Thursday, February 16, 2017

प्रचण्ड कुनै भगवान होइनन्


अहिले नेपाली राजनीतिको केन्द्रमा रहेको माओवादी केन्द्र र त्यसको प्रमुख नेतृत्व खासगरी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड विरुद्ध पश्चिमा साम्राज्यवादी शक्तिहरु, त्यो शक्तिवाट भरणपोषण गरिएका एनजिओ र आइएनजिओकर्मी एवम् प्रमुख प्रतिपक्षी एमालेसहितका विरोधी शक्तिहरु अर्नगल प्रचारवाजीमा उत्रेका छन् । उनीहरुको प्रचार प्रचण्डको प्रचण्डको कद घटाएर आफू ठूलो हुन सकिन्छ भन्ने मनोदशामा आधारित देखिन्छ ।

प्रचण्डको पाइला पाइलामा विरोध गर्ने जागिर धानेकाहरुले उहाँका हरेक कुरामा विरोध गर्छन । दशैंमा टिका लगाएन भनेर विरोध गरें, टिका लगाएको भए त झन विरोध गर्ने थिए । प्रचण्डले दुई दशकभन्दा लामो समयदेखि दशै वा तिहारमा टिका नलगाएको कुरा दुनियालाई थाहा छ । तर विरोधीहरुले यसलाई आफ्नो विरोधको मसला बनाइरहन्छन् ।


भारतका प्रधानमन्त्री र चिनका राष्ट्रपतिसँग भारतको गोवामा भएको भेटको प्रसंगमा पनि विरोधै गरेका छन् । त्यो भेटघाट कतिधेरै महत्वपूर्ण थियो, त्यहाँ कति धेरै रणनीतिक महत्वको विषयमा छलफल भयो भन्ने कुरालाई ओझेलमा पार्न विरोधीले प्रचण्डको विरोध गरे पनि त्यो धेरै समय टिकेन ।

अहिले राष्ट्रपति विधा भण्डारीको निम्तोमा भारतीय राष्ट्रपति नेपाल आउँदा पनि एमालेसहितका विरोधीले प्रचण्डकै विरोध गरे । राष्ट्रपतिको आग्रह बमोजिम सरकारले विदा दिने निर्णय गर्दा विरोध गरियो प्रचण्डकै ।

जे मा पनि प्रचण्ड विरुद्धको अर्नगल प्रचार र एमालेको एउटा खेमासहितको तप्काको निरन्तर विरोधको शैलीलाई हेर्दा लाग्छ, आजकाल उनीहरुको खेतिपाति नै प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रको विरोध गर्नु हो ।  उनीहरुलार्इ प्रधानमन्त्री प्रचण्डका कुनै न कुनै कुराको विरोध नगरीकन खाएको पनि नपच्ने र रातमा निन्दा नलाग्ने भएको छ ।

यसरी माओवादी पार्टी र प्रमुख नेतृत्व विरुद्ध विरोधीहरु सुनियोजित प्रचारवाजीमा उत्रिएकै बेला पार्टी भित्रका केही नेता तथा स्वार्थ समूह भने विरोधीको स्वरमा स्वर मिलाएरै मैदानमा उत्रेको छ । लाग्छ, यो समूह पनि विरोधीकै योजनामा परिचालित छ ।

कमरेड प्रचण्ड र उनको पार्टी नेतृत्वले विगतदेखि नै देशको राजनीतिलाई संकटको भुमरीमा पर्नवाट जोगाउँदै आएको हो । प्रचण्डको कुशल नेतृत्वविना आजको परिवर्तन संभव नै थिएन । अहिले जे जति उपलब्धीमा हामी गर्व गर्छौ, ती सबै प्रचण्डकै देन हुन् ।

कतिपय विरोधीहरुले सामाजिक सञ्जालमार्फत  प्रधानमन्त्री प्रचण्डको विरोध गरेर खोइरो खनिरहेका छन् । यस्तो कार्यले उनीहरुका विरोध केवल विरोधकै लागि गरिएका हुन् भन्ने स्पष्ट हुन्छ

अहिले पनि प्रचण्डले देशलाई दुर्घटनामा पर्नवाट जोगाएका छन् । संविधान कार्यान्वयनको ट्याकतिर राजनीतिलाई सोझ्याएका छन् । विगतमा केपी ओली नेतृत्वको सरकारले भारतमा नेपाली राजदूत फिर्ता बोलाउने तथा नेपालका राष्ट्रपतिको भ्रमण रद्ध गराएर जुन द्धन्द सिर्जना गर्यो, त्यसले दुई देशको सम्वन्ध विग्रदै गएको थियो । शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन पहल गर्नुको साटो माओवादी नेतामाथि धमाधम मुद्धा लगाउन पुगेको कुरा दिनको घामजत्तिकै छर्लङ्ग भएको कुरा हो । यस्तो बेला प्रचण्डले फेरि सरकारको बागडोर सम्हालेका छन र मुलुकलाई सही दिशामा लाग्न प्रयत्नशील छन् ।


पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी वलीले ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमति उल्लघन गरेपछि नयाँ कोर्षमा जानु माओवादी पार्टी र कमरेड प्रचण्डको बाध्यता थियो । यस अवस्थामा नयाँ सरकार बनेपछि प्रधानमन्त्री प्रचण्डले भारत र चीनबीचको सम्वन्धलाई सन्तुलित बनाइ सकेका छन् । भारतको गोवामा चिनिया राष्ट्रपतिसँगको भेटपछि चीनसँगको सम्वन्ध नयाँ उचाइमा उठेको छ, दुवै देशको बुझाइमा एकरुपता आएको छ । चीनका राष्टपतिको नेपाल भ्रमण केही समय पछि सरे पनि उनले नेपाल भ्रमण गर्ने कुरा सुनिश्चित नै छ । यसरी त्रिदेशीय साझेदारी र समझदारीले नेपाल र नेपाली जनताको लागि फाइदा नै हुनेछ ।

कतिपय विरोधीहरुले सामाजिक सञ्जालमार्फत यो कुरामा पनि प्रधानमन्त्री प्रचण्डको विरोध गरेर खोइरो खनिरहेका छन् । यस्तो कार्यले उनीहरुका विरोध केवल विरोधकै लागि गरिएका हुन् भन्ने स्पष्ट हुन्छ ।



संविधान कार्यान्वयन सुरु भइसकेको छ । संविधान संशोधन गरेर देशभित्र आन्तरिक राष्ट्रियता कायम राख्ने र नेपाल र नेपाली जनताको विकास र प्रगतिको लागि प्रधानमन्त्री प्रचण्ड दिनरात नभनेर कहिले कुन पार्टीसँग त कहिले कुन नेतासँग छलफलमा लागिरहेको देखिएकै छ  । विहान ६ वजेदेखि साझ १० वजेसम्म देश र जनताको हितका पक्षमा प्रधानमन्त्री दिन रात खटेर काम गरिरहेका छन् । प्रधानमन्त्रीको संसदमा सम्वोधन, सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन, क्याविनेट निर्णय, अनुगमन तथा भ्रमण सबैमा देश र जनताको सरोकारका विषय नै केन्द्रमा राखिएका छन् । यता  हाम्रो सामाजिक सञ्जाललाई भने विरोधीहरुले प्रधानमन्त्रीको उछित्तो काढ्न मै प्रयोग गरिरहेको दखिन्छ । पार्टीका कतिपय नेता प्रचण्डको तेजोबध हुँदा रमाइरहेका छन्, ताली पिटीरहेका छन् ।

केही गरौं भन्ने नयाँ जोश र जाँगरले भरिएको कोही नेता हामीकहाँ छन् भने ती कमरेड प्रचण्ड नै हुन् । उनीसँग जनयुद्ध देखि अहिलेसम्म आँउदा अनुभवका अथाह भण्डार छन् । नेपाललार्इ सिंगापुर जस्तै सुन्दर वनाउने सुन्दर सपना देख्ने कमरेड प्रचण्डलार्इ हामी साथ दिन सक्दैनौं भने नेपाल कहिल्यै राम्रो बन्दैन र जनतालाई दुख पाइरहने छन्। देशलार्इ समृद्ध वनाउने उनका सपना र कामलार्इ एउटा इट्टा थपेर सहयोग गर्न सक्दैनौ तर बाँदरले आफ्नो घर पनि वनाउँदैन र अरुलार्इ पनि वनाउन दिँदैन भनेजस्तै गरेर उनको आलोचना मात्र गरिरहन्छौं भने हाम्रो पनि कुनै भविष्य छैन । यो पार्टी, यो नेतृत्व र आन्दोलनमै हाम्रो भविष्य गासिएको कुरा हामीले भुल्नु हुँदैन ।

अहिले देश निकै संगीनमय अवस्थावाट गुज्रिरहेको छ । संघीयता कार्यान्वयन भर्खर तोते वोल्ने शिशुले वामे सर्न लागेको जस्तै अवस्थामा छ । यस्तो वेलामा विखण्डनवादी र  अवसरवादीहरु कोही देश टु्क्राउने अभिव्यक्ति दिन पनि पछि परेका छैनन् । देशलार्इ एउटै मालामा गाँसिरहनको लागि, आन्तरिक एकतालार्इ कायम राखिरहनको लागि हामीलार्इ एउटा त्यस्तो नेताको खाँचो छ जो चुनौतिको पहाड नाघेर काम गर्नसक्ने हिम्मत राखोस । यस्तो खालको क्षमता भएका नेता अहिले प्रचण्डवाहेक हामीसँग छैनन् । हामीले प्रचण्डलार्इ साथ र सहयोग गर्नु हामी सवैको जिम्मेवारी र दायित्व हो ।



भुकम्प पीडितलाई राहत दिने काममा प्रचण्ड सरकारको गति र सक्रियता सबैले मान्नैपर्ने र सराहना गर्नुपर्ने विषय हो । त्यसैगरी  विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने कुरामा सरकारको चासो र कर्णालीका जनताको लागि सरकारले अगाडि सारेका कार्यक्रमहरु गरिवका लागि सरकार अन्तर्गतका कार्यक्रमहरु हुन् ।

वेरोजगार युवाहरुका लागि पनि विशेष कार्यक्रम घोषणा हुँदैछ भन्ने सुन्नमा आएको छ । अहिले राजनीतिक पहलकदमी, विकास निर्माण, कुटनीतिक सम्वन्ध, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न भइरहेका पहल लगायतका सबै काम पार्टी, आन्दोलन र आफ्नो वर्गकै पक्षमा छन् । यहाँ यहाँ प्रचण्डले गलत गरे भनेर खोट लगाउने कुनै काम भएको छैन ।

केही कमजोरीहरु कमरेड प्रचण्डले पनि गरेका होलान । उनी कुनै भगवान त होइनन् गल्ती नै नगर्ने। उनीसँग सारा समस्याहरु एकै बचनमा हल गर्नसक्ने कुनै जादुको छडी पनि त छैन

यो पार्टी र आन्दोलनको योद्धा हुनुका नाताले संकटको वेला नेतृत्वलाई साथ दिनु सबै क्रान्तिकारीहरुको दायित्व हो । हिजो आफ्नो क्याप्टेनले जहाजलार्इ कैयौं अप्ठ्यारा भंगालोहरुबाट कुशलतापूर्वक निकालेर पार लगाएको विर्सनु हुँदैन । युद्धका कठिन बिभिशिकाहरुवाट आफू पनि बच्दै र पार्टीलार्इ पनि बचाउँदै आज हाम्रो सुप्रिम कमाण्डर सिंगो देशको नेतृत्व गर्ने गरिमामय ओहोदामा पुगेको कुरामा हामी सबैले गर्व गर्न सक्नुपर्दछ ।

हो, केही कमजोरीहरु कमरेड प्रचण्डले पनि गरेका होलान । उनी कुनै भगवान त होइनन् गल्ती नै नगर्ने। उनीसँग सारा समस्याहरु एकै बचनमा हल गर्नसक्ने कुनै जादुको छडी पनि त छैन । अनेकखाले गुणदोषले भरिएका उनी पनि हामी जस्तै सामान्य मानिस हुन् । उनका केही कमजोरीहरुलार्इ सकारात्मक तरिकाले आलोचना गरौं । ती आलोचनाले उनका कमजोरीहरु सच्चिउन । उनलार्इ जनताको पक्षमा निर्णय लिन सजिलो होस् । तर हामी त उनलार्इ सिध्याउने हेतुले उनको आलोचनामा उत्रिएका छौं भन्ने कुरा हाम्रा टिकाटिप्पणीहरुमा देखा परेको छ ।

अरु प्राविधिक तथा खुद्रा मसिना कुरामा पछि बहस गर्दै गरौला तर अहिले विरोधीको प्रहार विरुद्ध एकतावद्ध प्रतिरोधमा उत्रनु अहिलेको आवश्यकता र समयको माग हो । विरोधीहरुले  प्रधानमन्त्री प्रचण्डको विरोध गर्नु उनीहरुको धर्म हो । उनीहरुले जे गर्न जानेका छन् त्यहीँ गर्छन् । हामीले पनि कागले कान लग्यो भन्दैमा कान छाम्न छोडेर कागको पछाडि दौडिनु राम्रो कुरा पक्कै होइन । आफ्नो कान छाम्नुको सट्टा कागको पछि दौंडिदा अनावश्यक दुःख मात्र पाइन्छ ।

त्यसैले कुनै पनि कुरालार्इ बैज्ञानिक र बस्तुवादी ढंगले समिक्षा गरौं र आत्मसाथ गरौं । प्रधानमन्त्री प्रचण्डले गरेका सबै काम देश र जनताको हितमा छन् यो कुरालार्इ व्यापक रुपमा जनताको माझमा लैजानुपर्छ । पार्टीभित्रका नेता कार्यकर्ताले त चित्त नवुझेका कुराहरु आफ्नो सम्वन्धित कमिटीमा छलफल गर्नुपर्छ तर विरोधीको पछि लागेर आफ्नो समय व्यतित गर्नु भनेको अरुको योजनामा परिचालित हुनु हो । यसमा सजग र सतर्क बन्नै पर्छ ।
http://www.onlinekhabar.com/2016/11/499476/
२०७३ कार्तिक २५ गते १५:०१ मा प्रकाशित (२०७३ कार्तिक २६ गते १४:२१मा अद्यावधिक गरिएको)

No comments:

Post a Comment

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...