Sunday, June 2, 2013

स्मृतिमा निर्मला दिदी

                आस्था केसी

‘नानु सञ्चै छौ ?’
     मंसिरको चिसो सिरेटोसँगै कसैले मेरो हात समात्यो । को होला ? मनमनै सम्झिन खोजें र आवाज ठम्याउन खोजें । रात उकालिदै थियो, हामी भने ओरालो झर्दै थियौं ।
        हामी कहाँ हिड्दैछौं, कता जाँदैछौं ? हाम्रो यात्रा कति घण्टाको हो मलाई थाहा थिएन । करिब १०÷१५ जनाको समूहमा हामी थियौं । जताततै पुलिसको ज्यादति बढेको थियो, त्यसैले सुरक्षित स्थानतर्फ थियौं सायद । रात चकमन्न  थियो, तल कतै खोला सुसाइरहेको थियो । खोला किनारमा झ्याँउकीरीहरु कराइरहेका थिए । कति–कतिबेला गाउँमा जोडले कुकुर भुकेको आवाज आउँथ्यो । समय त्यस्तै रातको १० बजेको थियो होला ।
    
     ‘म निर्मला चिनिनौ ?’ ? मैले चिन्न खोज्दै थिए उतैबाट जवाफ आयो ।
       दिदी ऽऽऽ! एक्कासी खुसीले म झण्डै चिच्याएँ । ‘सुस्तरी बोल ।’ उनले भनिन् ।
         निर्मला दिदी एकपटक हाम्रो घरमा आएकी थिइन् । करिब २÷३ दिन गाउँमा यताउता कार्यक्रमहरु गरेर गएकी उनी फर्केर आएकी थिइनन् । उनी सधैं सबैसंग मुस्कुराइरहन्थिन् र सबैसँग आत्मीय बन्दै हालखबर सोधीखोजी गर्थिन् । ५ फिट ३ इन्च उचाईकी उनि गहुँगोरो बर्णकी थिईन् । उनको अनुहार हर्दम उज्यालो हुन्थ्यो । उनलाई देख्दा यस्तो लाग्थ्यो मानौ भर्खरै बादलबाट जुन निस्किएको हो ।
   
        त्यसबेला सरस्वती मावि वलिवाङ गुल्मीमा मैले कक्षा १० मा पढ्थें । मेरा आफ्नै दाजु बसन्त केसीसँग आएकी थिए– अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा भाग लिन । हाम्रो स्कूलबाट र नजिकका अरु स्कूलबाट कोही आउन मानेनन् । म चाहीँ दाजुसँग लुरुलुरु हिँड्दै आए । साँझको खाना घरबाटै खाएर आएका थियौं । आँपचौर भन्ने ठाउँमा आएर रात बितायौं। राती सुत्नेबेला घरबेटीले मलाई गुन्द्रीको सिरानी हाली दिदां अचम्म लाएको थियो । गुन्द्री सिरानी हालेर कसरी निदाउनु,जसोतसो रात बिताएँ ।
    
   भोलिपल्ट दिनभरि हिँडेर गोधूली साँझमा धुर्कोटको रजस्थल पुगेका थियौं । हावा जोड–जोडले चलिरहेको थियो । सूर्य भर्खरै अस्ताएकोले पश्चिमी क्षितिज सुनौलो भएको थियो । अनि हामी हिँड्ने रजस्थलको डाँडा पनि निकै सुन्दर लागिरहेको थियो । नौलो ठाउँ, नयाँ अनुहार, नौला अनुभूतिहरु संगाल्दै म दाईको पछि पछि हिडिंरहेकी  थिएँ ।
      
  ‘ओहो ! कमरेड कतिबेला आइपुग्नुभयो ?’ एकजना तालु खुइलिएको मान्छेले दाजुसँग हात मिलाउनुभयो, मैले चाहिँ नमस्कार गरे । ती तालु खुइलिएका मान्छे कमरेड सुदीप हुनुहुँदोरहेछ ।  केही खासखुस कुरा गरेपछि दाजुले मलाई एउटा धर्मशाला जस्तो घरमा पठाउनुभयो त्यहाँ दुईवटी म भन्दा केही मात्र ठूलो उमेर भएका दिदीहरु थिए कल्पना र बिपना । ३ जना चाँही केटा साथीहरु थिए । सबैले मसँग हात मिलाउन खोजे । मलाई सबैसँग हात मिलाउने अभ्यास थिएन, केटी साथीसँग हात मिलाएँ र केटाहरुलाई नमस्ते गरेँ । त्यसको भोलिपल्ट सम्मेलन हुँदै रहेछ । त्यहीँ गाउँमा बाँडीएर खानपिन गरेपछि हामी अगाडि बढ्यौं ।
       
  अलिकति ओरालो र अलिकति उकालो हिडेर फेरि ओरालो झर्दै थियौं । नौलो अनुभूतिसहित घर परिवार सम्झिदै म पनि ओरालो झर्दै थिएँ । प्रायः सबै जना नबोलिकन हिडिरहेका थिए । बोले पनि सासै सासले मात्र बोल्थे । यताउताबाट कता–कताबाट साथीहरु थपिदै थिए, हाम्रो टोली अब २०÷२५ जनाको भएको थियो ।

चिसो सिरेटो चलिरहेको थियो,जाडो भर्खर भर्खर शुरु हुदैं थियो । चिनेका केटीहरु अलि अगाडी थिए सायद । केटा साथीहरु संग नबोलिकन खुरुखुरु हिडिरहेका थिए । बोल्नु नि के थियो र सासैसासले खासखुस गर्नु त थियो ।
      
   उत्ति नै बेला मेरो हात समात्न निर्मला दिदी कतैबाट टुप्लुक्क आएकी थिईन् । उनि कहाँनेर हामीसंग मिसिन आईपुगेकी थिइन मैले पत्तै पाउन सकिन ।

अब चाहिँ निर्मला दिदीको न्यानो हात समातेर उहाँसँग हल्का कुरा गर्दै हिडिरहेकी थिएँ म । मलाई रमाइलो लागिरहेको थियो । तल खोलामा झिलमिल जूनकिरीहरु देखिए । कति–कतिबेला स्याल पनि कराउँथे । हामी खोला तर्दै थियौँ । खोला तरेपछि उकालो बाटो शुरु भयो । उकालै उकालो हिडेर रातको सवा ११ बजेतिर पिपलधारा गाविसको एउटा गाउँमा पुग्यौं । जो हाम्रो गन्तव्यस्थल रहेछ ।
भोलिपल्ट बिहानैदेखि कार्यक्रमको चलहपहल शुरु भयो । सम्मेलनको शुरुवात हिजै भइसकेको थियो । उद्घाटन समारोह हाडहाडेको निन्युखर्क भन्ने ठाउँमा एउटा स्कूलमा भएको थियो । पिपलधाराको एउटा गाउँमा बन्द सत्र हँुदै थियो । बन्द सत्रको कार्यक्रम हल एउटा गाईगोठ थियो । भुइँमा परालमाथि गुन्द्री र कम्बल ओछ्याइएको थियो, भित्ता–भित्तामा राता नीला व्यानरहरु थिए । बन्द सत्रमा मेरो विद्यालयको तर्फबाट मैले पनि रिपोर्टिङ गरेँ, म इकाई अध्यक्ष थिए । पिपलधाराकै एउटा गाउँमा घोषणा सभा पनि भयो । नयाँ कमिटी गठन भएको थियो । सम्मेलन अवधिभरि म निर्मला दिदीसँगै छायाजस्तै हिडिरहेँ– ट्वाइलेट जाँदा होस् या खाना खान जाँदा हामी साथै रह्यौं । हामीलाई दुई बहिनी हो कि भनेर अरुले सोध्थे । सायद हाम्रो अनुहार मिल्थ्यो ।
         सम्मेलन सकियो र हामी पनि छुट्टियौं । घर फर्केपछि पनि निर्मला दिदीको सम्झना आइरह्यो । कस्तो आत्मनिर्भर मान्छे ! कति धेरै कुरा जानेको ! जम्मा २ कक्षा पढेर पनि कति धेरै मान्छेसँग छलफल गर्न सक्ने र आफ्नो तर्क मज्जाले राख्न सक्ने ! कति छिटो मान्छेको मन जित्न सक्ने ! म पनि त्यस्तै हुन पाए ...... इत्यादि सोचले केही महिना लगत्तै म पनि पूर्णकालीन भएँ ।
          निर्मला दिदीसँग भेट भइरहन्थ्यो– उनी महिला संघको सचिव र म कोषाध्यक्ष थियौं । पछि दिदी सैन्य फर्मेशनमा गइन् । टाटेपाटे ड्रेस लगाएकी उनी सैन्य बर्दीमा झन् राम्री देखिन्थिन् । काम गर्नमा सधैं तत्पर भइरहने उनी निकै जुझारु पनि थिइन् । सैन्य फाँटमा पनि छिट्टै स्क्वाइड सह–कमाण्डर भइसकेकी थिइन् । एकपटक उनी पुगेको गाउँमा उनलाई नचिन्ने कमै हुन्थे, बढी त महिला र युवायुवती प्रभावित हुन्थे ।
कुरा २०५९ जेठको अन्त्यतिरको हो । जनमुक्ति सेनाको दुइवटा कम्पनी गुल्मीमा केन्द्रीत भएको थियो । सायद कुनै लडाईको तयारी थियो । हामीलाई यस्ता कुरा थाहा हुन्थेन । सोध्न सकिदैनथ्यो तर चासो लागिरहन्थ्यो । केही ठूलै घटना हँुदैछ भन्ने लाग्थ्यो । गुल्मीको पूर्वबाट पश्चिममा एउटा कम्पनी जाँदै थियो र म रुटगाइड बनेर जाँदै थिएँ । यात्रा प्रायः रातीको हुन्थ्यो । इन्द्रेगौँडा भन्ने स्थानमा नाका पर्दथ्यो । नाका क्रस गर्ने बेला बडिगाडको तिरैतिर दौडिनु पर्दथ्यो ।
                 
     झिमझिम पानी परिरहेथ्यो । बडिगाडको तिरमा खेतहरु थिए र त्यसमा भर्खरै धान रोपिएका थिए ।त्यसमाथी असारको महिना थियो पनी सिमसिम परिरहेथ्यो । हिलैहिलोमा अँध्यारोमा हस्याङफस्याङ गर्दै दौड्नुपर्ने, दौड्दादौड्दै म २÷३ कान्ला तल खसें । अगाडिको साथीले थाहै पाएन्न । पछाडिको साथीले उठाउनुभयो । म बेहोस भएछु । उहाँले आफ्नो काखमा उठाएपछि मेरो मुखमा पानी परेछ अनि मात्र होसमा आएँ र सुस्तरी उठेँ । मेरो बन्दुक र झोला त्यही साथीले लानुभयो जोसँग म धेरै परिचित थिएन । मेरो हात फ्याक्चर भएको थियो । म त्यहीबाट फिर्ता भएँ र औषधी गर्न पाल्पाको तानसेन गएँ । तानसेनबाट ३÷४ दिनमै फर्किएर रिडी गाविसको एउटा गाउँमा रेष्टमा बसिरहेकी थिएँ । सायद असारको पहिलो हप्ता थियो । आकाश गजधुम्म परेर बसेको थियो । सेताम्य कुहिरो लाग्दा पाखाहरु सेतो बर्को ओढेझैं देखिन्थे । सदाझैं बिहानको सात बज्यो । रेडियो नेपालले समाचार भन्दै थियो– गुल्मीको घमिरमा दुइजना आतङ्ककारीको मृत्यु.. निर्मला भनिने बिना नेपाली र प्रद्युम्न.... । रेडियोले के–के फतफताइरह्यो ।
सुन्ने धैर्यता भएन निर्मला दिदीको सहादतको खबरले मन त्यसै–त्यसै व्याकुल बन्यो । चिटचिट पसिना आयो, केही बोल्न सकिन हो कि होइन ? के निर्मला दिदी मारिएकै हो त.... ? मनमा विश्वास नै लागेन । कसलाई सोधुँ .. आँखाभरि झल्झली दिदीलाई सम्झिएँ । बरबरी आँसु झरे, दिदी तपाईको सपना हामी पूरा गर्नेछौं मनमनै कसम खाएँ, मुठ्ठी आफै कसिएछन् । ।

          फाट्टफुट्ट कविता लेखी टोपल्थें म , सबैले राम्रो छ भन्थे, निर्मला दिदीले विशेष हौसला दिन्थिन् । म घाइते हुने बेला पनि कविताको डायरी बोकेकी थिएँ २÷४ नयाँ कविता थिए । निर्मला दिदीलाई देखाउने भनेर व्यग्र थिएँ । घटना घट्दाको दिन झोला, डायरी सबै कसले लग्यो थाहा भएन । बिडम्बना, अहिले मसँग ती कविताको डायरी पनि छैन र खुशी भई कबिता हेरीदिने आदरणीय निर्मला दिदी पनि छैनन् ।
०५९ को भाद्रमा कार्यक्षेत्र लिएर पश्चिम पठाइयो । त्यहाँको एसीएम भएकी थिएँ । घमिर, सिर्सेनी, पुर्कोट दह बाँझकटेरी, म्यालपोखरी, अग्लुङ आदि गाविसको एउटा एरिया थियो । म दौड्दै घमिरको भानुपोखरामा पुगें । श्वास निकै बढेको थियो, मुटु ढुकढुक भएको थियो । भावुक भएकी थिएँ । निर्मला दिदीको हत्या भएको ठाउँमा जाँदै थिएँ । जहाँ दिदीको रगतका टाटाहरु मेटिएका थिएनन् । स्थानीय मानिसहरुले सुनाए त्यो दर्दनाक कहानी...
          अघिल्लो दिन छापहिले भन्ने ठाउँमा सामान्य भिडन्त भएको थियो । तत्कालीन शाही सेनासँग । शाही सेना आतङ्क फैलाउँदै गाउँ–गाउँ गस्तीमा गएको थियो । दिदीहरुको टिम त्यही नजिकै एउटा गाउँमा सेल्टर लिएको थियो । स्थानीय भएको नाताले (दिदीको घर पुर्कोट दह थियो) निर्मला दिदी र एकजना तनहँु घर भएका जनमुक्ति सेना साथी प्रद्युम्न दुश्मनको हालखबर बुझ्न गएका थिए । दुश्मनसँग जम्काभेट भयो । गिरफ्तार गरेर भानुपोखराको माविमा लगेर दुश्मनले गर्नु नगर्नु ग¥यो । प्रद्युम्नलाई मुखमा रुमाल कोचेर बाँधेर राखियो र दिदीलाई बलात्कार गरियो । आफ्नै सहयोद्धा कमरेडको अगाडि निर्वस्त्र पारेर जबर्जस्ती सामूहिक बलात्कार गरे– यौनपिपासु दानवहरुले । निर्मला दिदी चिच्याइरहिन् । ‘सक्छौ भने छातीमा गोली हान कायरहरु, तिम्रा पनि दिदीबहिनी होलान्, आमा होलिन् यस्तो नगर ।’ उन्मादी स्वाँंठहरुले किन मान्थे, ती त अर्कै दुनियाँबाट आएका नरभक्षी थिए, तिनले जे गर्न पनि छुट पाएका थिए । मान्छे मार्ने लाइसेन्स पाएका थिए । तिनको अगाडि को बोल्ने साहस गरोस् । ‘तेरा कमाण्डरहरु कहाँ छन् ? के–के योजना छ ? तेरा नेता को–को हुन् ? हामीलाई भनिस् भने छाडिदिउँला, भन् ।’ तिनीहरु मध्येको कमाण्डर जस्तोले सोधेको थियो । तर, दिदीले आफूलाई थाहा नभएको र बरु मर्छु गोपनीयता खोल्दिन भनेपछि दर्जनौंले बलात्कार गरिरहँदा पनि दिदीले तिनका विरुद्ध नारा लगाइरहिन् । तिनलाई घृणाले थुकिरहिन् । लतार्दै बाहिर चौरमा ल्याएर ढ्याङ ढ्याङ ३÷४ गोली हानेर दिदीलाई बाँसको भ्mयाङमा लगेर फालियो, प्रद्युम्नको पनि त्यस्तै अवस्था भयो ।

अहिले म दिदीको शव दाहसंस्कार गरेको ठाउँमा छु– दुईवटा राता झण्डाहरु फर्फर हावामा फहराइरहेछन् । झण्डा उचालेर दिदी आफै उभिएझैं भलाकुसारी गरेझैं, कतैबाट नानु सञ्चै छौ भनेझैं, हाँसेझैं, मलाई सम्झाएझैं भान भएको छ । ‘क्रान्ति गर्ने कुरा आफैबाट शुरु गर्नुपर्छ’ कुनै दिन उनले भनेको याद आइरहेछ । पार्टीभित्रका सबै मान्छे देवता होइनन् उनीहरुले गल्ती गर्न सक्छन् तर हामीले गल्तीबाट पाठ सिक्दै अरुका राम्रा कुरा मात्र अनुसरण गर्नुपर्छ । शरीरमा एकथोपा रगत रहुञ्जेल क्रान्ति, मुक्ति र परिवर्तनका लागि लडिरहनुपर्छ ।
समय धेरै बितिसकेछ, दिदीको सहादत भएपछिका कयौं यामहरु बितिसके । निर्मला दिदीलगायत हजारौं सहिदको बलिदान खेर जाने त होइन ? हाम्रो आस्थाको मानसरोवर बिस्तारै धुमिलिदै गईरहेछ ।

        
खबरदार ! कसैले सहिदको सपना लिलाम गर्न पाउने छैन । दिदी तिम्रा सपना साकार पार्न बाँचुञ्जेल लागिरहने छौं । श्रद्धासुमन दिदी निर्मला तिमी अमर छौ, भइरहनेछौ ।

No comments:

Post a Comment

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...