बिर्सिएको यात्री जस्तै
बेसहारा बनेर बिरानो बस्तीमा कुदिरहेछु।।।



बिचारहरु कतै धुलाम्य भएका छन् ।
सहयात्रीहरु कतै छुटेका छन्
मालचरीको बथानबाट छुटेको चरा झैं
एक्लो एक्लो बत्तिदैछु अचेल ।

चट्यांग जस्तो यो समय
बेला कुबेला बिजुली चम्काउँछ ।
मनको भित्री तह नै हल्लाउने गरी
बादल निर्दयी गर्जना गर्छ ।।
बाटो हराएको अलपत्र बटुवा जस्तै
अनिर्णयको बन्दी बनेर दोबाटोमा उभिईरहेछु ।।।

दौडाहामा छु तर गन्तब्य बिर्सिएको छु ।
यात्रामा छु तर लक्ष्य हराएको छु ।
संगातीहरु कहाँनेर छुटे कुन्नी
बेफुर्सद छु पछाडी फर्किन ।
आफु संग आफै बेखबर बनेर
हिंडिरहेछु र पनि उहिं नेरै त छु ।।

अपराधी जस्तो यो समय
म संग लुकामारी खेलीरहन्छ ।
रंगीन मेरा कुमारी रहरहरु संग
बेपर्बाह कुस्ती खेलिरहन्छ ।
आफन्तबाटै बलात्कुत  किशोरी जस्तै
रुदाँरुदाँ थाकेर,अन्यमनस्क चुपचाप टोलाईरहेछु ।।।

दाहसंकारमा निस्किएको
मलामीको हुल जस्तै
मौन छ बर्तमान ।
र्निजन खण्डहर जस्तो यो समय
मौसम बेमौसम तसाईरहन्छ ।
तैपनि,
एउटा सपनाको अन्त्येष्टि गरेर
बसेर कोरामा,बारेर अलिनु ।
भिजाएर परेली,बगाएर हिजोका कसहरु ।
आउने बिहान जस्तै एउटा अर्को सपना कोरलिरहेछु ।।

बेसहारा भएर पनि
सहारा मेरो म आफै त हुँ ।
अलपत्र परेरै पनि
बाटो सिकाउने मलाई
म मात्रै त हुँ ।
बटुलेर एकएक गर्दै
सपनाका बिस्कुनबाट
बनाउनु छ मैले
सपनाको एउटा सुन्दर आकृति ।।

हुरी जस्तो क्रुर यो समय
उडाउन खोज्दैछ मेरो सपनाको आकृति
अनिश्चित आयु जस्तो योे समय
अञ्जुलीको पानी जस्तै थोपा थोपा गरेर
बगेर सकिनु अघि नै ।
मजबुत बनाएर आफैलाई
अड्याउनु छ सपनाको स्वरुप

टिपेर बिचारहरु
टकटक्याएर धुलोबाट
बारेर सपनाहरुको बस्ती
सुन्दर फुल फुलाउनु छ ।।।।













टिप्पणियाँ

एक टिप्पणी भेजें

इस ब्लॉग से लोकप्रिय पोस्ट

एउटा चित्रमय शुरुवात

शालिक ढाल्दैमा विचार ढल्दैन

फस्टाउदैं ब्याबसायिक गाई पालन